पोखरा- पोखरा महानगरको मेयर निर्वाचित एकीकृत-समाजवादीका धनराज आचार्यले चार दशक लामो राजनीतिक यात्रा पूरा गरेका छन्। ५४ वर्षीय आचार्य भूगोलको आधारमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरको गएराति १५ औँ मेयर निर्वाचित भएका हुन्।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार आचार्यले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गरेका हुन्। खसेको कुल मतमध्ये आचार्यले ५८ हजार ८ सय ९३ र थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे।
२०२६ साल चैत १७ मा पोखरा ३३, भरतपोखरीमा जन्मिएका आचार्य पाेखराकाे राजनीतिमा कुशल र स्पष्ट वक्ताको छवि बनाएका छन्। उनी राजनीतिसँगै एवं स्टेसनरी व्यवसायमा पनि संलग्न छन्। एमबीए, एमएडसम्मकाे अध्ययन पूरा गरेका आचार्यले अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए।
२०३९ सालमा अनेरास्ववियुको सदस्यता प्राप्तिसँगै उनले कास्की जिल्लाकाे राजनीतिमा सक्रिय हुन थाले। २०४४ सालमा पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुकाे प्रारम्भिक कमिटीमा आबद्ध रहे । २०४५ सालमा अनेरास्ववियु जिल्ला कमिटी कास्की सदस्य, ४६ सालमा सचिव, ४७ सालमा अध्यक्ष बने। साथै २०४८ सालमा अनेरास्ववियु गण्डकी अञ्चल कमिटी अध्यक्षमा निर्वाचित भएका उनी अर्को वर्ष केन्द्रीय सदस्य चुनिए। साेही संगठनमा २०५० देखि ५४ सालसम्म उनी पश्चिमाञ्चल प्रमुखको जिम्मेवारी निर्वाह गरे। त्यसपछि २०५४ देखि ५८ सम्म केन्द्रीय सचिवालय सदस्य बने।
पृथ्वीनारायण क्याम्पसमा २०४९ देखि ०५१ सम्म स्ववियु कोषाध्यक्ष र २०५१ देखि ०५३ सम्म सभापति पनि बनेका थिए, आचार्य। सभापतिको भूमिकामा रहँदा उनी स्ववियु काउन्सिल महासचिव थिए।
१५ वर्षको उमेरमै उनी नेकपा माले युवा लिगमा संगठित रहे। २०४४ मा नेकपा माले पार्टी सक्रिय दलमा आबद्ध बने। सोही वर्ष नेकपा माले उम्मेदवार पार्टी सदस्य, नेकपा माले विधार्थी इलाका कमिटी जेल विभाग, २०४५ सालमा राष्ट्रिय पञ्चायतका सदस्य रही प्रत्याह्वान विरुद्ध आन्दोलनका क्रममा घाइते र गिरफ्तार गरिए ।
२०४७ सालमा नेकपा माले संगठित सदस्यता प्राप्त गरेका आचार्य २०४६ देखि ०५१ सम्म पार्टी विद्यार्थी इलाका कमिटी सदस्यसचिव, ०५२ मा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य, ०५४ मा नेकपा माले कास्की जिल्ला कमिटी सचिवालय सदस्य चुनिए।
२०६० सालमा नेकपा एमाले कास्की उद्योग व्यवसाय विभाग प्रमुख बनेका आचार्य २०६४ देखि ०६९ सम्म फ्रयाक्सन सचिवको जिम्मेवारी पाए।
२०६९ देखि ०७४ सम्म नेपाल राष्ट्रिय वाणिज्य संघ अध्यक्ष, २०७१ देखि ०७६ सम्म नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य, २०७१ देखि ०७५ सम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य, २०७५ देखि ०७८ सम्म नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य बने। २०७८ मा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष समानान्तर कमिटीमा रहे।
एमाले फुटेपछि उनले नेकपा एकीकृत-समाजवादी कास्की जिल्ला कमिटीको अध्यक्ष बनेका थिए। सँगसँगै उनी केन्द्रीय सदस्य पनि रहे। २०४० सालदेखि हालसम्मका सम्पूर्ण आन्दोलन, निर्वाचन तथा महत्वपूर्ण कार्यका सक्रिय रहँदै आए।
उनको व्यावसायिक संलग्नता पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री, उद्योग, स्कुल, कलेज संचालन, रसायनिक मल उद्योग, हाइड्रो, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटी लगायत २ दर्जन प्रतिष्ठानमा छ। सन् २०१७/१८ मा उनी लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर बनेका थिए। स्वर्गिय रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका महासचिव उनी लायन्समा पढाऔं अभियान नेपालका सूत्रधार हुन्।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघमा महासचिव हुँदै अध्यक्ष बनेका उनी पोखरा उद्योग वाणिज्य संघमा कार्यकारिणी सदस्य थिए। पोखरा महानगरपालिकामा २०७५ सालमा उनी शिक्षा विज्ञ, उच्चस्तरीय पुस्तक नीति मस्यौदा समिति-२०५८ मा सदस्य विज्ञ थिए।
राजनीतिमा कम र व्यवसायमा बढी लागेका आचार्यले ठूलो आर्थिक फड्को मारेका छन्। स्टेसनरी पसलबाट उनले आफ्नो उद्यम सुरु गरेका आचार्य उद्योग–व्यवसायमा सक्रिय रहेकै बेला एमालेनिकट व्यावसायिक संघसंस्थामा सधैं क्रियाशील भने रहिरहे।