मुकुल ढकालको प्रतिवेदन : सभापति लामिछानेले जीबी राईबारे बोलेर बिगारे, अब केके भाइरल बनाउँछन्

हिमाल प्रेस २० असार २०८१ १७:२६
66
SHARES
मुकुल ढकालको प्रतिवेदन : सभापति लामिछानेले जीबी राईबारे बोलेर बिगारे, अब केके भाइरल बनाउँछन्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले तयार पारेको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक गरिएको छ। बुधबार केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन कार्यवाहक प्रवक्ता मनीष झाले बिहीबार सार्वजनिक गरेका हुन्। प्रतिवेदन ३२ पृष्ठ लामो छ। हाल भने ढकाल निलम्बित छन्।

बुधबारको बैठकमा डा. ढकालले उक्त प्रतिवेदन प्रस्तुत गर्न खोजेका थिए। तर, सभापति रवि लामिछानेसहितले प्रतिवेदन प्रस्तुत गर्न रोक लगाएका थिए। त्यसपछि उनी मुखमा मास्कमाथि कालो टेप टाँसेर बैठकमा बसेका थिए। ढकालको प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेका थिए।

ढकालले जीबी राईका सन्दर्भमा सभापति रवि लामिछानेले बोलेका विषय पार्टीका लागि सबैभन्दा ठूलो चुनौती भएको उनको प्रतिवेदनमा उल्लेख गरेका छन्। ‘तयारी र गुदीबिना आश्वासनका पुलिन्दा मात्र बाँड्दा तत्कालीन ताली त पाइयो होला, तर यसले पार्टीलाई क्षति मात्र गर्‍यो। आउने चुनावसम्म पार्टीका नेताको बोलीका ‘क्लिप’हरू जताततै बजाइने हुँदा त्यसले पार्ने असरको बारेमा अहिलेबाट सजग हुनपर्छ,’ उनको प्रतिवेदनमा भनेका छन्, ‘बोल्नका लागि मात्र बोल्ने प्रवृत्तिले पार्टीलाई हानिबाहेक केही पनि गरेन।’

उनले जवाफ दिने ठाउँमा पुग्दा हिजोका आफ्नै प्रश्नहरू आज पार्टीलाई भारी भएको उल्लेख गरेका छन्। उनले केन्द्रीय नेतृत्व बढी सुविधा भोगी भएको उल्लेख गरेका छन्। उनले केन्द्रबाट बाहिर निस्किँदा केन्द्रीय नेताहरू जसले गाडी चढाउन सक्छ उसैसँग मात्र हिँड्ने र ठूला होटेलमा जसले बसाउन सक्छ, उसैकोमा मात्र बस्ने जस्ता सुविधाभोगी देखिएको लेखेका छन्।

‘पार्टी एलिटहरूको मात्र हो कि जस्तो आभास हुन थालेको छ। आमजनता नेताहरूबाट टाढा हुँदै गएको र धनी वा दलालहरूले नेताहरूलाई घेर्दै गएको विषय उठान भएको छ। पार्टीका नेतालाई प्लेनको टिकट तिरेर पार्टीको कामका लागि बोलाउनु पर्‍यो भने हामी आफैँबाट सुधार गर्दै संवाद, सञ्चार, समन्वय र सम्पर्क बढाइ चेन अफ कमान्डअनुसार अघि बढी यो समस्यालाई समाधान गर्न सकिन्छ,’ प्रतिवेदनमा लेखेका छन्।

उनले काम नगर्ने तर, अनावश्यक अभिव्यक्तिले पार्टीलाई क्षति भएको पनि प्रतिवेदनमा लेखेका छन्। गर्न सकिने नसकिने काम मूल्यांकन नै नगरी नेताहरूले बोल्ने गरेको उनले लेखेका छन्। ‘स्थानीय कार्यक्रममा पनि स्थानीय नेतासँग स्थानीयका समस्या के छन् भनेर सामान्य सोधपुछ समेत नगरी बोल्दा, हाम्रा नेता के कति तयारीका साथ बोल्दा रहेछन्, अनुमान लगाउन सकिन्छ भनेर गुनासोहरू प्राप्त भए,’ उनले लेखेका छन्।

निलम्बित महामन्त्री ढकालले जनताले पार्र्टीका नेताहरूलाई विश्वास नै गरे पनि उनीहरूले नै बोलेका कुरा कति पूरा हुन्छन् भन्ने प्रश्न गरेका छन्। ‘जनताले हेरिरहेका छन् र जनमूल्यांकनमा हामी असफल भएका छौँ। पार्टीका केन्द्रीय नेताहरू, विशेषतः सभापतिले बोलीमा लगाम लगाउनु पर्ने र काम भइसकेपछि मात्र बाल्ने बानी विकास गर्नुपर्ने सुझावहरू प्राप्त भएका छन्,’ उनले लेखेका छन्।

उनले नेताहरू पार्टीको नीतिविपरीत एनजीओ तथा आईएनजीओको कार्यक्रममा बढी सहभागी हुने गरेको पनि प्रतिवेदनमा लेखेका छन्।

यस्तो छ पूर्ण प्रतिवेदन

प्रकाशित: २० असार २०८१ १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =