आठ मुलुकमा राजदूत सिफारिस : पूर्वकर्मचारी र एनजीओकर्मी चयन

हिमाल प्रेस ७ असार २०८१ २१:४६
446
SHARES
आठ मुलुकमा राजदूत सिफारिस : पूर्वकर्मचारी र एनजीओकर्मी चयन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले फिर्ता बोलाएको भारत, अमेरिका, बेलायतसहित ८ मुलुकमा राजदूत सिफारिस गरेको छ। दुई साताअघि ११ मुलुकबाट राजदूत फिर्ता गर्ने निर्णय लिएको सरकारले ८ मुलुकमा राजदूत सिफारिस गरेको हो। सत्ता घटक रास्वपाले नाम नदिँदा तीन स्थानमा राजदूत चयन हुन बाँकी रहेकाे पनि जानकारी दिइएको छ।

भारतमा विवादित पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई पठाउने निर्णय भएको छ। उनी सचिव र मुख्य सचिव हुँदा विवादित मात्र होइन, आज्ञाकारी कर्मचारीका रूपमा परिचित थिए।  कूटनीतिमा खासै दख्खल नभएका र अंग्रेजीमा अब्बलता नरहेका कारण पहिलो पटक राजदूत सिफारिस हुँदा परराष्ट्र अध्ययन प्रतिष्ठानले राजदूतलाई दिने प्रशिक्षणसमेत उनले लिएका थिएनन्। यद्यपि त्यो समयमा उनी बेलायतको राजदूत भएका थिए। केपी ओलीको सरकार ढलेपछि फिर्ता भएका कारण उनलाई वर्तमान सरकारले पुनः राजदूतको रूपमा भारत पठाउन लागेको हो।

एमाले वृत्तमा भने भारतमा पूर्व परराष्ट्रमन्त्रीलाई नै पठाउने भन्ने थियो। पछि पूर्व मुख्यसचिवमा सहमति जुटेको देखिन्छ। रेग्मी एमालेको कोटाबाट राजदूत सिफारिस भएका हुन्।

अमेरिकामा भने मुख्य सचिव हुन नपाएका तर सचिवका रूपमा अब्बल व्यक्ति चन्द्र घिमिरे  सिफारिस भएका छन्। घिमिरे कोलकत्तामा माहावाणिज्य दूत रहँदा पनि राम्रै काम गरेका व्यक्तिका रूपमा चिनिन्छन्। उनी मुख्य सचिवको लाइनमा हुँदा लोकदर्शनलाई केही दिनअघि नै बिदा गरेर तत्कालीन परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव बनाइएको थियो।

बैरागी मुख्य सचिव हुने भन्दै न्युयोर्कको स्थायी प्रतिनिधिसमेत नभएर बसेका थिए। त्यो समयमा घिमिरेलाई कुनै पद पनि दिइएको थिएन। उनलाई अन्याय भएको कर्मचारी वृत्तमा निकै चर्चा थियो। सायद अहिले उनलाई एमालेले न्याय गरेको हुनुपर्छ।

गैरसरकारी संस्थामा आबद्ध भएर नै राज्य सत्तामा पहुँच राखेका सुशील प्याकुरेल दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएका छन्। उनी यसअघि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार थिए। त्यो बेलामा पनि उनको शैक्षिक योग्यतामाथि प्रश्न उठेको थियो। राजदूत हुन पनि शैक्षिक योग्यता तोकिएको छ।

डेनमार्कका लागि राजदूत सिफारिस भएकी सुम्निमा तुलाधर पद्मरत्न तुलाधरको छोरी भएकी कारण राजदूत बनाइएको अर्थ लगाइएको छ। यद्यपि उनी महिला तथा बालअधिकारको क्षेत्रमा लामो समयदेखि काम गरेकी व्यक्ति हुन्।

मलेसियाका लागि डा. नेत्रप्रसाद तिमल्सिना राजदूतमा सिफारिस भएका छन्। उनी पनि गैरसरकारी संस्थामा विज्ञको रूपमा कार्यरत व्यक्ति हुन्। पूर्वराजदूत डा. अर्जुन कार्कीहरूसँग सहकार्य गर्दै आएका तिमल्सिना पनि एमालेको कोटाबाट सिफारिस भएका हुन्। तिमिल्सिना गैरसरकारी संस्थाको महासंघका पूर्वअध्यक्ष हुन् ।

सुशील कोइराला प्रधानमन्त्री रहँदा अवैतनिक सल्लाहकार भएर काम गरेका डा. विजन पन्त बेलायतका लागि राजदूत सिफारिस भएका छन्। उनी अर्थविज्ञ हुन् भने उनले बेलायतमा रहेर पनि दक्षिण एसियाको गरिवी निवारणसम्बन्धी काम गर्दै आएका छन्। उनी अधिक समय बेलायत रहे पनि श्रीलंकालाई हब बनाएर यस क्षेत्रमा गरिवी निवारण र विकासको काम गरिरहेका छन्। पुर्ख्यौली घर गोरखाका भएका उनी परिवारसहित बेलायत बस्दै आएका थिए। लामो समय बेलायतमा रहेको र त्यहाँको माहोल पनि बुझेकाले उनलाई बेलायतकै राजदूतमा चयन गरिएको तर्क एक मन्त्रीको छ।

साउदी अरेबियाका लागि अबुसुफ्यान खान मुसलमान र स्पेनका लागि पुष्पराज राजकर्णिकार राजदूतमा सिफारिस भएका छन्। उनीहरू पनि कूटनीतिक क्षेत्रबाट व्यक्ति होइनन् तर कसरी राजदूतका रूपमा काम गर्लान् त्यो हेर्न बाँकी छ। मुसलमान जसपाका बाँकेका नेता पनि हुन्। राजकर्णिकार योजना आयोका सदस्य भएका व्यक्ति हुन्। राजदूतमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ हुनुपर्छ। अनि सम्बन्धित मुलुकको एग्रिमा (सहमति) आएपछि नियुक्ति हुनेछ। सरकारले चयन गरेका एक दुई व्यक्ति बाहेक अधिकांश व्यक्ति विवादित छन्।

प्रकाशित: ७ असार २०८१ २१:४६

प्रतिक्रिया

One thought on “आठ मुलुकमा राजदूत सिफारिस : पूर्वकर्मचारी र एनजीओकर्मी चयन

  1. प्रचण्ड एमाले गठवन्धन छाडेर नेपाली कांग्रेससँग जाँदैछन् । प्रस्तावित राजदुतहरुकाे प्रक्रियागत नियुक्ति पुर्व नै सरकारका पार्टनर परिवर्तन हुँदैछन् । अनि हाल सिफारिस राजदुतहरुकाे नियुक्ति प्रक्रिया नै हल्ट हुनेछ र नेपाली कांग्रेसले फेरि सिफारिश गर्नेछ आफ्ना मानिसका नामहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =