‘मतपत्र च्यातिएको’ चितवनमा यसपल्ट पनि विशेष सुरक्षा

हिमाल प्रेस ३ मंसिर २०७९ ६:२० | Saturday, November 19, 2022
‘मतपत्र च्यातिएको’ चितवनमा यसपल्ट पनि विशेष सुरक्षा

चितवन- चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटिभी क्यामेरा जडान गरिएको छ। जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ। जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ।

चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ  । त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ। यस्तै क्षेत्र नं २ को मतगणना चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा गरिने अधिकृत थापाले जानकारी दिए। सो ठाउँमा शुक्रबार सरसफाइ र तारजाली लगाउने काम भएको उनले बताए।

क्षेत्र नं २ को चार ठाउँमा मतगणना गर्ने गरी तयारी गरिएको छ। यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ।

यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ। अधिकृत थापाले विगतमा मतपत्र च्यातिएर दाग लागेको भन्दै त्यसलाई मेटाउनका लागि सबै राजनीतिक पार्टीहरूलाई आफूले अनुरोध गरेको बताए।

उनले जिल्लाभर मतदान र मतगणनास्थल निर्माणको काम लगभग सकिएको जानकारी दिए। उनले सबै ठाउँमा आवश्यकतानुसार कर्मचारी खटाइएको बताए।

प्रकाशित: ३ मंसिर २०७९ ६:२० | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast