कोरियाका नेपाली कामदारमा मानसिक समस्या, दुई महिनामा फर्किए ९ जना

रमेश भारती ७ असार २०८१ १९:३५
112
SHARES
कोरियाका नेपाली कामदारमा मानसिक समस्या, दुई महिनामा फर्किए ९ जना

काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत चार वर्षअघि दक्षिण कोरिया पुगेका झापाका एक जना युवक मानसिक समस्या देखिएपछि स्वदेश फर्किएका छन्। उनी कोरियाको ख्वागंजु नजिकै बंगुर फार्ममा कार्यरत थिए। ती युवक दुई महिनायता मानसिक रोगका कारण समस्यामा परेपछि उपचारका लागि परिवारले स्वदेश फर्काएको हो।

मानसिक समस्या देखिएपछि ती युवकलाई उनी कार्यरत कम्पनीले उपचारसमेत गराएको थियो। दुई महिना उपचार गरे पनि मानसिक अवस्थामा सुधार नआएपछि नेपाल ल्याउनुपरेको परिवारका सदस्यले बताए।

ती युवक बंगुरको मासु काट्ने काममा थिए। काठमाडौँको एक अस्पतालमा उपचार गराइरहेका उनी बंगुरको मासु काटेको जसरी हात चलाइरहन्छन्। उनी राम्रोसँग बोल्दैनन्।

झापाका ती युवाजस्तै, तीन महिनाअघि मानसिक समस्या देखिएपछि परिवारको अनुरोधमा ओखलढुंगाका एक युवकलाई कम्पनीले नेपाल पठायो। उनी कोरियाको छनान गाउँको कृषि फार्ममा कार्यरत थिए। उनको मानसिक समस्यामा सुधार नआएपछि परिवारले नेपाल ल्याएर उपचार गरिरहेको छ।

कोरियाबाट चार महिनामा मानसिक समस्याका कारण दुई महिलासहित ९ जना नेपाली स्वदेश फर्किएको कोरियास्थित नेपाली दूतावासले जनाएको छ। राजदूत ज्योति प्याकुरेल भण्डारीका अनुसार कोरिया ईपीएसमार्फत आएका नेपाली कामदारमा मानसिक समस्या देखिने गरेको छ।

उनले भनिन्, ‘यस्तो समस्या देखिएका कामदारलाई कतिपय रोजगारदाता कम्पनीले उपचार र मानसिक परामर्श दिने गरेका छन्।’ कोरिया रोजगारीका लागि आएका नेपालीहरूमा देखिने मानसिक समस्या समाधानका लागि रोजगारदाता कम्पनीसँग दूतावासले छलफल गर्दै आएको उनले जानकारी दिइन्। दूतावासले समेत कोरियामा कार्यरत नेपालीलाई मानसिक समस्या रोकथामका लागि अभियान चलाउँदै आएको छ।

कोरियाबाट मानसिक रोगका कारण वार्षिक ८० जनाभन्दा बढी नेपाली स्वदेश फर्किने गरेको वैदेशिक रोजगार बोर्डको अनुमान छ। बोर्डका अनुसार कोरियाबाट मानसिक समस्याका कारण स्वदेश फर्किएका थोरै कामदार मात्र सम्पर्कमा आउने गरेका छन्।

वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालका अनुसार सरकारले वैदेशिक रोजगारीका क्रममा हुने मानसिक समस्या रोकथामका लागि प्रयास गरिरहेको छ। वैदेशिक रोजगारीमा जाँदा अथवा रोजगारदाता कम्पनीमा कार्यरत कामदारका लागि पनि मनोपरामर्श कार्यक्रम सञ्चालन गरिँदै आएको उनले जानकारी दिए।

सुरक्षित आप्रवासन परियोजना सामीकी मनोसामाजिक परामर्शकर्ता रोनी प्रधानका अनुसार वैदेशिक रोजगारीका कारण परिवारमा तनाव बढ्नु, त्यहाँबाट आएको पैसा कसरी प्रयोग गर्ने भन्ने विषयमा परिवारमा द्वन्द्व बढ्नु, विदेशमा श्रीमान् काम गरिरहँदा श्रीमतीले पैसाको गलत प्रयोग गर्नु वा पर पुरुषसँग लाग्यो भनेर गलत आरोप लाग्नु, श्रीमती वैदेशिक रोजगारीमा हुँदा श्रीमानले नेपालमा दोस्रो विवाह गर्नुजस्ता नकारात्मक असर मानसिक समस्याको मुख्य कारण हो।

‘वैदेशिक रोजगारीका सकारात्मक र अर्को नकारात्मक पक्ष छन्। धेरै नेपालीहरूको घरपरिवारको आर्थिक स्रोत पनि यही बनेको छ। वैदेशिक रोजगारी धेरै परिवारको मुख्य आयस्रोत बनेको छ। यो सकारात्मक पक्ष हो,’ उनले भनिन्, ‘वैदेशिक रोजगारीका कारण सामाजिक मूल्य चुकाउनुपरेको, विदेशमा मृत्यु, अंगभंग भएर फर्किनु र विदेशबाट रोग लिएर धेरै नेपाली फर्किनु नकारात्मक पक्ष हो। यसका कारण कामदारका परिवार समेत मानसिक समस्या देखिएको छ।’

आप्रवासी कामदारहरूको हितमा काम गर्दै आएको दक्षिण कोरियाली संस्था फ्रेन्ड्स अफ होप-वी फ्रेन्ड्सले  सन् २०२३ मा गरेको एक अध्ययनमा कोरियामा कार्यरत नेपालीमध्ये ३३.४ प्रतिशत गम्भीर र २०.६ प्रतिशत सुस्त मानसिक रोगको सिकार बन्ने गरेका छन्। १५ प्रतिशत मानसिक रोग देखिएका व्यक्तिले समस्याका बारेमा नखुलाउने गरेको फ्रेन्ड्सको अध्ययन प्रतिवेदनमा भनिएको छ। फ्रेन्ड्सले कोरियामा कार्यरत कामदारको मानसिक रोग र परामर्शको काम गर्दै आएको छ।

अध्ययनमा नेपालबाट कोरिया जानेहरू धेरैजसो पढेलेखेका हुने गरेको उल्लेख छ। उनीहरूको चाहना र कामबीच तारतम्य नमिल्दासमेत डिप्रेसनको सिकार बन्ने गरेका छन्। अध्ययनमा उल्लेख छ, ‘कामको ज्ञान नहुनु, ज्याला घट्नु, रोजगार नै गुमाउनु, परिवारबाट टाढा रहनु, भाषा र संस्कृतिसँग घुलमिल नहुनु, गाह्रो काम र रोजगारीका बारेमा ज्ञान नहुँदा नेपाली कामदार कोरियामा मानसिक रोगको सिकार बनेका छन्।’

कोरियाको ई-सेभन भिसा पाएका नेपाली कामदारले परिवारका अन्य सदस्य लैजान पाउने व्यवस्था छ। कोरियन नेपाली संघका अध्यक्ष रमण पौडेल परिवारसँग भएका कतिपय नेपाली मानसिक रोगको सिकार बन्ने गरेको बताउँछन्। उनका अनुसारका कोरियामा कामकै कारणले पनि धेरै नेपालीमा मानसिक समस्या देखिन्छ।

पछिल्लो समय महिला कामदार पनि कोरिया जाने क्रम बढेको छ। कतिपय कोरिया आएका महिला-पुरुषबीच प्रेम सम्बन्ध बिग्रिँदासमेत मानसिक समस्या सिर्जना हुने गरेको उनले बताए। ‘मानसिक समस्या देखिएका नेपाली कामदारलाई कोरिया सरकारले सामान्य उपचार गरेर नेपाल पठाउने गरेको छ। वार्षिक डेढ सय नेपाली कोरियाबाट मानसिक रोगकै कारण स्वदेश फर्किने गरेका छन्’, उनले भने।

हाल कोरियामा १ लाख ३० हजार नेपाली कार्यरत छन्। ईपीएस प्रणालीमार्फत सन् २००८ यता एक लाख ६० हजारभन्दा बढी नेपाली कोरिया पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 13 =