पोखरा- स्थानीय तह निर्वाचन घोषणासँगै पोखराको मेयरमा कोको लड्लान् भन्ने चासो सबैमा थियो। तर दलहरुले आ–आफ्नो उम्मेदवार टुंगो लगाउन नसक्दा मनोनयनको दिनसम्म अन्योल कायम रह्यो।
एमालेमा पनि त्यस्तै भयो। देशकै ठूलो पोखरा महानगरमा मेयर र उपमेयर दुवै हाँकिरहेको एमालेबाट टिकट अन्योल रहेको विषय मनोनयनको दोस्रो दिनसम्म सामाजिक सञ्जालमा छाइरह्यो। अन्ततः पूर्व मेयरको जिम्मेवारी सम्हालिसकेका प्रदेश सांसद कृष्ण थापाले टिकट पाए। उपमेयरमा हालकी मञ्जुदेवी गुरुङ दोहोरिने भएकी छन्।
पार्टी सचिवालयले बैठकले अघिल्लो दिन दीपक पौडेलको नाम टुंग्याएकोमा उनी सुनचोरीको काण्डमा विवादित बनेपछि तुरुन्तै निर्णय सच्चाउँदै सांसद थापाले टिकट पाएका हुन्। यसअघि प्रदेश सांसदलाई टिकट नदिने निर्णय गरे पनि जित सुनिश्चितका लागि बलियो उम्मेदवार थापालाई पार्टीले अघि सारेको राजनीतिक विश्लेषकको बुझाइ छ।
प्रदेश सांसदबाट राजीनामा दिएर उम्मेदवार बनेका थापा
२०४१ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थापाले आफ्नो पूरै जीवन राजनीतिमै बिताएका छन्। २०३५–०३६ सालको विद्यार्थी आन्दोलनबाट उनी राजनीतितर्फ तानिएका थिए। २०३७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो। २०३९ देखि १ वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान, सुर्खेतको स्ववियु सहसचिव बने।
२०४० सालमा अखिल नेपाल चिकित्सा सहायक संघको संस्थापक सचिव भएका उनी ०४१ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियुमा सदस्य निर्वाचित भएका थिए। २०४१ साल २९ भदौमा तत्कालीन नेकपा (माले) बाट कम्युनिस्ट पार्टीको सदस्यता लिए। सोही वर्ष अनेरास्ववियु कास्कीको छैटौँ जिल्ला कमिटीको अधिवेशनबाट जिल्ला कमिटी अध्यक्ष निर्वाचित भए।
२०४३ सालमा जनपक्षीय चुनाव परिचालन कमिटी संयोजक रहेका थापाले तत्कालीन पञ्चायत राजकाज मुद्दामा २०४३ देखि ०४६ सम्म जेलजीवनको अनुभव सँगाले।
जनआन्दोलन २०४६ मा वाममोर्चा गण्डकीको सदस्य भए। २०४६ सालदेखि दुई वर्ष अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बने। २०४९ सालमा एमाले जिल्ला कमिटी कास्कीको सचिवालय सदस्य बनेका उनी २०५२ सालमा नेकपा एमालेको प्रथम नगर अधिवेशनबाट सचिव निर्वाचित भएका थिए। त्यसको दुई वर्षपछि भएको चुनावमा उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर भए।
२०६५ सालमा नेकपा एमाले कास्कीको सचिव भएका थापा २०७० मा नवौं कास्की जिल्ला कमिटीको अधिवेशनबाट अध्यक्ष निर्वाचित भए। २०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष, २०७१ मा राष्ट्रिय ताल समिति सदस्य बनेका उनी २०५५–०७३ सम्म नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्य बने। अघिल्लो प्रदेशसभा निर्वाचनमा कास्की क्षेत्र २ (क) बाट निर्वाचित हुँदा उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गुरुप्रसाद बराललाई ७ हजार ४ मतअन्तरले हराएका थिए। एमालेको १० औं महाधिवेशन अवसरमा मंसिरमा उनले पार्टी अध्यक्षको जिम्मा मनबहादुर गुरुङलाई दिएका थिए।
कृष्णबहादुर थापाको जन्म २०१६ साल चैत १६ गते कास्कीको बाटुलेचौरमा भएको हो। उनले २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर हाँकिसकेका थिए। उनका बुवा खिमबहादुर थापा र आमा सुकमाया गुरुङ थापा हुन्। परिवारमा श्रीमती डिकी छिरिङ थापा र छोरा प्रतीक छन्। शिक्षामा स्नातक उनले चिकित्साशास्त्र विज्ञान संस्थान, सुर्खेतबाट सिएमए गरेका छन्।