यसकारण तत्काल मन्त्री बन्न चाहँदैनन् सीके राउत

किरण पौडेल ५ असार २०८१ १८:११
60
SHARES
यसकारण तत्काल मन्त्री बन्न चाहँदैनन् सीके राउत जनमत पार्टीका अध्यक्ष डा. सीके राउत

काठमाडौँ- सत्तारुढ दलले प्रभावशाली मन्त्रालयको प्रस्ताव गरे पनि जनमत पार्टीका अध्यक्ष डा. सीके राउत मन्त्री बन्न अनिच्छुक देखिएका छन्। नेताहरूका अनुसार पार्टीको लोकप्रियता कमजोर हुने भन्दै अध्यक्ष राउतले सरकारमा जान इच्छा नदेखाएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष राउतलाई उपप्रधानमन्त्री बन्न प्रस्ताव गरेको जनमतका नेताहरू बताउँछन्।

यद्यपि पार्टीले यसबारे औपचारिक निर्णय गरेको छैन। राउत आफैँले यसबारे चासो नराखेको पार्टी स्रोतले जनाएको छ। ‘अहिले हामी मधेशको बजेटमा केन्द्रित छौँ,’ जनमतका महासचिव चन्दन सिंह भन्छन्, ‘मन्त्री बन्न प्रस्ताव आइरहन्छ। जाने-नजाने हाम्रो कुरा हो। बजेटपछि सरकारबारे सोच्न सकिन्छ।’

अध्यक्ष राउत आफैँ सहभागी भए पार्टीको लोकप्रियतामा आँच आउने खतरा रहेको जनमतका नेताहरू बताउँछन्। ‘सत्ताकै लागि जन्मेको पार्टी जस्तो होला कि भन्ने लागेको छ,’ जनमत सचिव बीपी साह भन्छन्, ‘तल्लो तहबाट सरकारमा अरूलाई नै पठाएर पार्टी बनाउन लाग्नुपर्ने सुझाव आइरहेका छन्।’

जनमतका तर्फबाट यसअघि पनि दोस्रो स्तरका नेता मन्त्री बनेका थिए। पहिलोपटक उपाध्यक्ष अब्दुल खान र दोस्रोपटक अनितादेवी सरकारमा गएका थिए।

अध्यक्ष राउत सहभागी भएमा लोकप्रियता घट्ने बुझाइ जनमतको छ। राउत सरकारमा सहभागी भए परराष्ट्र मन्त्रालय दिनसमेत ओली-प्रचण्डले आश्वासन दिएका छन्।। ‘घरी परराष्ट्रको प्रस्ताव छ, घरी उद्योग मन्त्रालयको छ’, साह भन्छन्, ‘कुरा बुझ्न सकिएको छैन।’

प्रचण्ड र ओलीले प्रस्ताव गरे पनि राउत सरकारमा तत्कालै सहभागी भइहाल्ने सम्भावना छैन। कुनै पनि मन्त्रालय खाली नभएकाले मन्त्री बन्न हतार गर्न नहुने जनमतका नेताहरू बताउँछन्। सत्तारुढ दल एमाले र प्रधानमन्त्रीकै दल माओवादीभित्र मन्त्री फिर्ता बोलाउने विषयमा एकमत छैन। ‘प्रधानमन्त्री बोलाउनुहुन्छ तर मन्त्रालय चाहिँ खाली छैन,’ साह भन्छन्, ‘कहाँ जाने र खाली नभएपछि?’

मधेश पाएर ढुक्क!

जनमतको पहिलो प्राथमिकता मधेशको नेतृत्व थियो। जनमतलाई साथ लिन प्रचण्डले केन्द्रबाट जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारबाट हटाए। मधेशबाट पनि एमाले, माओवादी र एकीकृत समाजवादी बाहिरिए।

मधेशको नेतृत्व गरिरहेको जसपा अल्पमतमा पर्‍यो र सरकारबाट बाहिरियो। अहिले जनमतकै सतिश सिंह मुख्यमन्त्री छन्। ‘हाम्रो अहिलेको प्राथमिकता मधेश सरकार हो। त्यो पूरा भएको छ,’ सचिव साह भन्छन्, ‘अब हामीले सत्तालाई सदुपयोग गनुपर्छ। सत्तामा पुगेर मात्र हुन्न।’

जनमतले मधेशमा जसपालाई पहिलो प्रतिस्पर्धी ठानेको छ। आमचुनावमा समेत राउत र जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धी थिए। राउतले सप्तरी-२ मा यादवलाई हराएका थिए। जनमत स्रोतका अनुसार मधेशमा मुख्यमन्त्री पाउनुपर्ने सर्तमा प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको थियो। अहिले मुख्यमन्त्री पाएपछि सरकारलाई गतिशील बनाउन लागेको जनमतका नेताहरू बताउँछन्।

‘बैठक यसप्रति केन्द्रित भएको छैन। सरकारमा जाने-नजाने अध्यक्षज्यू (सीके राउत) लाई अधिकार छ’, महासचिव सिंह भन्छन्। जनमतमा अध्यक्ष राउत सरकारमा सहभागी हुने वा अरूलाई पठाउने विषय पनि छलफलमा छ।

प्रकाशित: ५ असार २०८१ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =