निर्वाचन प्रचार-प्रसारमा प्रमुख राजनीतिक दलबाटै बालबालिका प्रयोग

हिमाल प्रेस १२ मंसिर २०७९ १५:४९ | Monday, November 28, 2022
निर्वाचन प्रचार-प्रसारमा प्रमुख राजनीतिक दलबाटै बालबालिका प्रयोग

काठमाडौँ– बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचार प्रसारका क्रममा बालबालिका प्रयोग भएका २ सय १६ वटा घटना सार्वजनिक गरेको छ।

सिजपले विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आचारसंहित विपरीत २५ वटा विद्यालय, एउटा विद्यालयको बस र ४ जना शिक्षक प्रयोग गरेको जनाएको हो।

बालबालिका र विद्यालय प्रयोगको विषयमा बाहिरिएका २ सय १६ घटनामध्ये प्रचारप्रसार तथा र्‍यालिमा १ सय ४४ वटा, घरदैलोका क्रममा १२ वटा, आमसभाका १८ वटा, प्रचारप्रसार सामाग्रीमा १३ वटा र कलाकारको रूपमा बालबालिका प्रयोग भएका २८ वटा घटना बाहिरिएका हुन्।

दलगत रूपमा सत्तागठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा)बाट ९८ वटा, नेकपा एमालेबाट ७१ वटा, अन्य दलहरूबाट ३४ वटा र स्तन्त्र उम्मेदवारले बालबालिका प्रयोग गरेका १३ वटा घटनाबारे निर्वाचन आयोगमा उजुरी परेको सिजपले जनाएको छ।

निर्वाचन प्रचार प्रसारको क्रममा विद्यालयको प्रयोगलाई हेर्दा सत्तागठबन्धनले १५ वटा, नेकपा एमालेले १० वटा घटनामा विद्यालयको प्रयोग भएको सिजपले जनाएको हो।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा यस पटक निर्वाचन आयोगले आचारसंहिता पालना गर्न सचेतना अपनाए पनि घटना घटेको र यस उपर कारबाही नभएको सिजपका अध्यक्ष राजेश सर्माले बताए।

उनले भने, ‘सिजपको पहलमा निर्वाचनसँग सम्बन्धित गतिविधिमा विद्यालय तथा बालबालिकाको प्रयोगमा कमी आए पनि अवस्थामा सुधार ल्याउन बाँकी छ। विद्यालय शान्तिक्षेत्र अवधारणाको व्यवहारिक कार्यान्वयन अझै प्रभावकारी हुन सकेको छैन।’

सिजपले निर्वाचनमा बालबालिका तथा विद्यालयको प्रयोग भए नभएको, आचारसंहितको पालना भए नभएको पर्यवेक्षण र अनुगमन गरेको थियो।

दूर सञ्चार प्रदायक नेपाल टेलिकमले पनि चुनाव प्रचार प्रसारका क्रममा बालबालिका प्रयोग नगर्न दल र दलका प्रतिनिधिलाई कलब्याकटोनमार्फत सूचित गराएको थियो।

प्रकाशित: १२ मंसिर २०७९ १५:४९ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast