अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सर्बिया

हिमाल प्रेस १२ मंसिर २०७९ १८:०८ | Monday, November 28, 2022
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो सर्बिया

काठमाडौँ- विश्वकप समूह चरणको खेलमा सोमबार सर्बिया र क्यामरुनले ३–३ को बराबरी खेलेका छन्। पहिलो खेलमा हार व्यहोरेका कारण अनिवार्य जितको खोजीमा रहेका यी दुवै टिमको नकआउट चरणमा पुग्ने सम्भावना अब पातलिएको छ।

किनभने याे  नतिजासँगै समूह ‘जी’ मा क्यामरुन तेस्रो र सर्बिया चौथो स्थानमा छन्। क्यामरुन पहिलो खेलमा स्विटजरल्यान्ड र सर्बिया ब्राजिलसँग पराजित भएका थिए।

ब्राजिल र स्विटजरल्यान्ड शीर्ष दुईमा छन्। दुवै टिमको तीन–तीन अंक छ। सोमबार राति ब्राजिल र स्विटजरल्यान्ड भिड्दैछन्। यो खेल जित्ने टिमले नकआउट चरणमा स्थान पक्का गर्नेछ।

कतारी सहर अल वाक्राहस्थित अल जानौब रंगशालमा क्यामरुनले जिन चाल्र्स कास्टेलेटोको गोलमार्फत अग्रता लिएको थियो। तर पहिलो हाफ नसकिँदै सर्बिया खेलमा फर्कियो। स्ट्राहिन्जा पाभ्लोभिच र सर्जेज मिलिन्कोभिच साभिचले दुई मिनेटको फरकमा एक–एक गोल गरेका थिए।

दोस्रो हाफको ५३ औँ मिनेटमा अलेक्जान्डर मिट्रोभिचले गोल गरेपछि सर्बियाले खेल ३–१ को स्थितिमा पु¥याएको थियो। तर भिन्सेन्ट आबुबकार मैदानमा प्रवेश गरेसँगै क्यामरुनको खेलमा सुधार आयो। उनले ६३ औँ मिनेटमा गोल गरे भने तीन मिनेटपछि एरिक म्याक्सिम चोपु मोटिङका लागि असिस्ट प्रदान गरे।

यो खेलका लागि क्यामरुनले गोलरक्षक परिवर्तन गरेको थियो। पहिलो खेल खेलेका आन्द्रे ओनाना सर्बियासँगको खेलमा बेन्चमा समेत परेनन्। प्रशिक्षक रिगोबेर्ट सङसँगको असझदारीका कारण ओनानाले टिम छाडेको बताइएको छ। बल नियन्त्रणमा लिएपछि लामो दूरीको ‘गोल किक’ लिन प्रशिक्षक सङले दिएको निर्देशन नमानेपछि ओनानालाई टिममा नराख्ने निधो गरिएको थियो।

प्रकाशित: १२ मंसिर २०७९ १८:०८ | Monday, November 28, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast