पोखरा- अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदातले आदेश दिएको छ। नावालिग बालिका बलात्कार अभियोगमा पक्राउ परेका शाहलाई बिहीबार जिल्ला अदालत तनहुँले थुनामा पठाउने आदेश दिएको हो। न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले तत्काल प्रमाणका आधारमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। मुद्दाका सहप्रतिवादी कृष्ण जोशीलाई भने तत्काल १ लाख धरौटीमा माग गरिएको छ।
वादी र प्रतिवादीको तर्फबाट दुई दिनसम्मको थुनछेक बहसपछि बिहीबार साँझ शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पलका फ्यान भने दुखी बनेका छन्। पीडितको तर्फबाट बहस गरेका अधिवक्ता विमलप्रसाद लामिछानेका अनुसार जाहेरवालाको तर्फबाट सरकारी वकिलसहित ९ जना र प्रतिवादीको तर्फबाट ११ जना कानुन व्यवसायीले बहस गरेका थिए। बिहीबारसम्म जाहेरवालाको तर्फबाट अधिवक्ताले बहस टुंगाएका थिए भने प्रतिवादीका तर्फबाट ३ जनाले बहस गरेका थिए।
जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले मंगलबार पलविरूद्ध अधिकतम् १४ वर्ष र उनका म्यानेजर कृष्णलाई मतियारका रूपमा ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र अदालतमा दर्ता गरेको थियो। गत फागुन ११ मा नाबालिग गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि उनले फागुन १५ मा तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए। सोही दिन प्रहरीले शाहविरुद्ध ७ दिन २१ गते १२ दिन र चैत ४ मा ५ दिन म्याद थप गरी अभियोगपत्र दायर गरेको हो। तिनै पीडित नावालिग गायिकाले पलविरुद्ध तनहुँपछि जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता गरेकी छन्।
उनीविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै मुद्दा दायर भइसकेको छ। कानुनको उक्त दफामा महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ। जसमा १२ देखि १४ वर्ष जेल सजाय हुने उल्लेख छ।
तनहुँ जिल्ला अदालतले लिएको बयानमा पल र कृष्ण दुवैले जिल्ला न्यायाधिवक्ता र प्रहरी अनुसन्धान अधिकृतसमक्ष दिएको बयान नै दोहो¥याएका थिए। अभियोगपत्रमा उल्लेख भएअनुसार पलले बलात्कार अस्वीकार गरेका छन्। उनका म्यानेजर कृष्णले बलात्कार अभियोग मिलाउन पलले तलब दोब्बर मासिक ५० हजार दिएको, पीडितका आफन्तलाई ५० लाख रुपैयाँसम्मको आर्थिक प्रलोभन र मान्छे मार्न पनि पछि नपर्ने स्वीकारी बयान दिएका छन्।
थुनछेकको फैसला आउने सम्भावनापछि बिहीबार जिल्ला अदालत तनहुँ परिसरमा पलका फ्यानहरुले तत्काल रिहाइ माग गर्दै नाराबाजी गरेका थिए।