मधेशमै कमजोर देखिए जसपा-लोसपा

हिमाल प्रेस ६ मंसिर २०७९ ११:४३ | Tuesday, November 22, 2022
मधेशमै कमजोर देखिए जसपा-लोसपा

जनकपुरधाम- मधेशलाई आधार केन्द्र बनाएर राजनीति गरिरहेका दलहरू यसपटक पछाडि परेका छन्। सीके राउत नेतृत्वको जनमत पार्टीसँगको टक्करका कारण उनीहरू पछि परेका हुन्। एकाएक जनमत पार्टी अग्रपंक्तिमा आउँदा यिनीहरूको मत घटेको कतिपयको अनुमान छ।

जनमत समानुपातिकतर्फ मधेश प्रदेशको सबैभन्दा ठूलो दल बन्ने संकेत छ। किनकि हालसम्म मधेश प्रदेशको समानुपातिकतर्फ जनमत नै अघि छ।

राउत आफैँले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पछाडि पार्दै जिततर्फ उन्मुख भइरहेका छन्।

राउतले ताजा मतपरिणामअनुसार १३ हजार २ सय ९५ मत ल्याएर अग्रस्थानमा छन्। जसपा अध्यक्ष यादव भने ६ हजार ५ सय ७० मत मात्रै ल्याउन सकेका हुन्। यी दुई बीच ६ हजार ७ सय २५ मतको मतान्तर छ।

त्यस्तै लोसपाका जयप्रकाश ठाकुर २ हजार ६ सय २ मत ल्याएर तेस्रो स्थानमा छन्। मधेश केन्द्रित दल लोसपाका अध्यक्ष महन्थ ठाकुर समेत महोत्तरी ३ को ताजा मतपरिणाम अनुसार पछाडि परेका छन्। उनलाई एमालेका बागी उम्मेदवार रामआधार कापरले पछाडि पारेका छन्।

महोत्तरी ३ मा कापर २ हजार २ सय ४ मत ल्याएर अग्रस्थानमा छन्। लोसपा अध्यक्ष ठाकुर भने १ हजार १ सय ९६ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। जसपाका हरिनारायण यादव १ हजार ९९ मत ल्याएर तेस्रो स्थानमा छन्।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो समेत सर्लाही २ को ताजा परिणाममा पछाडि परेका हुन्। उनलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले उछिनेका हुन्। महिन्द्र १ हजार १ सय १३ मत ल्याउँदा महतो भने ८ सय ४२ मत मात्रै ल्याउन सकेका छन्।

धनुषा ३ मा लोसपाका अनिलकुमार झा सुरुदेखि नै पछाडि परेका छन्। धनुषा ३ मा एमाले नेत्री जुलीकुमारी महतो ४ हजार २ सय ६६ मत ल्याएर अग्रस्थानमा छिन् भने लोसपाका झा ३ हजार २ सय २० मत ल्याएर उनलाई पछ्याइरहेका छन्। जनमत पार्टीका शम्भुनाथ झाले १ हजार ३ सय ८६ मत ल्याएर तेस्रो स्थानमा छन्।

सर्लाही ४ मा सुरुमा पछाडि परेका कांग्रेसका बागी उम्मेदवार अमरेशनारायण सिंह ताजा मतपरिणाम अनुसार अग्रस्थानमा छन्। उनी २ हजार २ सय ५९ मत ल्याएर अग्रस्थानमा छन्। कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार राय २ हजार २ सय ५४ मत ल्याएर पछ्याइरहेका छन् भने स्वतन्त्र उम्मेदवार मधुमाला यादव १ हजार ६ सय ३३ मतका साथ तेस्रो स्थानमा छिन्।

प्रकाशित: ६ मंसिर २०७९ ११:४३ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast