पोखरा- बजेट विवादका कारण लामो समय अनिर्णयको बन्दी बनेको गण्डकी प्रदेशसभा बैठक सोमबार(भोलि)देखि चल्ने भएको छ। असार १ मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा निर्वाचनक्षेत्र पूर्वाधार कार्यक्रम काटिएपछि सत्तागठबन्धनबीच नै सम्बन्ध चिसिएपछि रोकिएको प्रदेशसभा बैठक सोमबारबाट चल्ने भएकाे हाे।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल 'जीवन'बीच गएराति अबेरसम्म भएको छलफलमा सो कार्यक्रम बजेटमा समेटेर संसदमा छलफल चलाउने सहमति जुटेको स्रोतले जानकारी दियो। मुख्यमन्त्री पोखरेलले निर्वाचनक्षेत्र पूर्वाधार कार्यक्रम बजेटमा समेट्न दिएको निर्देशन अवज्ञा गर्दै अर्थमन्त्री बरालले जनताले नरुचाएको कार्यक्रम भन्दै बजेटबाट काटिदिएपछि गठबन्धन दलबीच सम्बन्ध चिसिएकाे थियो।
अर्थमन्त्रीले असार १ मा संसदमा प्रस्तुत गरेको कुल ३६ अर्ब ९० करोड ९० लाख रूपैयाँ बराबरको बजेटमा सो कार्यक्रम नपरेपछि सत्तासाझेदार दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरू नै असन्तुष्ट बनेका थिए। काटिएको उक्त कार्यक्रम बजेटमा समावेश गर्ने र मन्त्रालयको सिलिंगभित्रको योजना काटिएकोबारे फेरि चेकजाँच गरी संसदमा छलफल चलाउनेबारे मुख्यमन्त्री र अर्थमन्त्रीबीच सहमति भएको जनाइएको छ।
मुख्यमन्त्री पोखरेलले निर्वाचनक्षेत्र पूर्वाधार कार्यक्रम बजेटमा समेट्न दिएको निर्देशन अवज्ञा गर्दै अर्थमन्त्री बरालले जनताले नरुचाएको कार्यक्रम भन्दै बजेटबाट काटिदिएपछि गठबन्धन दलबीच सम्बन्ध चिसिएकाे थियो।
प्रदेशसभा सचिवालयले पनि सोमबार दिउँसो १ बजेका लागि संसद बैठक डाँक्दै सदस्यहरूलाई जानकारी गराइसकेकाे छ।
बजेट विवाद चुलिँदै गएको र संसद असार १ यता ठप्प भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पत्रकार सम्मेलन गरी संसद्लाई निकास दिन नसके मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राजीनामा दिनुपर्ने माग राखेपछि संसद् खुलाउन गठबन्धनलाई दबाब परेकाे हो। एमाले संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका उपमहासचिव एवम् गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले सो माग गरेका थिए।
गण्डकीका प्रथम मुख्यमन्त्रीसमेत रहेका गुरुङले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नै सरकार सही ट्रयाकमा नहिँडेको कमजोरी औंल्याएका थिए। बजेट पास हुन नसक्ने स्थिति भए सरकारको विकल्प सोच्नुपर्ने उनले चेतावनी दिएका थिए।
अर्थमन्त्री बराल केन्द्रीय कमिटी सदस्य मनोनित
अर्थमन्त्री बराल आइतबार काठमाडौँ पुगेर सोमबार संसद् बैठकका लागि फर्किंदै छन्। पार्टीको केन्द्रीय कमिटी बैठकले उनलाई आइतबार नै केन्द्रीय सदस्यको जिम्मेवारी पनि दिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेका हुन्। मन्त्री बराल यसअघि गण्डकी प्रदेशको पार्टी सदस्य थिए।