पोखरा- फेवाताल किनारको आकर्षण केन्द्र रत्न मन्दिर र हिमागृह पोखराका गहना हुन्। विगतमा पूर्व राजपरिवारका नाउँमा रहेका यी दुवै दरबार हाल नेपाल ट्रष्टको नाममा छन्।
गणतन्त्र भित्रिएको झण्डै २ दशक भइसक्दासमेत सर्वसाधारणको पहुँचबाहिर भएकाले यी आकर्षणका केन्द्र कस्तो होला कहिले हेर्न पाइएला भन्ने खुल्दुली सबैमा छ।
बेलाबेलामा पोखरा भ्रमण गर्ने दलका शीर्षनेता एवं पर्यटनसम्बद्ध उच्च तहका अधिकारीले पोखराको पर्यटन विकासमा समेत टेवा पुग्ने भएकोले प्रवेश अनुमति दिनुपर्ने आश्वासन दिएर फर्किने गरे पनि खुल्ने छाँटकाँट छैन।
यसैक्रममा पर्यटन व्यवसायी संगठन नेपालले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई भेटेर रत्न मन्दिर र हिमागृह खुलाउन माग गरेको छ। पोखरा भ्रमणमा आएका बखत पर्यटन मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै संगठनका गण्डकी प्रदेश अध्यक्ष गणेशराज पहारीले यी दुई दरबार सर्वसाधारणका लागि खुला गरी उद्यान एवं संग्रहालयका रुपमा रुपान्तरण गर्नुपर्नेमा माग गरे।
पोखरालाई तत्काल पर्यटनको राजधानी घोषणा गर्नुपर्ने तथा पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग घोषणा गरिनुपर्ने माग संगठनको छ। स्तरोन्नति भइरहेका पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको निर्माण छिटो सक्नुपर्ने, चाउथेस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म बाइपास रोड बनाउनुपर्ने, साहसिक हवाई खेल प्याराग्लाइडिङ र अल्ट्रालाइट व्यवसायको दिगो व्यवस्थापन एवं भविष्य सुनिश्चितताको मागसमेत गरिएको छ।
यसअघि गण्डकी प्रदेश सरकारले समेत नेपाल ट्रष्टको नामका जग्गा र भौतिक संरचना प्रदेशमातहतमा ल्याउन संघीय सरकारसँग माग गर्ने निर्णय यसअघि गरिसकेको हो।
त्यसबेला तत्कालीन प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधरी शर्माको संयोजकत्वमा गठित समितिले ट्रष्टको नामका गण्डकी क्षेत्रभित्रका सबै जग्गा, सम्पत्ति तथा भवन खोजी गरी प्रदेशको नाममा ल्याउन सक्ने गरी प्रतिवेदन पेस गरेको थियो। तर कार्यान्वयन हुन सकेको छैन।
लेकसाइड निवासी एमाले युवा नेता एवं प्रदेश सांसद राजीव पहारीले हरेक भाषणमा जसो रत्नमन्दिर र हिमागृह खुलाउनुपर्ने माग गर्छन्। उनी रत्नमन्दिर आडको खुलाचौरमा कुनै कार्यक्रम गर्दा ट्रष्टसँग स्वीकृति लिनुपर्ने कस्तो संघीयता हो भन्दै प्रश्न गर्छन्।
प्यागोडा शैलीमा निर्मित हिमागह दरबारको भित्री संरचना ढुंगामा कुँदिएका आकर्षक कलाले सज्जित छ। पूर्वराजा महेन्द्रले तालपारीको रानीवनको संरक्षणसमेतको लक्ष्य राखी २०१३ सालमा जग्गा किनेर ३ वर्षपछि रानी रत्नराज्यलक्ष्मीको नाममा दरबार निर्माण गरेका थिए।
त्यस्तै, रत्नमन्दिरसँग जोडिएको हिमागृह २०३२ सालमा निर्माण गरिएको हो। करिब १० रोपनी क्षेत्रफलमा फैलिएको हिमागृहमा ऐतिहासिक बस्तुहरू रहेका छन्।
ती दुवै नेपाल ट्रष्ट ऐन बमोजिम, नेपाल ट्रष्टको कार्यालयको नाममा सोही कार्यालयले रेखदेख तथा व्यवस्थापन गरिरहेको छ। हाल ट्रष्टको कार्यालयमा १३ जनाको दरबन्दी छ। नेपाल ट्रष्टको नाममा पोखरा क्षेत्रमा हाल १ सय ७४ रोपनी जग्गा छ।
रत्न मन्दिरले भने १ सय ११ रोपनी क्षेत्रफल ओगटेको छ। यसभित्र नेपाली सेनाको भगवती दल गण रहेको छ। नेपाल ट्रष्ट अध्यक्ष हाल संघीय सरकारका रक्षामन्त्री रहने व्यवस्था छ।