हिन्दू धर्मावलम्बी नेपालीहरूको महान चाड हो दसैँ अर्थात् विजयादशमी। नेपालीहरूको यस्तै सांस्कृतिक पर्वका अवसरमा पछिल्लो समय नेपालस्थित विदेशी राजदूतावासहरू सांस्कृतिक कूटनीति प्रदर्शनमा होडबाजी नै गर्ने गरेको जस्तो देखिन्छ।
नेपालमा सांस्कृतिक कूटनीतिक सम्बन्ध विस्तार र प्रदर्शनमा भारतलाई पनि उछिन्दै चीन र अमेरिका पछिल्लो समय निकै अगाडि बढिरहेको झैँ देखिन्छ। नेपालमा सम्बन्धित मुलुकका राजदूतहरू पुरुषको तुलनामा महिला बढी हुँदा चाडपर्व लक्षित सांस्कृतिक कूटनीति अझ बढी आक्रमक रूपमा विस्तार भएको जस्तो देखिन्छ। नेपालका चाडपर्वहरू दसैँ, तिहार, तीज, होली, शिवरात्री र वसन्तपञ्चमीलगायतका अवसरमा नेपालस्थित विभिन्न मुलुकका विदेशी राजदूतावासहरू शुभकामना दिनेसँगै नेपाली परम्पराअनुसार चाडपर्व मनाइहेको देख्छौँ।
अहिले पनि विदेशी राष्ट्र एवं सरकार प्रमुखले नेपाली नयाँ वर्ष, विभिन्न चाडपर्वमा शुभकामना सन्देश दिने गरेका छन्। कतिपयले सीधै त कतिपयले नेपालस्थित राजदूतमार्फत् शुभकामना दिने गरेका छन्। अहिले पनि घटस्थापनाकै दिनदेखि विभिन्न मुलुकका राजदूतहरूले शुभकामना दिइरहेका छन्। कतिपय राजदूतले सामाजिक सञ्जालमै पनि शुभकामना सन्देश राखेका हुन्छन्।
पछिल्लो समय नेपालस्थित अमेरिकी र चिनियाँ राजदूतहरू आफूहरूले टीका लगाउनेदेखि सम्बन्धित दूतावासमा कार्यरत कर्मचारीहरू बीचमा टीका ग्रहण गरेर दसैँ पनि मनाउने गर्छन्। अहिले नेपालस्थित अष्ट्रेलियाली राजदूत पनि थपिएकी छन्। चीनले नेपालसँग सीमा जोडिएको मुलुक र भूराजनीतिक हिसाबले पनि सांस्कृतिक सामिप्यता खोजेको हुन सक्छ।
त्यस्तै अमेरिका र अष्ट्रेलिया आ-आफ्ना रणनीतिक चाल, नेपालको संवेदनशील भूराजनीतिक महत्त्व सँगसँगै ती सम्बन्धित मुलुकहरूमा गैरआवासीय नेपालीहरूको पनि उल्लेख्य उपस्थिति रहेकाले पनि त्यस्तो भएको हुन सक्छ। ती मुलुकका राजदूतावासहरूले यसरी नेपालका सांस्कृतिक चाडपर्वहरू मनाइरहँदा नेपालका चाडपर्वबारे त्यताका नागरिक बीचमा इन्टरनेट सञ्जालबाट भए पनि राम्रो प्रचार भइरहेको छ।
यही विजयादशमीको सन्दर्भमा नेपालसँग ७५ वर्ष पहिले कूटनीतिक सम्बन्ध स्थापना गर्ने बेलायतपछिको दोस्रो राष्ट्र अमेरिकाका राष्ट्रपतिले ७४ वर्षअघि नेपाललाई पठाएको शुभकामना सन्देशका विषयमा यहाँ चर्चा गरिएको छ।
अमेरिकाको लागि नेपालले शुभकामना सन्देश पठाउने जुलाई ४ को अमेरिकी स्वतन्त्रता दिवस थियो। तर, अमेरिकाले नेपाललाई शुभकामना पठाउने विजयादशमी भन्दा अर्को कुनै महत्त्वपूर्ण दिन र अवसर थिएन।
नेपाल र अमेरिकाबीच सन् १९४७ अप्रिल २५ मा काठमाडौँमा मैत्री तथा वाणिज्य सन्धिमा हस्ताक्षर भएसँगै औपचारिक रूपमा सम्बन्धको सूत्रपात भएको थियो। त्यसको अर्को वर्ष १९४८ फेब्रुअरीमा दुवै मुलुकले एक अर्को देशमा ‘मिनिस्टर’ तहमा राजदूतहरू खटाउने घोषणा गरेका थिए। त्यहीअनुसार बेलायतका लागि नेपाली राजदूत केशरशमशेर जबराले सोही फेब्रुअरी १९ मा वासिङ्टनमा राष्ट्रपति ट्रुमेनलाई ओहदाको प्रमाणपत्र बुझाए। सन् १९४८ मे ३ मा भारतका लागि अमेरिकी राजदूत हेनरी एफ. ग्रेडीले काठमाडौँमा राजा त्रिभुवनसमक्ष ओहदाको प्रमाणपत्र पेस गरे।
सन् १९४७/४८ ताका अमेरिकाका राष्ट्रपति ह्यारी एस. ट्रुमेन थिए, त्यस्तै नेपालका राष्ट्राध्यक्षका रूपमा राजा त्रिभुवन थिए। कुनै पनि मुलुकका लागि स्वतन्त्रता दिवस, राष्ट्रिय दिवस त्यस्तै संविधान दिवसहरू महत्त्वपूर्ण हुने गर्दछन्। नेपाल आफ्नो इतिहासमा कहिल्यै पनि कसैको उपनिवेश नरहेकाले नेपालले स्वतन्त्रता दिवस मनाउने भन्ने नै रहेन।
त्यस्तै सन् १९४८ को अक्टोबरसम्म आउँदा नेपालमा पद्मशमशेरले वि.सं. २००४ सालको वैधानिक कानुन (संविधान) जारी गरिसकेको भए पनि त्यसलाई खास उत्सवका रूपमा मनाउने भन्ने थिएन। पद्मशमशेरले जारी गरिदिएको उक्त संविधान मोहनशमशेर पक्षधरले रुचाएकै थिएनन्। सन् १९४८ सम्ममा नेपालले राष्ट्रिय दिवस मनाउने कुनै प्रचलन थिएन। वि.सं. २००७ सालको क्रान्तिले नेपालमा प्रजातन्त्र आएपछि वि.सं. २००९ अर्थात सन् १९५३ देखि मात्र प्रजातन्त्र आएको दिन फागुन ७ लाई मात्र राष्ट्रिय दिवस मनाउन थालिएको हो।
विजयादशमीको अवसरमा अमेरिकी राष्ट्रपति ह्यारी एस. ट्रुमेनले नेपालका राजा त्रिभुवनलाई पठाएको शुभकामना सम्बन्धी खबर छापिएको इन्डियन एक्स्प्रेसको सन् १९४८ को अक्टोबर १४ को अंकको एक अंश।
नेपालसँग दौत्य सम्बन्ध स्थापना गरेर भर्खरै राजदूत आदानप्रदान गरेको अमेरिकाले सन् १९४८ देखि नेपालको कुन महत्त्वपूर्ण दिवसमा राष्ट्रपतिको तहबाट नै राजालाई सम्बोधन गरी शुभकामना दिने भन्ने तयारी गरिरहेको थियो। सामान्यतया दुई मुलुकका बीचमा औपचारिक सम्बन्ध स्थापना भइसकेपछी एक अर्का मुलुकका कुनै त्यस्ता महत्त्वपूर्ण दिवसहरूमा शुभकामना दिने कूटनीतिक प्रचलन हुन्छ नै। अमेरिकाको लागि नेपालले शुभकामना सन्देश पठाउने जुलाई ४ को अमेरिकी स्वतन्त्रता दिवस थियो। तर, अमेरिकाले नेपाललाई शुभकामना पठाउने विजयादशमी भन्दा अर्को कुनै महत्त्वपूर्ण दिन र अवसर थिएन। अमेरिकाले नेपालको बारेमा तयार गरेको ‘कन्ट्री प्रोफाइलमा’ समेत त्यतिबेला नेपालको राष्ट्रिय बिदा हुने राष्ट्रिय चाडका रूपमा विजयादशमीको नाम राखेको थियो।
त्यसैअनुसार सन् १९४८ फेब्रुअरीमा दुवै मुलुकले मिनिस्टर तहमा राजदूत आदानप्रदान गरेपछिको पहिलो दसैँमा अमेरिकी राष्ट्रपति ट्रुमेनले राजा त्रिभुवनलाई विजयादशमीको शुभकामना सन्देश पठाएका थिए। त्यस वर्षको विजयादशमी १२ अक्टोबरमा परेको थियो। त्यसै दिनमा अमेरिकी राष्ट्रपति ह्यारी एस. ट्रुमेनले सम्पूर्ण अमेरिकी जनताका तर्फबाट नेपालका राजा त्रिभुवनमार्फत् सबै नेपाली नागरिकहरूलाई विजयादशमीको शुभकामना सन्देश पठाएका थिए। (दी इन्डियन एक्स्प्रेस १४ अक्टोबर १९४८)
अमेरिकी राष्ट्रपतिले नेपालीलाई पठाएको विजयादशमीको शुभकामना सन्देश किन पनि महत्त्वपूर्ण थियो भने हालसम्म उपलब्ध प्रमाणअनुसार नेपालका राष्ट्राध्यक्षलाई कुनै अर्को विदेशी राष्ट्राध्यक्षले पठाएको विजयादशमीको शुभकामना सन्देश त्यही नै पहिलो हो। अमेरिकाभन्दा पहिले नेपालको कूटनीतिक सम्बन्ध बेलायतसँग स्थापना भएको भए पनि बेलायतका महाराजा/महारानीद्वारा त्यतिन्जेलसम्म नेपालका राजामार्फत नेपालीलाई विजयादशमीको शुभकामना सन्देश पठाएको सार्वजनिक जानकारी छैन।
सन् १९४८-५२ सम्म लगातार ५ वर्षसम्म अमेरिकी राष्ट्रपति ट्रुमेनले विजयादशमीको अवसरमा राजा त्रिभुवनमार्फत नेपालीलाई शुभकामना सन्देश पठाएका थिए।