पोखरा- लेखनाथका सूर्यप्रसाद लामिछानेलाई अचेल निकै व्यस्त छन्। तिहारका बेला फूलको कारोबारमा उनी व्यस्त भएका हुन्। अर्डरका लागि बरोबर मोबाइलको घण्टी बजिरहन्छ।
हुन त उनी मौरीपालक हुन्। साढे दुई सय घार पोखरा ३१, बेगनास घर वरिपरि लहरै देख्न सकिन्छ। गण्डकी प्रदेशभरि उनको जति धेरै मौरीपालन व्यवसाय अरूको छैन । उनले यो दाबी पनि पेस गरे। उनले भने, ‘मौरी पालेरै बर्सेनि बीस लाख कमाउँछु।’
१८ वर्षसम्म यही व्यवसायबाट नाम दाम दुवै कमाए। मौरीका बादशाह नामले चिनिए पनि। युरोपियन मुलुक पनि घुम्ने मौका पाए। पोखरामै दुई घडेरीसहित मनग्य आम्दानी गरेका उनले दुई छोराछोरी राम्रै स्कुलमा पढाएका छन्
कसैको निगाहामा काम गर्नु भन्दा आपफ्नै पाखोबारी सदुपयोग गर्ने सोचका साथ लागिपरेका उनले मौरीपालनसहित विगत सात वर्षदेखि सयपत्री फूलखेती थालेको बताउँछन्।
उनले फूलमा सयपत्री रोजे। तिहारमा यसको माग उच्च छ। यस वर्ष सयपत्रीबाटै पाँच लाख कमाइ हुने अनुमान उनको छ। अरूबेला उनको बारीमा मौरीलाई पनि सहज हुने तोरी, फापर, सूर्यमुखी देख्न देखिन्छ। तर तिहार आउनुभन्दा तीन महिनाअघि सयपत्रीको बिरुवा लगाउँछन्। अहिले तीन रोपनी जग्गामा डेढ लाख बिरुवा लगाएका हुन्।
तिहार भित्रिएसँगै अर्डर लिन र घरमै आउनेको ताँती लाग्छ। किनकि तिहारमा विशेष महत्त्वको मानिने एक प्रकारको फूल हो–सयपत्री।
सयपत्री विशेषगरी गाउँघरमा सबैको घरआँगन, डिल, बारी, कान्लामा तिहार झल्काउने गरी जताततै फूलेको पाइन्छ। लामिछानेले भने यसैलाई व्यावसायिक रुप दिएका हुन्।
सयपत्री फूलको सुगन्ध र उपयोग भिन्न रहेको बताउँदै चाडपर्वमा माग बढ्ने भएपछि पर्यटकीय नगरी पोखरामा आफूले खेती सुरु गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘यतिबेला उत्पादित सयपत्रीको थुँगा बेच्न व्यस्त छु।’ आफैँले तयार पारेर रोपेको बिरुवा ३ महिनापछि फूलेको उनी बताउँदछन्।
उनीकहाँ अहिले फूल ढकमक्क फूलेका छन्। जोकोही यहाँ आइपुग्दा फूलैफूलको संसारमा गएजस्तो भान हुन्छ। तिहारमा ५ लाख रुपैयाँ बढीको माला बेच्ने लक्ष्य लिएका उनले आयआर्जनको प्रमुख स्रोत फूलखेती हुने कुरामा विश्वस्त छन्। ‘तिहारमा सयपत्री फूलले राम्रो बजार पाउने भए पनि तिहारअघिदेखि नै फूलको माग हुने गर्छ,’ उनले भने, ‘स्थानीय संघसंस्थाले आयोजना गर्ने कार्यक्रममा पनि हाम्रो फूलको माग हुन्छ।’ सयपत्री फूल खेतीका लागि तीन महिना खट्न सके राम्रो आम्दानी लिन सकिने उनको सुझाव छ।
फूलले तिहारको समयमा पोखरा र लेखनाथ क्षेत्रभर बजारको माग धान्न सक्दैन। विगतका वर्षमा उनले माला प्रतिगोटा १ सय रुपैयाँका दरले बिक्री गरेका थिए। भन्छन्, ‘म जस्तै अझै सय जनाले खेती गरे माग धान्ला।’
नेपाली बजारमा भारतको फूलको पकड छ। नेपालमा व्यावसायिक फूलखेती गर्नेको संख्या कमै छ। भारतमा भने अत्यधिक फूल उत्पादन हुने गर्दछ।
बर्खामा भारतबाट कम फूल आयात हुने हुनाले त्यस समयमा पनि फूल उत्पादन गर्न सके राम्रो बजार पाउने उनले सुझाव दिए। फूल खेतीतर्फ ध्यान दिन नसक्दा भारतबाट आयात गरेको फूल प्रयोग गर्न नेपाली बाध्य छन्। खेतीमा सजिलो, बारीका कान्ला तताततै फुल्ने तथा सजिलै आम्दानी दिने भए पनि नेपालीको ध्यान नपुग्दा ठूलो रकम बाहिरिने गरेको छ।
गण्डकी सरकारले ‘व्यावसायिक पुष्पखेती गरौँ, आत्मनिर्भर बनौँ, आयात होइन निर्यात गरौँ,’ नारा नै तय गरेको छ। तर आफ्ना लागि सरकारले केही सहयोग नगरेको गुनासो व्यक्त गर्ने लामिछाने सरकारसँग स्वदेशी उत्पादनलाई प्रोत्साहन गरोस् र भारतीय फूललाई प्रतिबन्ध लगाओस् भनी सदीक्षा राखेका छन्।
उनी भन्छन्, ‘संसारका विभिन्न मुलुक घुमेँ। जहाँ गए नि मान्छेले काम गरेकै छ। बरु नेपालीले गफ गरेर, जुवातास खेलेर समय खेर फालेका छन्। गर्न सके नेपालमै छ। हामीले अझै समयको सदुपयोग गरेका छैनौँ।’