त्रिवि प्राध्यापक संघको चुनावमा सहभागी हुन ६ वटा प्राध्यापक संघसंगठनको अपिल

हिमाल प्रेस ६ असार २०८१ ११:०३
4
SHARES
त्रिवि प्राध्यापक संघको चुनावमा सहभागी हुन ६ वटा प्राध्यापक संघसंगठनको अपिल घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- विभिन्न ६ वटा प्राध्यापक संघसंगठनले त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको निर्वाचनमा सक्रिय सहभागी भई प्रतिनिधि छनोट गर्न सम्पूर्ण प्रतिनिधि प्राध्यापकलाई अपिल गरेका छन्। प्राध्यापक संघसंगठनका पदाधिकारीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी यस्तो अपिल गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘उच्चशिक्षा विधेयक पुनर्लेखन गर्न तथा ओझेलमा परेका प्राध्यापकका एजेन्डा समाधान गर्न विश्वविद्यालयको साझा संस्था एवम् विश्वविद्यालय र प्राध्यापकको स्रोतका रूपमा रहेको त्रिवि प्राध्यापक संघलाई नयाँ नेतृत्वमार्फत थप सशक्त बनाई क्रियाशील बनाउनु वर्तमान समयको माग हो।’

उनीहरूले समयमै लोकतान्त्रिक विधि र प्रक्रियामा र्फत निर्वाचन होस् र वर्तमान समस्याको समाधान गर्ने नेतृत्व छनोट गर्न सकियोस् भन्ने भावनाका साथ आयोजना गरिएको निर्वाचनमा सक्रिय सहभागी हुन उनीहरूले अपिल गरेका छन्।

संविधानले प्रत्याभूत गरेको विश्वविद्यालयको स्वायत्ततालाई कायम गर्न, विद्यमान पाठ्यक्रमलाई समयसापेक्ष परिमार्जन गरी अधिक रोजगारमुखी तथा बजारमुखी बनाउन आफ्नो जीवनको अमूल्य समय प्राध्यापन गरेका २०६८ सालयता स्थायी भएका प्राध्यापक एवम् कर्मचारीहरूको सुविधाका लागि ऐन संशोधनमार्फत पेन्सनको व्यवस्था गर्न अविलम्ब प्रक्रिया थालनी गरी सोको सुनिश्चितता कायम गर्नु तत्कालको आवश्यकता रहेको विज्ञप्तिमा उल्लेख छ।

‘करार, कोर्स करारका साथै आंशिक रूपमा प्राध्यापन गरिआएका प्राध्यापकहरूको स्थायित्वको कार्य पनि थाती छ’, विज्ञप्तिमा उल्लेख छ। गुणस्तरीय व्यावहारिक शिक्षा र प्राविधिक शिक्षा प्रदान गरी युवालाई रोजगारमुखी बनाउनु पनि आवश्यकता तथा चुनौती दुवै रहेको पनि प्राध्यापकहरूले स्मरण गराएका छन्।

‘विश्वविद्यालयका पदाधिकारीले मनोमानी रूपमा विश्वविद्यालयलाई अनेक वहानामा तदर्थवाद र यथास्थितिमा चलाउन क्रियाशील रहेको अवस्थामा आधिकारिक संस्थाको निर्वाचन अपरिहार्य छ’, विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका अध्यक्ष जगत तिमिल्सिना, नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष वेदराज केसी, एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालका अध्यक्ष गोविन्द सुवेदी, लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष उदयकिशोर तिवारी, राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष जगदीशचन्द्र भण्डारी र समाजवादी प्राध्यापक संघका महासचिव नरेन्द्रकुमार सिंहले हस्ताक्षर गरेका छन्। निर्वाचन यही असार ७ र ८ गतेका लागि तोकिएको छ।

‘विश्वविद्यालयका पदाधिकारी चाहँदैनन् चुनाव’

विश्वविद्यालयको शैक्षिक, भौतिक, आर्थिक पक्ष सुधार गरेर उच्चशिक्षालाई समयानुकूल बनाई सिपमूलक तथा गुणस्तरीय शिक्षाको प्रत्याभूतिमार्फत युवाको विदेश पलायन कम गरी देश बनाउन सकिन्छ भन्ने भावना उत्प्रेरित गर्नुपर्ने धारणा प्राध्यापकहरूले राख्दै आएका छन्।

विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप गरी प्रस्ताव गरिएको उच्चशिक्षा विधेयक २०८० र नेपालको संविधान २०७२ को धारा २४३ मा व्यवस्था गरिएको विश्वविद्यालयको स्वायत्ततालाई पदाधिकारीले उलंघन गरको आरोप ती संघसंगठनको छ। साथै त्रिवि सेवा आयोगको सीमाभित्रको कार्य र अधिकारसम्बन्धी व्यवस्था आफू भित्र राख्न नसकेको निष्कर्ष उनीहरूले निकालेका छन्।

प्राध्यापकहरूको वैचारिक संगठनका एक पदाधिकारीले भने, ‘त्रिविका पदाधिकारीहरू मनोमानी ढंगले विश्वविद्यालय चलाइरहेका छन्। निर्वाचित संस्था आएपछि उनीहरूलाई काम गर्न कठिन हुन्छ। त्यसैले उनीहरूले चुनाव चाहेका छैनन्।’ ती पदाधिकारीले विश्वविद्यालयका पदाधिकारीले चुनाव बिथोल्नका लागि अनेक प्रपञ्च गरिरहेको बताए।

प्रकाशित: ६ असार २०८१ ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 3 =