झापामा एमाले ३, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी

हिमाल प्रेस ९ मंसिर २०७९ १३:३४ | Friday, November 25, 2022
झापामा एमाले ३, कांग्रेस र राप्रपा एक/एक क्षेत्रमा विजयी

झापा- पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा एमालेले जितेको छ। नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक/एक क्षेत्रमा निर्वाचित भएका छन्।

एमाले क्षेत्र नं २, ४ र ५ मा विजयी भएको छ। क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे, क्षेत्र नं ४ मा लालबहादुर (एलपी) साँवा र क्षेत्र नं ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी बनेका हुन्।

एमाले प्रदेश इञ्चार्ज घिमिरे यसअघि राष्ट्रियसभा सदस्य थिए। उनले यसपटक स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई पछि पार्दै विजयी भएका हुन्। क्षेत्र नं ४ का एलपी साँवाले २०७९ को निर्वाचनमा कांग्रेसका जिल्ला अध्यक्ष देउमान थेबेलाई पराजित गर्दै विजयी बने।

एमाले अध्यक्ष ओली यो पटकसहित ६ पटक निर्वाचित भइसकेका छन्। उनले २०४८ सालमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीलाई, २०५१ सालमा कांग्रेसकै पूर्णानन्द दाहाललाई, २०५६ मा कांग्रेसका काशीलाल ताजपुरियालाई, २०७० कांग्रेसकै सुरेश सुब्बालाई, २०७४ र २०७९ सालमा कांग्रेस नेता खगेन्द्र अधिकारीलाई पराजित गर्दै विजयी बनेका हुन्।

निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।

कांग्रेसका शर्माको यो पहिलो संसद् यात्रा हो भने लिङ्देन, घिमिरे, साँवाको दोस्रो र एमाले अध्यक्ष ओलीको छैटौँ यात्रा हो ।

शर्माले एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेललाई पराजित गरे। शर्मा २०७० सालको निर्वाचनमा एमाले नेता रविन कोइराला र २०७४ सालमा नेकपा माओवादीका नेता सुरेन्द्रकुमार कार्कीसँग पराजित भएका थिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पहिलोपटक २०७४ सालको निर्वाचनमा निर्वाचित भएर संसद्को यात्रा तय गरेका थिए। एमालेसँगको तालमेलका कारण उनले दुवैपटक कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरे।

प्रकाशित: ९ मंसिर २०७९ १३:३४ | Friday, November 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast