पोखरा- आगामी स्थानीय तह चुनावमा पोखराको मेयर तथा उपमेयर पदमा चुनाव लड्न नेपाली कांग्रेसले उम्मेदवार चयनका लागि मनोनयन दर्ता सुरु गरेको छ। पोखराको चिप्लेढुंगास्थित नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आइतबार उम्मेदवारका आकांक्षीहरुको मनोनयन लिन थालिएको हो।
दिउँसो ४ बजेसम्म हुने मनोनयनमा हालसम्म ६ जनाले मेयरमा मनोनयन दर्ता गरिसकेको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार उपमेयरमा हालसम्म ५ जनाले मनोनयन गरिसकेका छन्। मेयरका आकांक्षी धेरै हुने भएपछि कांग्रेस पोखरा नगर समितिले मेयर उम्मेदवार शुल्क पनि २५ हजार रुपैयाँ राखेको छ। साथै उपमेयरका लागि २० हजार रुपैयाँ दररेट तोकिएको छ। यस अलावा फर्म शुल्क दुवै पदमा ५ सय लाग्छ।
पार्टीको केन्द्रीय समितिले आकांक्षीहरुबाट मनोनयन दर्ता गर्दा कुनै पनि शुल्क नलिने सर्कुलर गरे पनि महागर समितिले त्यसको ठाडो उल्लंघन गरेकोमा आपत्ति जनाउँदै कार्यकर्ताले आपत्ति जनाएका छन्। कांग्रेस पोखरा महानगर सचिव गणेश थापाले आकांक्षीका लागि पैसा नलिईकन सहयोगमात्र लिएको दाबी गर्छन्।
महानगरले उम्मेदवार बन्न चाहनेहरुको मनोनयन सूचीबाट ३ जनाको नाम छनोट गरी केन्द्रमा सिफारिस गर्नेछ। मेयरका लागि करिब ३० जना र उपमेयरका लागि १५ जनाले सामाजिक सञ्जालमार्फत उम्मेदवार घोषणा गरिसकेका थिए। केन्द्रले महानगरको उम्मेदवार गठबन्धनबाट कुन दललाई पर्छ भन्ने यकिन नगरेपछि कार्यकर्ताहरुमा भने उत्साह छैन। उनीहरु कांग्रेसले गठबन्धनबाटै टिकट पाउनुपर्ने दाबी गरका छन्।
क-कसले दर्ता गराए मनोनयन?
निर्वाचन समितिका अनुसार मेयरको दौडमा हालसम्म सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, गंगाधर पराजुली, गणेशबहादुर भट्टराईले मनोनयन दिइसकेका छन्।
यस्तै, उपमेयरमा माया बराल कार्की, लक्ष्मी पाण्डे, आनन्दीदेवी राणा कार्की, रंगीला आचार्यले मनोनयन दर्ता गरिसकेको कांग्रेस पोखरा महानगर सचिव गणेश थापाले जानकारी दिए।
यसअघि, नेकपा एमाले पोखरा महानगर कमिटीले मेयरका लागि १२ जना र उपमेयरका लागि ११ जनाको नाम जिल्ला कमिटीमार्फत केन्द्रमा सिफारिस गरिसकेको छ। गत निर्वाचनमा एमाले मेयर र उपमेयर दुवैमा वर्चश्व कायम गरेको थियो। पोखराका कुल ३३ वडामध्ये २२ वडामा एमाले र बाँकी ११ वडामा कांग्रेसको नेतृत्व छ।