मोरोक्कोसँग हार्‍याे बेल्जियम

हिमाल प्रेस ११ मंसिर २०७९ २१:०६ | Sunday, November 27, 2022
मोरोक्कोसँग हार्‍याे बेल्जियम

काठमाडौँ- लगातार दोस्रो खेल जित्दै विश्वकपको नकआउट चरणमा पुग्ने बेल्जियमको लक्ष्यलाई मोरोक्कोले विफल तुल्याइदिएको छ। दोहाको अल थुमाना रंगशालामा आइतबार राति अब्देलहामिद साबिरी र जाकारिया अबुखलालले एक–एक गोल गरेपछि मोरोक्कोले बेल्जियममाथि २–० को जित दर्ता गरेको हो।

मोरोक्को सन् १९९८ यता पहिलो पटक विश्वकपमा जित निकाल्न सफल भएको हो। मोरोक्कोले फ्रान्समा भएको त्याे विश्वकपमा स्कटल्यान्डलाई पराजित गरेको थियो।

जितपछि मोरोक्कोको नकआउट चरण पुग्ने सम्भावना बलियो बनेको छ। छैटौँ पटक विश्वकप खेलिरहेको मोरोक्कोले सन् १९८६ मा प्रिक्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो।

पहिलो खेलमा क्रोएसियालाई बराबरीमा रोकेको मोरोक्कोको चार अंक भएको छ। र ऊ समूह ‘एफ’ को शीर्षस्थानमा उक्लिएको छ। यसअघि क्यानडामाथि १–० जित हासिल गरेको बेल्जियम तीन अंकसहित दोस्रो स्थानमा छ।

रुस विश्वकपमा तेस्रो बनेको बेल्जियमलाई यसपालि पनि उपाधि दाबेदार मानिएको थियो। तर बेल्जियमले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन।

यो समूहमा क्रोएसिया र क्यानडाको क्रमशः तेस्रो र चौथो स्थानमा छन्। यी दुई टिम आइतबार राति नै आमनेसामने हुँदैछन्। एक अंक भएको क्रोएसिया क्यानडालाई पराजित गर्दै नकआउट नजिक पुग्न चाहन्छ। यो खेलपछि चारै टिमले एक एक खेल खेल्न बाँकी रहनेछ। अन्तिम खेलहरूमा क्यानडा र मोरोक्को तथा क्रोएसिया र बेल्जियम भिड्नेछन्।

प्रकाशित: ११ मंसिर २०७९ २१:०६ | Sunday, November 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast