पोखरा- गण्डकी प्रदेशमा कर्मचारीमाथि प्रदेशमन्त्री नै आक्रमणमा उत्रिएको घटनाप्रति कर्मचारीका विभिन्न संगठनले विरोध जनाएका छन्। सरकारको जिम्मेवार पदमा रहेको व्यक्तिले कर्मचारीमाथि गरेको निन्दनीय घटनाको घोर भर्त्सना गर्दै कर्मचारीको पेसागत मर्यादा र आत्मसम्मान कायम गर्दै ती संगठनले उच्च मनोबलका साथ सेवामा समर्पित हुने वातावरण कायम गर्न सरकारसँग माग गरेका छन्।
साथै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्। एकीकृत सरकारी कर्मचारी संगठन नेपाल कास्कीका तर्फबाट अध्यक्ष सोमलाल तिवारी, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), कास्कीका अध्यक्ष अर्जुनदेव ज्ञवाली र नेपाल निजामती कर्मचारी युनियन कास्कीका तर्फबाट अध्यक्ष सुरेशकुमार श्रेष्ठले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै कर्मचारीको सुरक्षाको माग गरेका हुन्।
नेपाल निजमती कर्मचारी युनियन गण्डकी प्रदेशले घटना सम्बन्धमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ। युनियनका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश अध्यक्ष दीपक रेग्मीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरिएको छ।
पत्रमा भनिएको छ, ‘सरकारका मन्त्रीबाट आफ्नो मातहतका कर्मचारीमाथि यस्तो व्यवहार हुनु दुर्भाग्यपूर्ण हो। जबसम्म कर्मचारीलाई भयरहित वातावराण्मा काम गर्ने अवसर हुँदैन, तबसम्म सुशासन कायम हुन सक्दैन। त्रासपूर्ण वातावरणमा कार्यसम्पादन गर्नुपर्ने अवस्थाको अन्तय गरी अनुशासित, मर्यादित र भयरहित अवस्थाको सिर्जना गर्दै आमनागरिकको सेवामा समर्पित हुने वातावरण निर्माण गर्न सरकारसमक्ष अनुरोध गर्दछौं।’
मंगलबार दिउँसो कार्यालय समय सकिने बेलामा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका अधिकृतस्तर आठौं तहका कर्मचारी प्रकाश ओझालाई कार्यकक्षमा बोलाई हातपात गरेका थिए। पीडित कर्मचारी ओझाले मन्त्रीले आफूलाई तथानाम गालीगलौज गरी हातपात गर्ने प्रयास गरी आफ्नो आत्मसम्मानमा चोट पुर्याएको बताएका छन्। तर युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आफूले उनलाई नपिटेको र सम्झाउनेमात्र काम गरेको दाबी गरेका छन्।