पोखरा- बुद्धि परियारले फेवातालमा डुंगा खियाउन थालेको २० वर्ष बित्यो। दिनभर डुंगा खियाउने र साँझ घर फर्किंदा ५ सय/हजार कमाइले हातमुख जोनु उनको अहिलेको दैनिकी बनेको छ। उनीजस्तै करिब ३ सय जना मजदुरको फेवाको डुंगाकै भरमा जीवन अडेको छ।
उनीहरूको जीवनको जहाजरुपी डुंगा २ वर्षअघि चुर्लुम्म डुब्यो। विश्वभर महामारी रुपमा फैलिएको कोरोनाका कारण काम पाएनन्। डुंगा लामो समयसम्म फलामे साङ्लोले बाँधिएर यात्रु पर्खाइमा ताल किनारमा बसिरहे। ‘अचेल काम पाइएको छ,’ शुक्रबार डुंगा खियाएर यात्रुलाई तालबीचको तालवाराही मन्दिर लैजाँदै गर्दा बुद्धिको मुहार हँसिलो देखिन्थ्यो। उनले अगाडि भने, ‘कोरोनाको बेला हामीलाई त यात्रु पाउनै मुस्किल भयो नि ! महिनौंसम्म त लकडाउनले घरै बसियो। कोरोना कम भएपछि केही महिना भो मानिस घुम्न आउन थालेका छन्।’
हुन पनि हो, २ वर्षसम्म थला परेको पोखराको पर्यटनले गति लिन थालेको छ। यहाँको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ। यसको प्रष्ट संकेत, ताल किनारका डुंगाचालकलाई भ्याइनभ्याइ हुने दृश्यले दिन्छ।
विगतमा फेवातालमा तैरिने डुंगाहरू लामो समय थन्काएर बसेका डुंगा चालकहरू अहिले उत्साहित छन्। उनीहरूमा केही भए पनि आशाको सञ्चार उत्पन्न भएको छ। कोरोनाको पहिलो भेरियन्ट सकिएपछि अर्को वर्ष दोस्रो भेरियन्ट आयो। संक्रमण रोक्न प्रशासनले निषेधाज्ञा लागु गर्यो। त्यसैको चेपुवामा यस वषैको वैशाख १५ देखि डुंगा चल्न पाएका थिएनन्।
मजदुरहरू निकै मर्कामा परे। केही संस्थाले राहत उपलब्ध गराए पनि। तर सधैँ राहतको भरमा कति चल्नु। त्यसैले प्रशासनले निषेधाज्ञा पछिल्लो समय खुकुलो बनाउँदै लैजाने क्रममा साउनदेखि चलाउन छुट दिएको थियो। छुट दिए पनि दसैंतिहारको लामो छुट्टीमा मानिस घुम्न आए पनि अन्य बेला लेकसाइड सुनसानप्रायः हुन्थ्यो। अचेल कोरोना मत्थर बन्दामात्र चहलपहल ह्वात्तै बढेको हो।
रसुवाकी विमला गुरुङ डुंगा चालक हुन्। डुंगा तारेरै उनको चुल्होमा आगो बल्छ। २ वर्षजसो डुंगामा साङ्लो लगाएर राखिन्। काम पाइनन्। राहतमै जीवन गुज्रियो। कति पटक भोकै सुतिन्। उनका पति मजदुरी गर्छन्। २ छोराछोरी हुर्काउन विमलाको लागि यो महँगी सहरमा त्राहीत्राही छ। शुक्रबार बिहान खाना खाइवरि उनी आफ्नो पालोका लागि तयार भएर आइन्। उनको क्यु नम्बर हो–५९। ‘हिजोदेखि पालो कुरेको हो, आज कति खेर पालो आउने हो ?’ विमलाले भनिन्, ‘डुंगा चलाउन छुट त दियो, तर मानिसहरू घुम्न नआउने हो भने हाम्रो मुखमा माड लाग्दैन।’ तालमा डुंगा चलाउने मुस्किलले २० महिलामध्ये उनी एक हुन्। उनी यो पेसामा लागेको ६/७ वर्ष जति भो।
५२ वर्षीय सुन्दर विश्वकर्मा नेपालको पूर्वी जिल्ला सिन्धुलीवासी हुन्। उनी ३४ वर्षअघि कामको खोजीमा पोखरा आएका थिए। सिन्धुली सलपाबाट आएका उनी फेवामा डुंगा चलाउने त्यस भेगका सबैभन्दा पुराना चालक हुन्। उनी यहाँ आएपछि धेरै मानिसहरू जीवनको डुंगा खियाउन सलपाबाट फेवातालमा आएको सुन्दर बताउँछन्। सुन्दर र उनकी श्रीमती तारा यही तालमा डुंगा चलाएर जहाज परिवार पाल्दै आएका छन्। यो दम्पतीको ५ वटा डुंगा छन्।
फेवा डुंगा व्यवसायी समितिका अनुसार तालमा कुल ७ सय ६४ डुंगा चल्छन्। बाराहीघाटसहित गौरीघाट, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङ पुल र बंगलादी गरी ८ घाट छन्। तीमध्ये मन्दिर जान सहज हुने भएको र बाराहीघाटबाट दृश्यावलोकन गर्न सहज हुने हुँदा सो घाटबाट सबैभन्दा बढी ३ सय ५६ डुंगा चल्छन्।
डुंगा व्यवसाय समितिका उपाध्यक्ष मंगल नेपालीका अनुसार अचेल दैनिक डेढ सय वटा डुंगा मन्दिर आउजाउ गर्छन्। त्यसबाहेक घण्टे डुंगा (प्रतिघण्टा ६ सय) आवश्यक बमोजिम नियमित चल्ने गरेका छन्। समितिले डुंगा व्यवसायीको लागि पालो प्रणाली लागु गरेको छ। यात्रु जति आए, त्यति नै छिटो पालो पाइन्छ। अहिले सातामा कम्तीमा २ पटकसम्म पालो पाइने गरेको डुंगा व्यवसायी प्रितम कुँवरले बताए।