चर्चामा ‘सम्भवतः कान्छा’ संघीय सांसद योगेश

हिमाल प्रेस ५ मंसिर २०७९ १४:४५ | Monday, November 21, 2022
चर्चामा ‘सम्भवतः कान्छा’ संघीय सांसद योगेश

पोखरा- प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेका नेपाली कांगेसका योगेश गौचन थकालीले धेरैले ध्यान तानेका छन्। एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै संघीय सांसद बनेका योगेश २९ वर्षीय हुन्। कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा भएकाले पनि उनीतर्फ ध्यान आकृष्ट भएको छ।

निवर्तमान सांसद एमाले केन्द्रीय सदस्य तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी भएका छन्। प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चार जना प्रतिस्पर्धामा थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाए। कांग्रेसका गौचन पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका थिए।

कांग्रेसको गण्डकी प्रदेश सदस्य योगेश कांग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मिएका योगेशले ब्याचलर अफ विजनेश म्यानेजमेन्टको अध्ययन गरेका छन्। होटेल कालोपानी लेते मुस्ताङ र पोखरामा त्रिथुङ्गा होल सञ्चालन गर्दै आएका उनी ट्राभल्स एन्ड टुर्स प्रालिको प्रबन्ध निर्देशकका साथै मुस्ताङमा किबीखेतीसँगै व्यावसायिक कृषिमा सहभागी छन्।

जिल्लामा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनी नेविसंघको राजनीतिसँगै भूगोलमा पनि जोडिएका थिए। उनी पार्टीको जिल्ला कार्यसमिति सदस्य पनि सानै उमेरमा बनेका थिए। पार्टीको साविक लेते गाउँ सभापति भइसकेका उनी महासमिति सदस्य एवम् गण्डकी प्रदेश कार्यसमितिमा छन्।

प्रेमले २०७४ को चुनावमा योगेशका बुबा रोमीलाई चार सय ८५ मतान्तरले पराजित गरेका थिए। २०७० को चुनावमा कांग्रेसका रोमी कांग्रेसबाट बागी उठेका प्रेमलाई १३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए। मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र प्रेम साला भेना पर्छन्। रोमी (योगेशका बुबा) र प्रेम मामाफुपूका छोरा हुन्।

रोमीले आफूलाई आएको प्रतिनिधिसभा सदस्यको टिकट मनोनयन दर्ताका क्रममा छोरा योगेशलाई थमाएका थिए। २०४७ पछि मुस्ताङमा नेपाली कांग्रेसले अहिलेसहित चार पटक र नेकपा एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन्।

विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेम रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिरेका थिए। दोस्रो पटक सांसद छिर्ने प्रेमको योजना योगेशले असफल बनाए। रोमी २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। २०७४ को चुनावमा मुस्ताङको प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो।

प्रकाशित: ५ मंसिर २०७९ १४:४५ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast