आधुनिक उद्धार उपकरणसहित विपद् प्रतिकार्यको पूर्वतयारीमा सेना

हिमाल प्रेस १० जेठ २०८३ १४:२३ | Sunday, May 24, 2026
4
SHARES
आधुनिक उद्धार उपकरणसहित विपद् प्रतिकार्यको पूर्वतयारीमा सेना २०८२ असार २४ गते त्रिशूली नदीमा आएको ठूलो बाढीमा फसेकाको उद्धार गर्दै नेपाली सेना। तस्बिर : नेपाली सेना

काठमाडौँ- नेपाली सेनाले यसपटकको वर्षायाममा पनि विपद् प्रतिकार्यमा अग्रपंक्तिमा रही सक्रिय भूमिका खेल्ने भएको छ। बर्सेनि बाढीपहिरो, डुबानलगायतका प्राकृतिक विपद्‌मा खटिँदै आएको सेना आउँदै गरेको वर्षायाममा पनि प्रतिकार्यमा जुट्न लागेको हो।

नेपालको संविधान २०७२ को धारा २६७ (४) अनुसार संघीय कानुन बमोजिम विपद् व्यवस्थापनमा नेपाली सेना परिचालन हुने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार सेनाले विपद् पूर्व, विपद्को समयमा तथा विपद्पछि प्राप्त स्रोतसाधनको अधिकतम उपयोग गर्दै जोखिम न्यूनीकरण, पूर्वतयारी, प्रतिकार्य तथा पुनःउत्थानमा योगदान दिँदै आएको छ।

विपद् उद्धारका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि सहकार्य गर्दै आए पनि मुख्य रूपमा उद्धार तथा प्रतिकार्यको नेतृत्व नेपाली सेनाले गर्दै आएको हो। देशमा मनसुन सुरु भइसकेको अवस्थामा विभिन्न स्थानमा विपद्का घटनाहरू देखिन थालेकाले सेना पूर्ण तयारी अवस्थामा रहेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका अनुसार नेपाली सेनाले लामो समयदेखि भूकम्प, बाढीपहिरो, आगलागी लगायतका विपद्मा खोज, उद्धार तथा राहत कार्य गरेको छ। १९९० सालको विनाशकारी भूकम्प, २०३० सालको सिंहदरबार आगलागी, २०४५ सालको उदयपुर भूकम्प, २०५० सालको मध्य क्षेत्रको भीषण बाढी तथा २०६५ सालको कोशी ब्यारेज बाढी जस्ता घटनामा सेनाको सक्रिय भूमिका उल्लेखनीय रहेको छ।

यस्ता विपद् प्रतिकार्यमा सेनाको जनशक्ति र स्रोतसाधनका कारण यसलाई प्रमुख प्रतिकार्यकर्ताको रूपमा मानिँदै आएको छ। नेपाली सेनाले विपद् प्रतिकार्यका लागि विशेष संरचना विकास गरेको छ।

विपद् व्यवस्थापन फौजअन्तर्गत विपद् व्यवस्थापन निर्देशनालय, राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय र दुई वटा विपद् व्यवस्थापन गण रहेका छन्। यसलाई दक्ष जनशक्तियुक्त फौज मानिन्छ। त्यसैगरी पैदल फौजअन्तर्गत स्थानीय स्तरमा परिचालित युनिट रहेका छन् भने मुद्दती फौजअन्तर्गत इन्जिनियर, मेडिकल, विशेष फौज, हवाई सेवा, सञ्चार सेवा र डग युनिट समावेश छन्।

विपद् उद्धारका लागि औजार तथा उपकरण

सेनासँग विपद् प्रतिकार्यका लागि विभिन्न आधुनिक उपकरणहरू समेत तयारी अवस्थामा रहेका छन्। ती उपकरणमा सर्च क्यामेरा विथ कम्युनिकेसन, थर्मल इमेजिङ क्यामेरा, रेस्क्यु राडार, अन्डर वाटर सर्च क्यामेरा, ग्यासोलिन ज्याक, वायरलेस लाइफ डिटेक्टर विथ सर्च क्यामेरा, फायर इन्जिन, फायर प्रोक्सिमिटी सूट, फायर इन्ट्री सूट, फायर स्किप ल्याडर, एयर स्याक ब्याग, इन्फ्लेटेबल वायमेटिक रबर डुङ्गा, इन्फ्लेटेबल फेनुम्याटिक पावर बोट, आउट बोर्ड मोटर (ओबीएम), स्कुबा डाइभिङ सेट र रिभरिङ बोट लगायत छन्।

हवाई उद्धारका लागि सेनाले पूर्व, मध्य र पश्चिम एयरबेसबाट खोज तथा उद्धार कार्य सञ्चालन गर्दै आएको छ। एकै पटक दुई कम्पनी फौजसम्म हवाई परिचालन गर्न सक्ने क्षमता रहेको सेनाले जनाएको छ। हाल सेनामा विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्ति १२ हजार दुई सय ६१ जना छन्। यीमध्ये विपद् व्यवस्थापन निर्देशनालयअन्तर्गत एक हजार नौ सय ९७ जना र बाहिरी युनिटहरूमा १० हजार दुई सय ६४ जना तालिमप्राप्त जनशक्ति छन्।

मनसुनजन्य विपद् प्रतिकार्यका लागि आवश्यक उद्धार सामग्री समयमै तयारी अवस्थामा राखिएको छ। सुन्दरीजलस्थित श्री नं. १ विपद् व्यवस्थापन गण परिसरभित्र रहेको राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयको रेस्क्यु स्टोरमा ५०० थान त्रिपालसहित खम्बा, बलो, चोभा र डोरीहरू तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ। समुदाय स्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रमहरू सञ्चा

लन भइरहेको छ। यसअन्तर्गत हजारौं व्यक्तिलाई तालिम दिइसकिएको छ।

काठमाडौँको च्यासल क्षेत्रमा अविरल वर्षा र बाढीका कारण जम्मा भएको भग्नावशेष हटाउने काममा खटिएका नेपाली सेनाका कर्मचारीहरू। तस्बिर : नेपाली सेना

नेपाली सेनाले मध्यम स्तरका विपद्मा प्रभावकारी रूपमा प्रतिकार्य गर्न सक्ने क्षमता विकास गरेको छ। विश्वव्यापी रूपमा बढ्दै गएको जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरण तथा विकासका कारण विपद्का घटनाहरू बढ्ने सम्भावनालाई ध्यानमा राख्दै सेनाले पूर्वतयारी, तालिम, अभ्यास र अन्तरनिकाय समन्वयलाई प्राथमिकतामा राखेको छ।

यो पनि

विपद् व्यवस्थापनमा नेपाली सेना सक्रिय, ९५३ जनाको हवाई उद्धार

प्रकाशित: १० जेठ २०८३ १४:२३ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast