काठमाडौँ- सुर्खेतकी १६ वर्षिया इनिशा विकको मृत्यु प्रकरण देशव्यापी चासोको विषय बनेको छ। दलका नेताहरूदेखि, सर्वसाधारण र चर्चित कलाकारहरूले सामाजिक सञ्जालमा दोषीलाई उन्मुक्ति नदिन माग गरिरहेका छन्। उनीहरूले सञ्जालमा इनिशाले न्याय पाउनुपर्ने र दाेषीलाई कानुनी सजाय हुनुपर्ने मागसहित आवाज उठाइरहेका छन्।
गत २३ गते जंगलमा मृत भेटिएकी इनिशाको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ। रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्राबका कारण उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गायक तथा कलाकार प्रकाश सपुतले फेसबुकमा अपराधीलाई उम्काउने बहाना नखोजियोस् भन्दै घटना नटार्न आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘यो घटनामा कानुनले शून्य सहनशीलता अपनाओस्! र, तर, वा, अथवा, यद्यपि भनेर अपराधीलाई उम्काउने बहाना नखोजियोस्! हामीले थप छोरीहरू गुमाउन नपरोस्।’
गायिका एलिना चौहानले नेपालमा बलात्कारीलाई कडा सजाय नभएसम्म यस्तो घटना घटिरहने भन्दै कानुनलाई बलियो बनाउनतर्फ लाग्नुपर्ने धारणा राखेकी छन्। उनले इनिशाको तस्बिर राख्दै कहिलेसम्म र कतिपछि बन्द हुन्छ यस्ता घटनाहरू भन्दै प्रश्न उठाएकी छन्। उनले लेखेकी छन्, ‘जबसम्म बलात्कारीलाई कडा सजाय फाँसीजस्तो कठोर कानुनी दण्ड दिइँदैन, यस्ता घटना रोकिने जस्तो लाग्दैन। नेपालमा मानिसको ज्यान लिन सजिलो हुँदै गएको छ। अब त केही गरौं न कहिलेसम्म र कतिपछि बन्द हुन्छ यस्ता घटनाहरू?’
कमेडी च्याम्पियन्सका निर्देशक विशाल भण्डारीले छोरीहरूलाई खुलेर र सुरक्षित बाँच्न पाउने अधिकारको सुनिश्चितताको महिला प्रधानमन्त्री भएको समयमा कानुन बन्नुपर्ने धारणा राखेका छन्। उनले लेखेका छन्, ‘नागरिक सरकार त्यो पनि महिला प्रधानमन्त्री भएको नयाँ नेपालमा यो दोषीलाई कडा भन्दा कडा कारबाही हुनैपर्छ। छोरीहरू खुलेर र सुरक्षित बाँच्न पाउने अधिकारको सुनिश्चितताको लागि पनि उदाहरणीय सजाय हुन आवश्यक छ।’
त्यस्तै कार्यक्रम सञ्चालिका तथा अभिनेत्री रीमा विश्वकर्माले इनिशाको घटनामा आफू प्रहरी प्रशासन र दलित आयोगसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै दोषीको यथाशीघ्र पहिचान गरी कानूनी प्रक्रिया अनुसार कडा कारबाही गरिनुपर्ने माग गरेकी छन्। ‘यस घटनाको सन्दर्भमा म प्रहरी प्रशासन र दलित आयोगसँग निरन्तर सम्पर्कमा छु। घटनामा संलग्न दोषीको यथाशीघ्र पहिचान गरी कानुनी प्रक्रियाअनुसार कडा कारबाही गरिनुपर्छ,’ उनले फेसबुकमा लेखेकी छन्।
साथै उनले घटनाको अनुसन्धानलाई निष्पक्ष, पारदर्शी र जिम्मेवार ढंगले अघि बढाउँदै सत्यतथ्य उजागर गर्न नेपाल प्रहरीलाई अनुरोध समेत गरेकी छन्।
अभिनेत्री केकी अधिकारीले पनि दोषी उम्कन नपाओस् भन्ने आसय व्यक्त गरेकी छन्। अभिनेत्री पूजा शर्माले अब देशले ‘निर्मता पन्त’ को जस्तो अन्याय नसहने बताएकी छन्। उनले नेपाल सरकारलाई देशका छोरीहरूको सुरक्षामा खेल्नेहरूको साहस नहोस् भन्दै न्याय दिने कि फेरि इतिहास दोहोर्याउने भन्दै प्रश्न गरेकी छन्।
उनले लेखेकी छन्, ‘सरकारलाई सिधा चेतावनी, दोषी जोसुकै होस्, जति शक्तिशाली वा पहुँच भएको किन नहोस्, उनीहरूलाई कानुनले दिने सबैभन्दा कडा सजाय तुरुन्त हुनैपर्छ। यस्तो जघन्य अपराधलाई कुनै ढाँचा, कानुन, वा बचाउको खेलले ढाक्न सक्दैन। जनता चुप लागेर बस्ने छैन। यदि यस केसलाई कमजोर बनाउने, ढाकछोप गर्ने, वा राजनीति र शक्ति प्रयोग गरेर ‘सोधपुछ घटाउने’ प्रयास भयो भने, त्यसको परिणाम सरकारले सोचेभन्दा धेरै भयानक हुनेछ।’
इनिशाको न्यायका पक्षमा अभिनेता विराज भट्ट, गायिका रचना रिमाललगायत थुप्रै सामाजिक अभियान्ताहरूले पनि आवाज उठाइरहेका छन्।






