काठमाडौँ- आज आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठीमाताको पूजा गरिएको छ। ताल तलैया, नदी किनार, पोखरीमा घाट बनाएर पूजा गरेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ। मिथिला क्षेत्रमा मात्रै मनाइने छठ पछिल्लो समय पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ। काठमाडौँमा पनि छठ धुमधामका साथ मनाइएको छ। छठ पर्वका लागि काठमाडौंको गुह्येश्वरी गौरीघाट क्षेत्र, कमलपोखरी, यहाँका नदीहरू बागमती,विष्णुमतीलगायत ठाउँमा घाट बनाइएको छ। भक्तजनहरूले त्यहीँ पुगेर पूजाआजा गरे।
छठका बर्तालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्। छठमा व्रत बसेमा दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास छ। आज आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको पूजा समापन गरिन्छ।