‘अफगानी महिलालाई सार्वजनिक पार्क प्रवेशमा प्रतिबन्ध नलगाउ’

हिमाल प्रेस २७ कार्तिक २०७९ ९:४७ | Sunday, November 13, 2022
‘अफगानी महिलालाई सार्वजनिक पार्क प्रवेशमा प्रतिबन्ध नलगाउ’

काठमाडौँ– लन्डनस्थित एम्नेस्टी इन्टरनेसनलले काबुलका सार्वजनिक पार्कमा महिलालाई जान रोक्ने तालिबानको पछिल्लो निर्णय फिर्ता लिन आग्रह गरेको छ।

तालिबानले काबुलका सार्वजनिक पार्कहरूमा महिलाहरूलाई प्रतिबन्ध लगाउनु देशमा महिला अधिकारको लागि अर्को धक्का हो।

‘तालिबानको यस्तो कुनै पनि निर्णय तत्काल उल्टाउनु पर्दछ किनकि तालिबानको अधीनमा महिला अधिकारहरू व्यवस्थित रूपमा आक्रमणको अधीनमा छन्,’ एम्नेस्टीले ट्विटरमा पोस्ट गरेको एक विज्ञप्तिमा भनेको छ।

सन् २०२१ को अगष्टमा तालिबान काबुल फर्केपछि तालिबानले महिला तथा बालिकाको अधिकारमाथि गरेको योजनाबद्ध आक्रमण र यातना तथा बलपूर्वक बेपत्ता पार्नेलगायत हिंसाको प्रयोगले अफगान समाजमा भयको संस्कृति सिर्जना गरेको छ।

तालिबानको सदाचार मन्त्रालयले आफ्नो पछिल्लो आदेशमा महिलाहरूलाई काबुलका पार्कहरूमा जानबाट रोकेको टोलो न्यूजले जनाएको छ।

हिजाब नमनाउने भएकाले महिलामाथि यो प्रतिबन्ध लगाइएको प्रतिवेदनमा उल्लेख छ। अफगानिस्तानमा तालिबान सत्तामा फर्किएसँगै महिलाहरूलाई आवतजावतको स्वतन्त्रता, शिक्षाको अधिकार र राजनीतिक सहभागिताजस्ता आधारभूत अधिकारहरू प्रयोग गर्नबाट वञ्चित गरिएको छ।

एमनेस्टीले जारी गरेको वक्तव्यमा तालिबानले पूर्ववर्ती सरकारको पालामा महिलाविरुद्ध हुने घरेलु हिंसाका घटनालाई सम्बोधन गर्न बनाइएका संस्थाहरूलाई पनि ध्वस्त पारेको उल्लेख गरेको छ।

‘तालिबानले केही दिनअघि मात्र पक्राउ परेका थुप्रै महिला अधिकारकर्मीसहित कैयौँ महिलालाई  गैरकानुनी रूपमा गिरफ्तार गरी हिरासतमा लिएको छ र यातना दिएको छ भने शान्तिपूर्ण आन्दोलनका पोस्टरहरूलाई हटाएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

यसबाहेक, समूहले अन्तर्राष्ट्रिय समुदायलाई तालिबान शासनअन्तर्गत महिलाहरूले भोगेको व्यवस्थित पीडा र उनीहरूको अधिकारप्रति आँखा चिम्लन आग्रह गरेको छ।

संयुक्त राष्ट्रसंघले दुई तिहाइ अफगानी भोकभोकै बसिरहेको र बालिका शिक्षा तालिबानको ‘अनियमित आदेश’को अधीनमा रहेको र अफिमको उत्पादनमा भएको ठूलो वृद्धिका कारण अपराध र आतंकवाद फेरि फस्टाउँदै गएको चेतावनी दिएको पृष्ठभूमिमा यो पछिल्लो प्रतिवेदन आएको हो।

प्रकाशित: २७ कार्तिक २०७९ ९:४७ | Sunday, November 13, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast