यूएईमाथि अर्जेन्टिनाको फराकिलो जित, ओमानलाई हराउन जर्मनीलाई हम्मेहम्मे

हिमाल प्रेस १ मंसिर २०७९ ११:४१ | Thursday, November 17, 2022
यूएईमाथि अर्जेन्टिनाको फराकिलो जित, ओमानलाई हराउन जर्मनीलाई हम्मेहम्मे

काठमाडौँ- विश्वकप सुरु हुनुअघि खेलिएका मैत्रीपूर्ण खेलहरूमा अर्जेन्टिना, क्रोएसिया, जर्मनी र पोल्यान्ड विजयी भएका छन्। बुधबार राति आबुधाबीमा अर्जेन्टिनाले घरेलु टिम संयुक्त अरब इमिरेट्स (यूएई) माथि ५–० को सजिलो जित दर्ता गर्‍यो।

अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले एक गोल गरे। उनीअघि एंगल डि मारियाले दुई तथा जुलियान अल्भारेजले एक गोल गरेका थिए। खेलको उत्तराद्र्धमा जोआकिन कोरेआले एक गोल थपे।

यूएईमाथिको जित अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा हासिल गरेको लगातार ३६ औँ जित हो। विश्वकप समूह चरणमा साउदी अरबलाई हराए अर्जेन्टिनाले इटालीले राखेको सबैभन्दा लामो अपराजित यात्राको कीर्तिमान बराबरी गर्नेछ। मेस्सीले भने अर्जेन्टिनाको जर्सीमा ९१ औँ गोल गरेका हुन्।

अर्जेन्टिना अब आबुधाबीबाट दोहा जानेछ। जहाँ उसले नोभेम्बर २२ मा आफ्नो पहिलो खेलमा साउदीको सामना गर्ने तालिका छ।

विश्वकप २०१८ का उपविजेता क्रोएसियाले बुधबार राति नै भएको खेलमा साउदी अरबमाथि संघषपूर्ण १–० को जित निकाल्यो। क्रोएसियालाई जित दिलाउन आन्दे्रज क्रामारिचले ८२ औँ मिनेटमा गोल गरे। क्रोएसिया र साउदी दुवैले कतार विश्वकप खेल्दैछन्। क्रोएसिया समूह ‘एफ’ मा छ भने साउदी अर्जेन्टिना र मेक्सिकोसँगै समूह सी मा परेको छ।

विश्वकपमा भाग लिन कतार पुग्नुअघि युरोपका ठूला टिमले खाडीका अन्य देशका भ्रमण गरेका हुन्। यहीबीच जर्मनी ओमान हुँदै दोहा पुग्दैछ। ओमानमा विश्वकप २०१४ को विजेता जर्मनीले मैत्रीपूर्ण खेल खेल्यो। मस्कटको सुल्तान काबोस स्पोर्ट कम्प्लेक्समा भएको खेलमा जर्मनीले ओमानविरुद्ध गोल गर्न ८० मिनेट पर्खनु पर्‍यो।

विश्वकपको एसियाली छनोटमा निर्णायक चरणसम्म पुगेको ओमानलाई हराउन जर्मनीका निकल फल्कबर्गले निर्णायक गोल गर्न सफल भए। कतारमा जर्मनीको अग्रपंक्ति सम्हाल्ने अपेक्षा गरिएका फल्कबर्गगलाई काई हाभर्ट्सले असिस्ट गरे। करिब ७१ प्रतिशत बल पोसेसन राखे पनि जर्मनीलाई ओमानी रक्षापंक्ति तोड्न हम्मेहम्मे परेको थियो।

यसपालिको विश्वकपमा छनोट नभएको चिलीलाई पोल्यान्डले १–० ले हरायो। कप्तान तथा मुख्य स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई आराम दिइएको खेलमा पोल्यान्डका लागि क्रिस्टोफ पियाटेकले ८५ औँ मिनेटमा गोल गरेका थिए।

प्रकाशित: १ मंसिर २०७९ ११:४१ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast