 तत्कालीन नवयुवराज दीपेन्द्रलाई बोकेर मन्दिर डुलाउँदै प्रधानमन्त्री कीर्तिनिधि बिष्ट। तस्बिर साभार : स्वतन्त्र विश्व वर्ष ९, संख्या ७
                             तत्कालीन नवयुवराज दीपेन्द्रलाई बोकेर मन्दिर डुलाउँदै प्रधानमन्त्री कीर्तिनिधि बिष्ट। तस्बिर साभार : स्वतन्त्र विश्व वर्ष ९, संख्या ७
                                            काठमाडौँ- असार १३, तत्कालीन राजा दीपेन्द्र वीर विक्रम शाह देवको जन्म जयन्ती। २०५८ जेठ १९ गते दरबार हत्याकाण्डपछि राजा घोषित भएका दीपेन्द्रले राजाका रूपमा जन्मदिन भने मनाउन पाएनन्। कारण युवराज हुँदैमा भएको दरबार हत्याकाण्डमा उनको निधन भएको थियो।
२०२८ असार १३ मा जन्मिएका दीपेन्द्र बाँचिरहेका भए अहिले ५१ वर्षका हुन्थे। २०५८ सालको दरबार हत्याकाण्डपछि अर्धचेत अवस्थामा रहेका युवराज दीपेन्द्र करिब ३ दिनका लागि राजा घोषित भएका थिए।
आफू राजा भएको थाहा नपाउँदै, राजाको श्रीपेच नलगाई र राजगद्दीमा बस्दै नबसी सबैभन्दा छोटो अवधि राजा हुने उनी नेपालको इतिहासमा एकमात्र राजा हुन्।
दीपेन्द्रको जन्म भएको ६ महिनापछि २०२८ मंसिर १६ मा उनको अन्नप्राशन समारोह (भात खुवाउने संस्कार) सम्पन्न भएको थियो।
गणेश दर्शन यात्रा समारोहमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट, प्रधानन्यायाधीश, राष्ट्रिय पञ्चायतका अध्यक्ष, प्रधानसेनापति र विदेशी कूटनीतिक अधिकारीहरु समेत सहभागी थिए।
उक्त राजकीय अन्नप्राशन समारोह भव्य थियो। उक्त समारोहमा युवराजले झलमलाउँदा बुट्टाले परिपूर्ण मखमली पोसाक पहिरिएका थिए। राजदरबार अगाडिको सडकको दुवैतिर शाही ब्यान्ड र सांस्कृतिक बाजागाजाका कर्णप्रिय धुन बजाइएका थिए। उक्त समारोह हेर्नका लागि हज्जारौँ सर्वसाधारण उपस्थित थिए।
सोही समारोहमा शाही परम्पराअनुसार नवयुवराजलाई गणेश दर्शन गराउने कार्यक्रम थियो। गणेश दर्शन यात्रा समारोहमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि बिष्ट, प्रधानन्यायाधीश, राष्ट्रिय पञ्चायतका अध्यक्ष, प्रधानसेनापति र विदेशी कूटनीतिक अधिकारीहरु समेत सहभागी थिए।
तत्कालीन बिष्टले नवयुवराज दीपेन्द्रलाई काखमा बोकेर गणेश दर्शन गराएका थिए। गणेश दर्शनपछि नवयुवराजलाई हनुमानढोकामा कुमारी, तलेजु भवानी र अन्य देवीदेवताको प्रसाद ग्रहण गराइएको थियो। समारोहमा २१ तोपको सलामी समेत अर्पण गरिएको थियो।

 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 