 
                             
                                            काठमाडौँ- २०२८ साल माघ १७ गते तत्कालीन राजा महेन्द्रको निधन भएपछि उनका उत्तराधिकारीका रुपमा रहेका युवराज वीरेन्द्रलाई राजा घोषित गरिएको थियो। सोही दिन नारायणहिटी राजदरबारमा सभापति रंगनाथ शर्माको अध्यक्षतामा बसेको राजसभा स्थायी समितिको बैठकले १२ बजेर १७ मिनेटको शुभमुहूर्तमा राजा वीरेन्द्रको राज्यारोहण गर्ने निर्णय गरेको थियो।
तर राजा वीरेन्द्रको राज्याभिषेक समारोह भने राजा भएको करिब २ वर्षपछि मात्र तय भएको थियो। २०३० माघ १५ गते राजदरबारबाट जारी प्रेस विज्ञप्तिमा ‘राजा वीरेन्द्रको शुभ राज्याभिषेक शास्त्रानुसार तथा शाही परम्परामुताबिक शुभलग्न विक्रम संवत् २०३१ साल माघ शुक्ल त्रयोदशी फागुन १२ गते रोज २ तदनुसार सन् १९७५ फेब्रुअरी २४ तारिखमा सुसम्पन्न हुने भयो’ भन्ने उल्लेख थियो।
राजा वीरेन्द्रको राज्याभिषेक समारोहमा भाग लिन त्यतिबेलन नेपालसँग दौत्य सम्बन्ध स्थापना भएका ५८ वटै राष्ट्रका प्रतिनिधिसहित संयुक्त राष्ट्रसंघका महासचिवलाई पनि आमन्त्रण गरिएको थियो। त्यस्तै देशविदेशका अन्य गण्यमान्य व्यक्तिसहित अन्य अन्तर्राष्ट्रिय पत्रपत्रिका, टेलिभिजन, न्युज एजेन्सीका पत्रकार प्रतिनिधि आमन्त्रित थिए।
राजा वीरेन्द्रको राज्याभिषेक समारोहमा भाग लिन भारतका तत्कालीन राष्ट्रपति भीभी गिरी, बेलायतका राजकुमार चार्ल्स, भारतका लागि अन्तिम भाइसरय लर्ड माउन्टब्याटन, अस्ट्रेलियाका गभर्नर जनरल, जापानका राजकुमार लगायतका उच्च पदस्थ अधिकारी नेपाल आएका थिए।
संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव कुर्त वाल्ड्हाइमलाई राजा वीरेन्द्रको राज्याभिषेक समारोहमा भाग लिन २०३१ भदौ ३१ मा राजाकै हस्ताक्षरमा आमन्त्रण पत्र पठाइएको थियो।
त्यति धेरै तडकभडक नदेखिने यो अति सामान्य आमन्त्रणपत्र राष्ट्रसंघको अभिलेखालयमा रहेको महासचिव कुर्तको फाइलबाट लिइएको हो। नेपालीमा रहेको यसै पत्रलाई अनौपचारिक रुपमा अंग्रेजी अनुवादसहित अंग्रेजीमा समेत पठाइएको रहेछ। ती दुव पत्र यहाँ प्रस्तुत गरिएको छ।



 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 