बलिया फ्रेन्च खेलाडीको दबाब थेग्‍न सकिएन : अस्ट्रेलियन प्रशिक्षक आर्नोल्ड

हिमाल प्रेस ७ मंसिर २०७९ १०:२० | Wednesday, November 23, 2022
बलिया फ्रेन्च खेलाडीको दबाब थेग्‍न सकिएन : अस्ट्रेलियन प्रशिक्षक आर्नोल्ड

काठमाडाैँ- अस्ट्रेलियाका प्रशिक्षक ग्राहाम आर्नोल्डले फ्रान्सको आक्रमण आफ्नो टिमले थेग्नै नसकेको प्रतिक्रिया दिएका छन्। विश्वकप समूह चरणको आफ्नो पहिलो खेलमा मंगलबार राति अस्ट्रेलियाले डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग ४–१ को हार व्यहोरेको थियो।

‘फ्रान्स त्यत्तिकै विश्वकप विजेता बनेको होइन। यो टिम धेरै नै स्तरीय छ। फ्रेन्च खेलाडी हाम्रा खेलाडीभन्दा निकै अग्ला, बलिया र तीव्र गतिमा खेल्न सक्ने छन्। हामीले दबाब थेग्नै सकेनौँ। हाम्रा खेलाडीले जति सक्थे, त्यति खेले,’ खेलपछि आर्नोल्डले भने।

फ्रान्सलाई विजयी बनाउन ओलिभर जिरुडले दुई गोल गरेका थिए। बाँकी दुई गोल भने एड्रिएन राबियोट र किलियान एमबाप्पेले गरे। खेलमा अग्रता भने अस्ट्रेलियाले लिएको थियो। पहिलो हाफको नवौँ मिनेटमा क्रेग गुडविनले म्याथ्यु लोकीको असिस्टमा गोलको खाता खोलेका थिए। तर खेल अघि बढ्दै जाँदा उसले अग्रता जाेगाउन सकेन।

विश्वकप २०१८ को समूह चरणमा पनि यी दुई टिम आमनेसामने भएका थिए। त्यसबेला अस्ट्रलियाका एजिज बेहिकले ८१ औँ मिनेटमा आत्मघाती गोल गरेपछि मात्रै फ्रान्सको जित सुनिश्चित भएको थियो।

फ्रान्सले २–१ ले जितेको त्यो खेलमा एन्टोइन ग्रिजमनले पेनाल्टीमा गोल गरेका थिए। अस्ट्रेलियन कप्तान माइल जेडिनाकले पनि पेनाल्टीमै गोल गरेर आफ्नो टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

अल जानौब रंगशालामा आर्नोल्डले फ्रान्सका एम्बाप्पेलाई रोक्ने जिम्मा आफ्ना युवा फुलब्याक नाथानियल एट्किन्सनलाई दिएका थिए। स्कटिस क्लब हर्ट्सबाट खेल्ने यी २३ वर्षीय राइटब्याक एटकिन्सन मात्र होइन समग्र अस्ट्रेलियन रक्षपंक्तिलाई नै एम्बाप्पेले दिक्क बनाए।

‘विश्वकै उत्कृष्ट खेलाडीमध्येका एम्बमप्पेलाई रोक्न एटकिन्सनले खुबै प्रयास गरेका हुन्। उनको तारिफ गर्नैपर्छ। किनभने यो कठिन काम थियो। मलाई लाग्छ यो खेल उनका लागि एउटा पाठ बनेको छ। उनले आगामी खेलमा यो सिकाइ प्रयोग गर्नेछन्,’ आर्नोल्डले भने।

समूह ‘डी’ मा फ्रान्स र अस्ट्रेलियाबाहेक डेनमार्क र ट्युनिसिया पनि छन्। मंगलबार नै भएको खेलमा डेनमार्कलाई उत्तर अफ्रिकी टिम ट्युनिसियाले बराबरीमा रोकेको थियो। आगामी शनिबार अस्ट्रेलियाले ट्युनिसियाको सामना गर्दैछ। अन्तिम १६ को सपना जीवित राख्न यो खेल जित्नै पर्ने दबाबमा छ अस्ट्रेलिया।

‘फ्रान्ससँगको पराजयको मुख्य कारण आफैँले गरेका गल्ती हुन्। यिनलाई सुधार गर्नुछ। खेलाडीहरू सकारात्मक छन्। हामी अर्को खेल जित्न सक्षम छौँ। यसका लागि हामी तयार छौँ,’ आर्नोल्डले ट्युनिसियासँगको खेलबारे भने।

प्रकाशित: ७ मंसिर २०७९ १०:२० | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast