पोखरा- पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन्। तीन हजार मतगणना हुँदा मेयरका लागि सत्ता गठबन्धनतर्फका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत ल्याएका छन्। दुवै बीच कडा प्रतिस्पर्धा हुँदा एकआपसमा पछ्याउने गरेका छन्। यसैगरी राप्रपाका शंकर खरालले १ सय ८४ प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ६५ मत पाएका छन्।
उपमेयरमा यसअघि एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकोमा उनलाई सत्ता गठबन्धनबाट कांग्रेसकै उम्मेदवार कोपिला रानाभाटले उछिनेकी छन्।
कोपिलाले ३ हजार मतगणनामा १ हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार १ सय ६५ मत प्राप्त गरिन्। मेयर र उपमेयर दुवैमा गठबन्धन ८१ मतले अघि छन्। उपमेयरमा राप्रपाकी उम्मेदवार रञ्जना सेनले १ सय ६५ मत प्राप्त गरिन्।
पोखरा महानगरका कुल ३३ वटा वडामध्ये वडा नम्बर १, २, १२, २३ र २४ को मात्र मतगणना भइरहेको छ। वडा २५ को गणना सुरु हुन लागेको छ।
सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समिति (जिसस) को भवनमा मतगणना भइरहेको छ। पोखरामा शनिबार दिउँसो करिब ४ बजेदेखिमात्र मतगणना सुरु भएको हो।