एकीकृत समाजवादी : अध्यक्षमा नेपाल र भुसालको टक्कर, ‘सहमतिको अधिकतम’ प्रयास

हिमाल प्रेस २० असार २०८१ ७:२२
28
SHARES
एकीकृत समाजवादी : अध्यक्षमा नेपाल र भुसालको टक्कर, ‘सहमतिको अधिकतम’ प्रयास

काठमाडौँ। एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन आज (बिहीबार)बाट सुरु हुँदैछ। विशेषतः अहिले यसको अध्यक्षलाई बढी चासोका साथ हेरिएको छ। अध्यक्षमा निवर्तमान अध्यक्ष नेपाल र निवर्तमान महासचिव भुसाल भिड्दैछन्।  उनीहरूबीच सहमतिको अधिकतम प्रयास गरिने समाजवादीले बताएको छ। ‘सहमति गर्नुपर्छ भन्ने हो। नेताहरू छलफलमा हुनुहुन्छ,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने। अध्यक्षका अर्का दाबेदार झलनाथ खनाल भने पछि हटेका छन्। उनले भुसाललाई समर्थन गरेका छन्।

राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो । महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको हो।

महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन् । केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ।

दस्ताबेजमाथि समूहको निष्कर्ष प्रस्तुत गर्दै समूह नेताहरूले पनि सहमतिमा नेतृत्व चयन गर्न सुझाव दिएका छन्। समूह नेताहरूले अध्यक्ष र महासचिवसहितको पदमा सर्वसम्मत गरेर सम्मानित नेतालाई थप अधिकार दिन सुझाव दिएका छन्।

दस्ताबेजमाथि छलफल गर्न १२ वटा समूह बनाइएको थियो । समूह नेताहरूले नीतिका साथै नेतृत्वको विषयमा पनि सुझाव दिएको प्रचार विभाग सचिव प्रकाश खतिवडाले बताए ।

प्रत्येक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेशअन्तर्गतका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् । पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् ।

भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्ने भएको छ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्ने भएको छ ।

सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसपछि कोशी र मधेशबाट २१–२१ जना केन्द्रीय सदस्य बन्नेछन् । कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन् । यस्तै, सम्पर्क प्रदेशबाट आठ, पेसागतबाट ६, भारत र अन्य प्रदेशबाट एक–एकजना केन्द्रीय सदस्य बन्नेछन् ।

प्रकाशित: २० असार २०८१ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 8 =