पोखरा- सत्तासाझेदार पाँचदलीय गठबन्धनका शीर्षनेताले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनको जीत आवश्यक भएको बताएका छन्। उनीहरुले एउटै मञ्चबाट मतदातालाई सम्बोधन गर्दै भनेका छन्, ‘देशमा विभिन्न परिवर्तन भए, ती सबै गठबन्धनकै एकतामा सफल भएको हुँदा अहिलेको चुनावमा पनि गठबन्धनका उम्मेदवारलाई जिताउनोस्।’
उनीहरुले केपी शर्मा ओलीले दुईपटकसम्म संसद विघटन गरेर संविधान र लोकतन्त्र मास्न खोजेका कारण नै अहिलेको गठबन्धन बनेको र ३ तहको चुनावसम्म यो एकता कायम राख्न आह्वान गरे। आसन्न स्थानीय तह चुनाव सन्दर्भमा आज पोखराको अमरसिंहचौरमा आयोजित चुनावी सभामा बोल्दै नेपाली काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताए।
उनले मुलुकको स्थायित्व र स्थिरता आवश्यक भएकोले एक भएर गठबन्धनका उम्मेदवारलाई जिताउन सबैलाई आह्वान गरे।
केपी शर्मा ओलीको आतंकी शासनका कारण यो गठबन्धन जन्मिएको भन्दै देउवाले इमानदारितापूर्वक मतदान गर्न आग्रह गरे। उनले भने, ‘संसदमा विरोध गरेमा ओलीले भंग गरिदिइहाल्ने प्रवृत्तिको विरोधमा यो गठबन्धन हो। प्रजातन्त्रको खिलाप र गणतन्त्रको विरोधमा लाग्नेहरुविरुद्ध गठबन्धन आवश्यक छ। त्यसैले गठबन्धन बचाउन पनि सबै पार्टी मिलेर पोखराको मेयर, उपमेयर सबै पालिकामा गठबन्धनका उम्मेदवार जिताउनुहोस्।’
उनले आप्mना कार्यकर्तालाई सम्झाउँदै भने, ‘गठबन्धनलाई शंका उपशंका नगर्नोस्, यसअघि काँग्रेस अवस्था के थियो ? देशको प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र मन्त्री बनेका छन्। यो सबै गठबन्धनकै कारण बनेका हुन्।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा फेरि अर्को राजनीति दुर्घटनाको खतरा रहेको भन्दै त्यसको बचाउमा गठबन्धन बनेको दाबी गरे। उनले भने, ‘स्थानीय तहको निर्वाचनमात्र हैन, प्रदेश र संघको चुनावमा पनि गठबन्धन अघि बढ्छ। सबैलाई फाइदा हुने भएकोले दलहरुबीच गठबन्धन बनेको हो।’
उनले विगतमा काँग्रेस एक्लै चुनाव लड्दा काँग्रेसको अवस्था के भएको थियो, त्यो बुझ्नुपर्ने अवस्था आएको पनि बताए। उनले भने, ‘नयाँ युगको सुरुआत पनि अहिलेको गठबन्धनबाटै गर्ने संकल्प लिएका छौं। सर्वसम्मत उम्मेदवार छान्ने कुरा सजिलो थिएन, तर देशको आवश्यकता अनुरुप सफल भयौँ।’
नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकार सफल पार्न भरतपुरको सम्बोधनमा अपील गर्दै गर्दा आप्mनोे भनाइलाई गलत ढंगले अर्थ लगाइएको भनी उनले प्रतिवाद गरे। उनले भने, ‘राजनीतिक दुर्घटनाबाट बचाउन गठबन्धन जन्मिएको हो। विचार र राजनीतिमा एकता। सबैलाई फाइदा। यसरी एकतातिर राजनीतिक मुद्दा मिल्ने, अर्कोतिर फाइदा हुने भएकोले गठबन्धनको महत्व छ।’
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि दलले दम्भ राखे केपी ओलीको हालत हुने दाबी गरे। उनले भने, ‘कहिलेकाही काँग्रेसमा दम्भ हुन्छ। दम्भ राम्रो होइन। त्यही दम्भले केपीको विनास गर्यो। सबैको शक्ति स्वीकार गर्नुपर्छ।’
उनले नेकपा एमालेमा रहेर लामो समय योगदान दिएको स्मरण गर्दै उनले ओलीको प्रवृत्तिले मुलुकमा गणतन्त्र आउन सक्ने थिएन, यो देन हाम्रो हो।’ यो देशमा गणतन्त्र ल्याउनै सकिदैन, असम्भव छ, टाउको फोरेर पनि राजाको शासन ढाल्न सकिदैन भन्नेहरु अहिले गणतन्त्रकै प्रधानमन्त्री बनेको उनको टिप्पणी थियो। ‘दक्षिणपन्थी, प्रगतिगामी गठबन्धनका विरुद्ध यो गठबन्धन बनाएर सही निर्णय लिएका छौं। समाजवादको यात्रामा अघि बढ्ने संकल्प दोहोर्याएका छौं,’ उनले भने, ‘त्यसैले पोखरामा मेयरमा धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाटलाई जिताउनोस्।’
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन ओली प्रवृत्तिविरुद्धको गठबन्धन भएकोले देशैभर गठबन्धन पक्षमा माहोल आएको दाबी गरे। सो अवसरमा पोखराको मेयरका प्रत्यासी धनराज आचार्यले म नभै हामी भन्ने भावनाका साथ पोखराको समृद्धि र विकासको खाका प्रस्तुत गरे। उपमेयर उम्मेदवार रानाभाटले महानगरमा भएको भ्रष्टाचार न्युनीकरण गर्ने र आफूले कहिल्यै पनि भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गरे।