काठमाडौँ- एमसीसी सम्झौता अनुमोदनका विषयमा नेपालमा राजनीतिक दलहरूबीच ध्रुवीकरण देखिँदैछ। अमेरिकाले पनि एमसीसी सम्झौतालाई निकै चासोका साथ नियालिरहेको मात्र छैन लामो समयदेखि अमेरिकी उच्च अधिकारीले नेपाली नेताहरूसँग भेटघाट तीव्र पार्दै आएका छन्। यस्तै अमेरिकी पक्षबाट ‘कूटनीतिक दबाब’पनि भइरहेको छ। नेपालका सन्दर्भमा अमेरिकी पक्षबाट यति धेरै चासो लिइएको सम्भवतः पहिलोपटक हुन सक्छ। यसै सन्दर्भमा नेपाल–अमेरिकाबीच कूटनीतिक सम्बन्धको औपचारिक थालनीका ती दिनमा आधारित सामग्री यहाँ प्रस्तुत छ–
७४ वर्षअघि सन् १९४८ को फेब्रुअरी १९ मा अमेरिकाका लागि पहिलो नेपाली राजदूतका रुपमा कमान्डिङ जनरल केशरशमशेर जबराले तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रुमेनसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका थिए। बेलायतका लागि राजदूत रहेका केशरशमशेरलाई अमेरिकाका लागि समेत मिनिस्टर तोकिएको थियो। नेपाल अमेरिका सम्बन्ध सन् १९५१ मा दूतावासस्तरमा स्तरोन्नति गर्नुअगाडि पहिलो मिनिस्टरका रुपमा उनले अमेरिकी राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका थिए।
नेपाल र अमेरिकाका कूटनीतिक अधिकारीहरूबीच पहिलो भेट लन्डनमा भएको थियो। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा र चन्द्रशमशेरको बेलायत भ्रमणका क्रममा उनीहरूले त्यहाँस्थित अमेरिकी राजदूतहरूसँग भेट गरेका थिए। औपचारिक रुपमा अमेरिका भ्रमण गर्ने पहिलो नेपाली अधिकारी भने बेलायतस्थित नेपाली राजदूत सिंहशमशेर जबरा हुन्। त्यसो त सन् १९३९ मा लन्डनमा राजदूत रहेका कृष्णशमशेर कार्यकाल पूरा गरी नेपाल फर्किने क्रममा अमेरिका हुँदै फर्किएका थिए। (अग्डेन्स्बर्ग जनरल अमेरिका २९-मे-१९३९)
सोही वर्ष दोस्रो विश्वयुद्ध घोषणा हुनुअगावै सैन्य प्रशिक्षणका लागि केशरशमशेर जबरा अमेरिका पुगेका थिए। त्यस क्रममा उनले वेस्ट पोन्टको सैन्य तालिम प्रतिष्ठान र अन्नापोलिसस्थित जलसेनाको तालिम प्रतिष्ठानमा गरी तीन महिना बिताएका थिए। (दी न्युयोर्क टाइम्स ०८-अगस्ट-१९३९)
दोस्रो विश्वयुद्ध अन्त्यपछि उनले नेपाल सरकारको प्रतिनिधिका रुपमा २६-अक्टोबर-१९४६ मा अमेरिका भ्रमण गरी राष्ट्रपति ट्रुम्यानलाई भेटेका थिए। (मलाया ट्रिब्युन ३० अक्टोबर १९४६) उनलाई नेपाल सरकारले अमेरिकी राष्ट्रपतिसँग शिष्टाचार भेट गरी नेपालका तर्फबाट शुभेच्छा प्रदान गर्न अह्राइएको थियो। सिंहशमशेर त्यतिबेलै अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) मा पुगेर उनले नेपालका लागि अमेरिकी आर्थिक सहायताको मागसमेत गरेका थिए। साथै नेपाल सरकार एक अमेरिकी सद्भावना मण्डललाई स्वागत गर्न तयार रहेको स्पष्ट संकेतसमेत उनले स्टेट डिपार्टमेन्टलाई दिएका थिए।
मेरल दोस्रो विश्वयुद्धमा नेपालका गोर्खा सिपाहीले बेलायती सेनाका तर्फबाट पुर्याएको योगदानको कदरस्वरुप नेपालका तत्कालीन प्रधानमन्त्री पद्मशमशेरलाई अमेरिकी सेनाको लेजन अफ मेरिट पदक प्रदान गर्न आएका थिए।
स्टेट डिपार्टन्टको निमन्त्रणामा वरिष्ठ कमान्डिङ जनरल बबरशमशेर जबराको नेतृत्वमा त्यहाँ पुगेको सैन्य प्रतिनिधिमण्डलले अमेरिकाका राष्ट्रपति र विदेशमन्त्रीलाई भेटेका थिए। सोही क्रममा वाणिज्य तथा मैत्री सन्धिका लागि अमेरिकालाई नेपालमा आमन्त्रण गरिएको थियो। (दी इन्डियन एक्सप्रेस ०२-अगस्ट-१९४६)
अमेरिकाका तर्फबाट सन् १९४४ मा दिल्लीमा कार्यरत एन्ड्र्यु कारी नेपाल आएका थिए। सन् १९४५ को सेप्टेम्बरमा दिल्लीमा कार्यरत थप दुईजना ह्यारी विट र अल्फ्रेड ब्राउन खनिजखानीबारे जानकारी हासिल गर्न काठमाडौँ आएका बखत व्यापार वाणिज्यसम्बन्धी छलफल गरेका थिए। उनीहरू खानी अवलोकन गर्न पोखरा हुँदा पाल्पासम्म पुगेका थिए भने भैरहवा सुनौली हुँदै भारत फर्किएका थिए। सन् १९४६ को नोभेम्बर १६-२२ सम्म दिल्लीमा कार्यरत अर्का अमेरिकी अधिकारी जर्ज आर मेरलले नेपाल भ्रमण गरेका थिए। मेरल दोस्रो विश्वयुद्धमा नेपालका गोर्खा सिपाहीले बेलायती सेनाका तर्फबाट पुर्याएको योगदानको कदरस्वरुप नेपालका तत्कालीन प्रधानमन्त्री पद्मशमशेरलाई अमेरिकी सेनाको लेजन अफ मेरिट पदक प्रदान गर्न आएका थिए। मेरलको भ्रमणका क्रममा नै नेपाल र अमेरिकाबीच वाणिज्य तथा मैत्री सन्धिका लागि सन् १९४७ अप्रिलमा नेपाल आउने तय भएको थियो। (नेपालस्थित ब्रिटिस राजदूतावासको वार्षिक प्रतिवेदन १९४६)
२२ मार्च १९४७ मा अमेरिकी विदेश मन्त्रालयले मन्त्रालयका अधिकारी जोसेफ सी स्याटर्थवेटको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल पठाउने घोषणा गर्यो। राष्ट्रपतिको प्रतिनिधिका रुपमा मन्त्रीस्तरीय हैसियतमा नेपाल पठाइएको टोलीलाई नेपालसँग वाणिज्य तथा मैत्री सन्धि गरी सम्बन्ध स्थापना गर्ने जिम्मेवारी सुम्पिएको थियो। (दी इन्डियन एक्सप्रेस २३-मार्च-१९४७)
स्याटर्थवेट नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यमा अमेरिकी दूतावास नयाँदिल्लीका इकोनोमिक अफेयर्स काउन्सेलर स्यामुएल एचडे, दिल्लीका प्रमुख सार्वजनिक मामिला अधिकारीहरू क्रमशः रेमन्ड ए हेयर र विलियम सी जोन्स्टन जुनियर, नयाँदिल्लीका सैनिक सहचारी लेफ्टिनेन्ट कर्नेल नथानियल आर हास्कट साथै बम्बईका भाइस कन्सुल जे जेफर्सन जोन्स तृतीय र कराँचीका भाइस कन्सुल चार्ल्स डब्ल्यू बुथ थिए। (दी इन्डियन एक्सप्रेस ३१-मार्च-१९४७) ३० मार्चमा वासिङ्टनबाट बम्बई हुँदै ०६ अप्रिलमा दिल्ली पुगेको प्रतिनिधिमण्डल दिल्लीबाट ११ अप्रिलमा प्रस्थान गरी १३ अप्रिलमा काठमाडौँ पुग्यो जहाँ उनीहरूलाई सत्र तोपको सलामीका साथ स्वागत गरिएको थियो।
२४ अप्रिलमा नेपाल र अमेरिकाबीचको लामो छलफलबाट वाणिज्य तथा मैत्री सन्धिको मस्यौदा टुंगो लाग्यो। तर त्यसबेलाको हाम्रो परम्पराअनुसार सन्धिमा हस्ताक्षर गर्नका लागि साइत हेराइयो र शुभ साइतको समय जुर्यो २५ अप्रिल १९४८ दिउँसो २ बजेर १३ मिनेट। यसरी पूर्वनिर्धारित शुभसाइतमा नेपालका तर्फबाट प्रधानमन्त्री पद्मशमशेर जबरा र अमेरिकाका तर्फबाट स्याटर्थवेटले ‘वाणिज्य तथा मैत्री सन्धि’ मा हस्ताक्षर गरे। उक्त सन्धिले दुई देशबीच कूटनीतिक र कन्सुलर सम्बन्ध स्थापित गर्ने ढोका खुल्यो। अर्को सहमतिले भारतका लागि अमेरिकी राजदूतलाई नेपालका लागि पनि राजदूत र बेलायतका लागि नेपाली राजदूतलाई अमेरिकाका लागि नेपाली राजदूत तोक्ने व्यवस्थासमेत भयो। (दी इन्डियन एक्सप्रेस ०२ मे १९४७)
राजदूत आदानप्रदानको शृंखला
सन् १९४८ को ०३ फेब्रुअरीमा नेपाल र अमेरिकाले एकअर्को देशमा मिनिस्टर तहमा राजदूत खटाउने घोषणा गरे। नेपालका तर्फबाट बेलायतका लागि तत्कालीन राजदूत केशरशमशेर जबरा वासिङ्टनका लागि नेपाली मिनिस्टर तोकिए। अमेरिकाका तर्फबाट समेत भारतका लागि अमेरिकी राजदूत रहेका डा. हेनरी एफ ग्रेडी नेपालका लागि पहिलो अमेरिकी मिनिस्टर तोकिए।
केशरशमशेर लन्डन दूतावासको टिमसहित ओहदाको प्रमाणपत्र पेस गर्न फेब्रुअरी दोस्रो साता अमेरिका पुगे। अमेरिकामा नेपालले आफ्नो कुनै पनि कार्यालय स्थापना भएको थिएन। नेपाल मामिला लन्डनस्थित कार्यालयबाटै हेर्ने गरिन्थ्यो। उनीहरू वासिङ्टनको वार्डेन पार्क होटेलमा बसेका थिए। १५ फेब्रुअरीमा नवनियुक्त राजदूत केशरशमशेरले तत्कालीन अमेरिकी विदेशमन्त्री जनरल मार्सलसँग भेटवार्ता गरेका थिए। अमेरिकी सहायक विदेशमन्त्री आर्मोरले नवनियुक्त राजदूत केशरको स्वागतमा ब्लेर हाउसमा दिवाभोज आयोजना गरेर अन्य कूटनीतिक नियोगका अधिकारीबीचमा परिचय गराए। (इभिनिङ स्टार १७-फेब्रुअरी-१९४८)
हामी दुवै राष्ट्रले सिमानाबाहिर गएर मानवीय स्वतन्त्रताको मोर्चाको रक्षाका निमित्त कठिनभन्दा कठिन युद्ध मिलेर गर्यौँ र दुवै थरीले मित्रताको परिचय पनि प्राप्त गर्न सक्यौं।
१९ फेब्रुअरीमा बिहान ११:१५ मा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउस पुगेर केशरशमशेरले अमेरिकाका लागि पहिलो नेपाली मिनिस्टरका रुपमा राष्ट्रपति ट्रुम्यानसमक्ष ओहदाको प्रमाणपत्र बुझाए। उनले प्रमाणपत्र बुझाउँदा गरेको सम्बोधनको सार यस्तो थियो-
‘एटलान्टिक महासागरद्वारा छुट्याइएको दुई मुलुकको एकै मानिसले आफ्नो मुलुकको प्रतिनिधित्व गर्ने प्रयास गरेको देखेर आश्चर्य लाग्ने कुरो हो, तर नेपालले भने एउटै महान् एङ्लो सेक्सन वंशजका अमेरिका तथा ब्रिटेनवासी भइदिएको हुनाले दुवै मुलुकलाई विशेष गरेर एउटै र उही सम्झेको छ। राजनीतिक मामिला परिआएका खण्डमा बेलायत र अमेरिकाको काम स्वयं आएर वा गएर चलाउने प्रक्रिया मिलाएको छु। सन् १९३९ मा म यहाँ आएको हुँ र उसबखत मैले लिंकन स्मारक हेर्ने मौका पाएको थिएँ। त्यहाँका भित्तामा यी शब्द अंकित थिए–’स्वतन्त्रता यस पृथ्वीबाट कहिल्यै पनि नष्ट हुन सक्दैन।’ त्यही शब्दको अनुकरण गरेर नै राष्ट्रप्रति रुजबेल्टले उहाँको चाहनाभन्दा बढी सफलता पाउने चेष्टा गर्नुभो र अहिले दुनियाँलाई कृतज्ञताको बोझले नुहाइदिनुभो। अमेरिकीहरू कुरामात्र गर्ने होइनन् कि त्यसभन्दा बढी नै गरेर देखाउन सक्छन् भन्ने कुराको उदाहरण उहाँले दुनियाँका सामुन्ने छाडेर जानुभो।
बढी खर्चको वास्ता नराखी वास्तविक स्थितिको सच्चा ज्ञान गराउने उद्देश्यले नै संसारको कल्याणको निमित्त यो सांसारिक चेतनाको प्रगतिका साथसाथ जान भनी राजदूतहरू नियुक्त हुनुभएको हो भन्ने मलाई लागेको छ। हामी दुवै राष्ट्रले सिमानाबाहिर गएर मानवीय स्वतन्त्रताको मोर्चाको रक्षाका निमित्त कठिनभन्दा कठिन युद्ध मिलेर गर्यौँ र दुवै थरीले मित्रताको परिचय पनि प्राप्त गर्न सक्यौं। सोही सद्भावना तथा मानसिक सामञ्जस्यलाई दुवै मुलुकमा उत्तरोत्तर बढाउने नै मेरो आन्तरिक अभिलाषा र प्रयत्न हुनेछ।’ (गोरखापत्र, १ मार्च १९४८)
नेपालमा भने सन् १९४८ को मे ०३ मा भारतका लागि अमेरिकी राजदूत हेनरी एफ ग्रेडीले काठमाडौँमा तत्कालीन राजा त्रिभुवनसमक्ष नेपालका लागि पहिलो मिनिस्टर तहका राजदूतका रूपमा ओहदाको प्रमाणपत्र बुझाए। (दी इन्डियन एक्सप्रेस, ०६ मे १०४८)