बेइजिङमा चुलिएको नेपाली शान

अजय अलौकिक ३ मंसिर २०७९ ६:३० | Saturday, November 19, 2022
बेइजिङमा चुलिएको नेपाली शान

बेइजिङ- चीनको राजधानी सहर बेइजिङमा झण्डै ७५० वर्षदेखि ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक  महत्त्व बोकेर एउटा विशालकाय श्वेतचैत्य ठडिएको छ। विश्वकै एक विशाल महानगर बेइजिङमा उभिइरहेको यो श्वेतचैत्यले नेपालीको शान पनि उँचो गरेको छ। यो श्वेतचैत्य १३औँ शताब्दीमा संस्कृति र कलाको धनी देश महान् चीनमा नेपाली कलाकार अरनिकोले बनाएको अमर कीर्ति हो।

यो श्वेतचैत्य अरनिकोले महान् चीनमा निर्माण गरेका ३ वटा ठूला प्यागोडामध्येको एक हो। बेइजिङको सिछङ जिल्लाको फुछङमनमा अवस्थित यो नेपाली कला शैलीको गगनचुम्बी श्वेतचैत्य नेपाल र चीनको सांस्कृतिक आदानप्रदानको ऐतिहासिक साक्षी पनि हो। साथै यो चैत्य चीनको युआनवंशको ज्युँदो इतिहासको रूपमा पनि छ।

यो श्वेतचैत्य अरनिकोले सन् १२७१ मा निर्माण थाली सन् १२७९ मा पूरा गरेका थिए। यो चैत्यको उचाइ ५०।९ मिटर छ भने यसको आधारस्थलको क्षेत्रफल १४२२ वर्गमिटर छ। राष्ट्रिय विभूति अरनिकोले सन् १२६० मा ८० जना कलाकारको नेतृत्व गर्दै तिब्बत हुँदै महान् चीन पुगेका थिए। उनले महान् चीनमा ३ वटा ठूला प्यागोडा र ९ वटा गुम्बाको निर्माणसँगै अनगिन्ती कृतिहरूको रचना गरेका थिए।

युआन राजवंशकालमा उनले आफ्नो जीवनको ४५ वर्ष नेपाली कला, संस्कृतिको प्रसारमा समर्पित गरेका थिए। उनको चीनमा सन् १३०६ मा मृत्यु भएको थियो। यो विशालकाय श्वेतचैत्य नेपाली वास्तुकला, नेपाली कलाकार र नेपालीको गौरव तथा चिनियाँ राष्ट्रको शान, राष्ट्रिय एकताको प्रतीक र नेपाल चीन बीचको मित्रताको प्रतीक बनेर उभिइरहेको छ।

प्रकाशित: ३ मंसिर २०७९ ६:३० | Saturday, November 19, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast