ओलीको प्राथमिकतामा नपरेका योगेशलाई सहज छैन दोहोरिन

हिमाल प्रेस २८ कार्तिक २०७९ ८:४६ | Monday, November 14, 2022
ओलीको प्राथमिकतामा नपरेका योगेशलाई सहज छैन दोहोरिन

काठमाडौँ- नेकपा एमाले नेता योगेश भट्टराई २०६४ र २०७० का दुवै चुनावमा काठमाडौँबाट पराजित भए। दुईदुई पटक प्रयास गर्दा पनि काठमाडौँबाट लडेर सांसद बन्ने उनको धोको पूरा हुन सकेन। त्यसपछि उनलाई लाग्यो, काठमाडौँको राजनीति फाप्दैन।

उनी २०७४ मा काठमाडौँबाट चुनाव लड्ने प्रयास नगरी ताप्लेजुङ हानिए। योगेशको गृहजिल्ला हो, ताप्लेजुङ। वामगठबन्धन भएकै मेसोमा योगेशले फराकिलो मतान्तरले चुनाव जिते।

योगेशले २९ हजार ४ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८ सय ८८ मत पाएका थिए। उनको यो सफलताले उनलाई सांसद मात्र बनाएन, मन्त्री पनि बनायो। ठूलो संघर्षपछिको जितमा योगेशलाई फाइदै पुग्यो। सांसद मात्र होइन, मन्त्रीको अनुभव लिएर उनी फेरि चुनाव लड्न ताप्लेजुङ पुगेका छन्।

नेतृत्वकै छैन साथ

२०७४ मा चुनाव लड्दा योगेशसँग एमाले मात्र नभई माओवादीको पनि साथ थियो। उनी ताप्लेजुङका लागि उदीयमान मानिन्थे। तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली पनि योगेशको प्रशंसा गर्दै ताप्लेजुङ पुगेर भोट मागिदिए। ओलीले भनेका थिए, ‘तपाईंहरू योगेशलाई सांसद बनाएर पठाइदिनुहोस्। म मन्त्री बनाइदिन्छु।’ ताप्लेजुङले उनलाई सांसद जितायो।

ओली नेतृत्वको सरकारमा योगेश मन्त्री बने। अहिले परिस्थिति बदलिएको छ। ओली मत माग्न ताप्लेजुङ पुग्ने सम्भावना छैन। किनकि योगेश अध्यक्ष ओलीको प्राथमिकतामा छैनन्।

योगेश मन्त्री बन्ने पनि सम्भावना कम छ। पहिले त चुनाव जित्नुपर्‍यो अनि एमाले सरकारमा गएमा मात्र उनी मन्त्री बन्ने बाटो खुल्नेछ। अहिलेको समीकरणमा एमाले पहिलो दल बन्न सहज छैन।

योगेशलाई यसपटक माओवादीको साथ छैन। माओवादीकै नेता उनीसँग प्रतिस्पर्धामा उत्रिएका छन्। माओवादी नेता खेलराज बुढा क्षेत्री उनीसँग प्रतिस्पर्धामा छन्। खेलराज स्थानीयस्तरमा भिजेका नेता मानिन्छन्। त्यसैले योगेशका लागि यसपटक भारी पर्न सक्छन्, खेलराज।

अहिले एमाले विभाजित भएर एकीकृत समाजवादी बनेको छ। यस अर्थमा यसपटक एमाले कमजोर छ। तर योगेश यो मान्न तयार छैनन्। एमालेमा जनमत बढेको उनको दाबी छ। स्थानीयस्तरमा योगेशलाई जनमत कमजोर भएको नेता भन्नेहरू पनि छन्।

विगतमा योगेश एमालेभित्र माधव नेपाल निकट नेता थिए। नवौँ महाधिवेशनमा माधव खेमाबाटै सचिवमा लडे। अध्यक्षमा नेपालले हारे तर योगेशले सचिवमा बाजी मारे। एमालेबाट माधव बाहिरिँदा पनि योगेशको टिम एमालेमै रह्यो।

यस्तो छ रणनीति

चुनावी संकट झेल्दै जित निकाल्ने दाउमा छन्, योगेश। उनका विपक्षमा सत्ता गठबन्धन छ। तर त्यही गठबन्धनबाट फाइदा लिने दाउमा रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘कम्युनिस्ट जति सबैको मत आउँछ। कांग्रेसका लागि पनि मलाई मत दिँदा फाइदै हुन्छ।’

ताप्लेजुङमा एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी हुन्। यसपटक कांग्रेसको उम्मेदवार छैन। गठबन्धनका तर्फबाट माओवादीकै उम्मेदवारलाई साथ छ। ‘माओवादीलाई भन्दा कांग्रेसबाट पनि मलाई नै मत आउँछ भन्ने लाग्छ। किनकि धेरै कारणले म नै उहाँहरूसँग नजिक छु,’ योगेश भन्छन्।

पछिल्लो समय उनी ताप्लेजुङका पेसागत व्यक्तिसँग नजिक छन्। पत्रकार, कलाकार वा अन्य पेसागत संगठनका कर्मचारी सबैसँग योगेशको चिनापर्ची छ। मन्त्री बन्दै पनि उनी पटकपटक ताप्लेजुङका गाउँ पुगेका छन्। ‘योगेश दाइ, जिल्लाका बासिन्दासँग नजिक हुनुहुन्छ। सबैसँग समन्वय गरेर अघि बढ्नुभएको छ,’ ताप्लेजुङका एक जिल्लास्तरीय नेताले भने, ‘पार्टीगत भन्दा पनि उहाँको सबैसँग राम्रो सम्बन्ध छ। त्यसैले उहाँलाई चुनाव जित्न कठिन छैन।’

प्रकाशित: २८ कार्तिक २०७९ ८:४६ | Monday, November 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast