पोखरा- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतास समूहलाई आफूले कारबाही गरेको दोहोर्याएका छन्। बुधबार १७ औं फेवा नववर्ष महोत्सव उद्घाटन गर्न पोखरा पुगेका मन्त्री आलेले बतास समूहलाई कारबाही गरिएको कारणबारे बोले। बतास समूहलाई नारायणहिटीमा ६ आना जग्गा दिइएकोमा १४ रोपनी भोगचलन गर्न थालेपछि आफू कारबाही उत्रिएको मन्त्री आलेको भनाइ छ। ‘बतास समूहलाई नारायणहिटीमा ६ आना जग्गा दिइएकोमा १४ रोपनी भोगचलन गर्न थालेपछि मैले सो समूलाई कारबाही गरेको हुँ,’ उनले भने।
पर्यटन बसपार्क सञ्चालनमा ल्याउन निर्देशन
मन्त्री आलेले पोखराको पर्यटन बसपार्क औपचारिक रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिँदै उनले पोखरामा सम्पन्न हुन लागेको एड्भेञ्चर टुरिजम मार्टका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए। पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने विषयलाई आगामी बजेट अघिको नीति तथा कार्यक्रममा समेट्ने पनि उनले बताए।
'रत्न मन्दिर र हिमागृह वैशाखभित्र सञ्चालनमा'
पर्यटनमन्त्री आलेले आगामी ५ महिनाभित्रमा पोखरामा निर्माणधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताए। विमानस्थलको ९३ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको जानकारी गराउँदै उनले विमानस्थल सञ्चालनका लागि अवरोधका रूपमा रहेको रिट्ठेपानीडाँडो काट्ने काम फास्ट ट्रयाकमा अगाडि बढ्ने बताए। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सल्लाह गरेर डाँडो काट्ने काम छिटै अगाडि बढाउने उनले जानकारी दिए।
उनले पोखराको ल्यान्डफिल साइट नयाँ स्थानमा व्यवस्था गर्नसमेत उनले पोखरा महानगरलाई आग्रह गरे। यस्तो काम छिटो गरे विमानस्थल समयमै सञ्चालनमा ल्याउन सहज हुने उनको भनाइ छ। उनले रत्नमन्दिर र हिमागृह नयाँवर्षको वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए। यीक्षेत्र सर्वसाधारणका लागि खोल्न तीव्र माग रहँदै आएको छ।