पोखरा र भैरहवा विमानस्थल सञ्चालनको खाका बनाउन प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस ७ असार २०८१ १८:१९
18
SHARES
पोखरा र भैरहवा विमानस्थल सञ्चालनको खाका बनाउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डु, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायत। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार दिउँसो भएको छलफलमा प्रधानमन्त्रीले २ वटै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे छलफल गरेका हुन्।

छलफलमा प्रधानमन्त्रीले २ वटै विमानस्थल राष्ट्रिय गौरवका आयोजना र देशका लागि रणनीतिक महत्त्वका परियोजना भएकोमा जोड दिँदै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारका सम्पूर्ण निकायले समन्वयकारी रूपमा समाधान खोज्नुपर्ने बताएका थिए।

उनले भने, ‘‘पोखरा र भैरहवा एयरपोर्ट राष्ट्रिय गौरवका परियोजना हुन्। यी परियोजना निर्माणमा राज्यको ठूलो लगानी पनि भइसकेको छ। निजी क्षेत्रले समेत पर्यटन पूर्वाधारमा लगानी गरिसकेको छ। यस्तो परिस्थितिमा यी विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्नुको अर्को कुनै विकल्प छैन। पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले गम्भीरतापूर्वक तयारी गर्नुस् र विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालनको ठोस प्रस्ताव छिटै ल्याउनुहोस्।’

छलफलमा प्रधानमन्त्रीले केही सहुलियत दिएर र सरकारी सेवाको विस्तार गरेर विमानस्थल पूर्ण क्षमतामा सञ्चालनको खाका ल्याउन निर्देशन दिए।

उनले भने, ‘काठमाडौँ एयरपोर्टमा एयर ट्राफिकको समस्या छ। यसको उचित समाधान दिनुपर्ने हुन्छ। अर्कोतर्फ काठमाडौँ एयरपोर्टको सुधार र क्षमता बिस्तारको काम पनि हुँदैछ। यही बेला भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्ने गरी आवश्यक तयारी गर्नुपर्छ। वैदेशिक रोजगारीमा जाने नेपाली यात्रुहरू र अन्य यात्रुहरूलाई भैरहवा र पोखराबाटै उडान गराउने गरी तयारी गर्नुपर्छ । त्यसका लागि मेडिकल, श्रम स्वीकृति, अध्यागमन लगायतका सरकारी सेवा पोखरा र भैरहवामा व्यवस्थित गर्नुपर्छ। भिसा सेन्टरका लागि कूटनीतिक पहल गर्नुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले ‘विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि केही सहुलियत दिनुपर्ने बताए। उनले भने, ‘हवाई टिकट, ग्राउन्ड ह्यान्डलिङ, हवाई इन्धनमा केही सहुलियत दिऔँ। निजी क्षेत्रसँग पनि समन्वय गरेर होटल लगायतमा सहुलियत प्याकेजका निम्तिसमेत अनुरोध गरौँ।’

छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आफूहरूले आवश्यक गृहकार्य गरेर विमानस्थलहरू पूर्ण क्षमतामा सञ्चालन गर्ने सम्बन्धी ठोस प्रस्ताव प्रस्तुत गर्ने बताए।

पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले सहुलियतपूर्ण प्याकेजसहितका विकल्पमा छलफल गरेर ठोस प्रस्ताव प्रस्तुत गरिने बताए। दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका निम्ति मन्त्रालयका तर्फबाट विदेशी विमान कम्पनीहरूसँग पनि छलफल भइरहेको जानकारी उनले दिए।

छलफलमा मन्त्री तामाङ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, पर्यटन सचिव डा. पाण्डे, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, श्रम सचिव घनश्याम उपाध्याय, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत थिए।

प्रकाशित: ७ असार २०८१ १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + sixteen =