कतार विश्वकप : अनफिट भए पनि लुकाकु बेल्जियमको टिममा

हिमाल प्रेस २५ कार्तिक २०७९ ४:४१ | Friday, November 11, 2022
कतार विश्वकप : अनफिट भए पनि लुकाकु बेल्जियमको टिममा

काठमाडौँ- रोमेलु लुकाकाु पूर्ण रूपमा फिट नभए पनि कतार विश्वकप खेल्ने बेल्जियमको टिममा परेका छन्। चोटका कारण इटालियन सिरी ‘ए’ मा १४ मध्ये १० खेल गुमाएका लुकाकु ‘मेडिकल्ली अनफिट’ रहेका बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले नै स्वीकार गरेका छन्।

अगस्टको अन्तिम साता देखि यता लुकाकुले इन्टर मिलानका लागि जम्मा दुई खेल मात्र खेल्न सकेका छन्। ‘ह्यामस्ट्रिङ’ को चोटका कारण सेप्टेम्बर महिनाभर मैदान बाहिर रहेका लुकाकु अक्टोबर १० साम्पडोरियाविरुद्धको खेलमा देखिएका थिए।

तर त्यो खेलपछि उनी फेरि इन्टरको टिमबाट बाहिर छन्। ‘लुकाकु अनफिट रहेको कुरा लुकेको छैन। हाल उनी उपचार गराइरहेका छन्। विश्वकपमा हाम्रो पहिलो खेल नोभेम्बर २४ मा छ। उनका लागि पहिलो खेलको २४ घण्टाअघि आफूलाई फिट प्रमाणित गरे खेल्न पाउने छन्,’ बिहीबार बेल्जियमको २६ सदस्यीय टिम घोषणा गर्दै मार्टिनेजले भने।

फिफाले कुनै पनि टिमलाई पहिलो खेलको २४ घण्टाअघिसम्म कोभिड–१९ संक्रमित वा घाइते खेलाडीलाई प्रतिस्थापन गर्न अनुमति दिन्छ। यस्तोमका लुकाकुको ठाउँमा अर्का खेलाडी ल्याउने विकल्प बेल्जियमसँग छ। तर १०२ खेलमा ६८ गोल गरेका लुकाकुका लागि अन्तिम क्षणसम्म पर्खने मनस्थितिमा बेल्जियम छ।

बेल्जियमका उच्च गोलकर्ता लुकाकु पछिल्लो १८ महिनादेखि खराब लय र चोटका कारण संघर्षरत छन्। चेल्सीबाट इन्टर फर्किएका लुकाकुले यो सिजन पाँच खेल खेल्न भ्याएका छन्। जसमा उनले दुई गोल मात्र गर्न सकेका छन्।

बेल्जियमका कप्तान इडेन हाजार्डको फिटनेसलाई लिएर पनि प्रश्न उठिरहेको छ। गत सिजन निकै खृल चोटका कारण गुमाएका हाजार्डले यो सिजन स्पेनिस ला लिगामा जम्मा तीन खेल मात्र खेल्न पाएका छन्। रियल म्याड्रिडमा उनीभन्दा भिनिसियस जुनियर र रोड्रिगोलाई बढी मौका दिइरहेका छन् कार्लो एन्सिलोट्टीले।

‘तथ्य यही हो, हाजार्डले जति खेल्नु पर्ने हो, त्यति खेल्न पाएका छैनन्। उनले लगातार रूपमा नखेलेको धेरै भयो। यसकारण हामीलाई उनले पूरा ९० मिनेट खेल्न सक्छन् कि सक्दैनन् भन्ने चिन्ता चाहिँ छ,’ मार्टिनेजले बेल्जियमको सरकारी टेलिभिजन आरटीबीएफसँग भने।

रुस विश्वकपमा बेल्जियम सेमिफाइनलसम्म पुगेको थियो। त्यसबेलाका अधिकांश खेलाडी कतार जाने टिममा समेटिएका छन्।

बेल्जियमले समूह ‘एफ’ मा क्यानडा, मोरोक्को र क्रोएसियाको सामना गर्नेछ। क्रोएसिया सन् २०१८ विश्वकपको उपविजेता हो।

बेल्जियमको पूरा टिमः 

गोलरक्षक : थिबाउट कोर्टुवा, रियल म्याड्रिड, सिमोन मिग्नोलेट क्लब ब्रुग, कोइन कास्टिल्स उल्फ्सबर्ग

रक्षक : टोबी एल्डरवेरिल्ड रोयल आन्टवेर्प, जान भेर्टोनगन एन्डरलेक्ट, जेनो डेबास्ट एन्डरलेक्ट, लियान्डेर डेन्डोन्कर एस्टन भिल्ला, वाउट फाएस लेस्टर, आर्थर थिएट रेन

मिडफिल्डर : थोमस मुनिअर बोरुसिया डर्टमन्ड, टिमोथी कास्टान लेस्टर सिटी, थोगर्न हाजार्ड बोरुसिया डर्टमन्ड, केभिन डे ब्रुएना म्यानचेस्टर सिटी, एलेक्स विट्सल एट्लेटिको म्याड्रिड, युरी टिलमन लेस्टर सिटी, अमाडौ ओनाना एभरटन, हान्स भानाकेन क्लब ब्रुग, यानिक कारास्को एट्लेटिको म्याड्रिड

फरवार्ड : एडेन हाजार्ड रियल म्याड्रिड, लियान्द्रो ट्रासोर्ड ब्राइटन, रोमेलु लुकाकु इन्टर मिलान, मिची बात्सुआई फेनेरबासे, चाल्र्स डे केटेलाएरे एसी मिलान, लोइस ओपेन्डा लेन्स, जेरेमी डोकु रेन, ड्राइस मर्टेन्स गालाटासारे

प्रकाशित: २५ कार्तिक २०७९ ४:४१ | Friday, November 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast