पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नै आमा-बाबुको नाममा रकम विनियोजन गरेपछि त्यसको चौतर्फी विरोध सुरु भएको छ।
राज्यकोषको दुरुपयोग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले आफ्ना आमा-बाबुको नाममा स्मृति कोष भर्न, ट्रस्ट चलाउन डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेकाे रहस्य खुलेपछि उनीहरूकाे आलोचना भएको हाे।
स्मृति कोष, पार्कजस्ता शीर्षकमा बजेट विनियोजन गरी संघीयताको दुरुपयोग गरेको भन्दै सर्वसाधारणले सरकारकाे आलोचना गरेका छन्।
नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश गठबन्धन सरकारले जनताका कैयौं एजेन्डालाई 'लात्ती हानेर' आफ्ना परिवार नाममा अनावश्यक स्मृति कोष, पार्कजस्ता शीर्षकमा बजेट विनियोजन गरी संघीयताको दुरुपयोग गरेको भन्दै सर्वसाधारणले टिप्पणी गरेका छन्।
कसले केमा छुट्याए ?
मुख्यमन्त्री पोखरेलले तनहुँको व्यास १० मा आफ्ना बाबु गोबर्द्धन शर्माको नामको कोषमा ५० लाख रुपैयाँ विनियोजन गरेका छन्। सामाजिक विकास कार्यालय, तनहुँअन्तर्गत खर्च शीर्षक नम्बर २६४१३ मा उक्त कोषका लागि रकम विनियोजन गरिएको हो।
छुटेका कार्यक्रम समावेश भन्दै अनुसूचीमा समावेश गरेर गण्डकीमा ल्याइएको सेतो किताबमा २७ करोड रुपैयाँका योजना समेटिएका छन्। तीमध्ये सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको आमा-बाबुको नामको ‘पुन नारायण-धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट’ मा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
प्रदेशको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयबाट खर्च हुने गरी मन्त्री श्रेष्ठकै आमा-बाबुको नामको ट्रष्टमा थप ५० लाख रुपैयाँ छुट्टाइएको छ। स्याङ्जाको भिरकोट नगरपालिका-१ मा ट्रस्ट भवन बनाउन सो रकम विनियोजन भएको हो। यस्तै, कांग्रेस गण्डकी सभापतिका प्रत्यासी अर्जुन जोशीका पिता अमृत जोशीको नाममा स्मृति पार्क निर्माण गर्न २० लाख र कुश्मा नगरपालिकाबाट २० लाख गरी ४० लाख छुट्टाइएको छ। पर्वतका कांग्रेस नेता स्व. डिल्लीराम लामिछानेको नाममासमेत प्रतिष्ठान बनाउन गण्डकी सरकारले २० लाख रुपैयाँ विनियोजन गरेको छ।
राज्यकोष दोहन गरेकाे सूचना बाहिरिएपछि यो विषय आलाेचित बनेकाे छ। सामाजिक सञ्जालहरूमा पनि गण्डकी सरकारकाे आलोचना भइरहेकाे छ।
पत्रकारदेखि नागरिक समाजसम्मले गरे आलोचना
राज्यकोष दोहन गरेकाे सूचना बाहिरिएपछि यो विषय आलाेचित बनेकाे छ। सामाजिक सञ्जालहरूमा पनि गण्डकी सरकारकाे आलोचना भइरहेकाे छ।
गण्डकीका मुख्यमन्त्रीसहित मन्त्रीले आफ्ना आमा-बाबुका नाउँमा मोटो रकम विनियोजन गरेपछि वरिष्ठ पत्रकार बद्रीविनोद प्रतीक त्यसबारे टिप्पणी गर्दै फेसबुक बालमा लेख्छन्- ‘अब आमा-बाबुको श्राद्ध पनि प्रदेश सरकारको सचिवालयमा सरकारी ढुकुटीबाटै गर मुख्यमन्त्री र मन्त्री ज्यूहरू। गठबन्धन तिमीहरूकै लागि हो मिलिजुली खाऊ।’
यस्तै, नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेलले पनि सो कार्यप्रति कडा आलोचना गर्दै राजीनामा माग गरेका छन्।