
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको लोकतान्त्रिक गणतन्त्रलाई संकटमा पुर्याउने प्रयासहरूको विरोध गरेका छन्। उनले राजतन्त्र पुनर्स्थापना गर्ने कोसिसलाई देशको भविष्य र जनताको अस्तित्वका लागि अत्यन्त खतरनाक र रहस्यमय भन्दै ती चेष्टाहरूको कडा भर्त्सना गरे।
डा.भट्टराईले प्रसिद्ध फ्रेन्च दार्शनिक भोल्टेयरको भनाइ उद्धृत गर्दै एक्समा भने, ‘कुनै मूर्खतापूर्ण कुरालाई जति पटक दोहोर्यायो उति त्यो बुद्धिमत्तापूर्ण कुरा जस्तो लाग्न थाल्दछ।’ उनले पछिल्लो समय जसरी लोकतान्त्रिक गणतन्त्रको सट्टा राजतन्त्रको प्रचारप्रसार बढाउँदै, सामाजिक सञ्जाल र सडक आन्दोलनमा आक्रामक ढंगले फैलाइनु गम्भीर खतरा भएको बताए।
डा.भट्टराईका अनुसार लोकतान्त्रिक गणतन्त्रको स्थानमा वंशानुगत राजतन्त्र ल्याउने प्रयास केवल भ्रम र आक्रोश फैलाउने मात्र हो। यसले केवल जनतालाई होइन, बौद्धिक र युवा वर्गलाई समेत भ्रमित पार्ने खतरा पैदा गरेको छ। ‘देशको वर्तमान संकट र अस्थिरताका बीच यस प्रकारको विरोधाभासी विचारधारा एकदमै रहस्यमय र बिडम्बनापूर्ण छ,’ उनले भने।
‘आज देशमा गम्भीर समस्याहरू छन्- राजनीतिक, आर्थिक, सामरिक र सामाजिक संकटहरू चर्किरहेका छन्। पुराना राजनीतिक दल र तिनका नेतृत्वप्रति व्यापक जनअसन्तुष्टि र आक्रोश छ, विशेष गरी युवा पुस्तामा। तर, यो सबैका लागि समाधान राजतन्त्रको पुनःस्थापना होइन, समग्र राजनीतिक पुनर्संरचना र वैकल्पिक शक्ति निर्माण हो,’ डा. भट्टराईले थपे।
डा.भट्टराईले लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा कुनै पनि अनुसन्धान र तथ्यलाई झुठा साबित गर्ने प्रयासलाई अस्वीकार गरे। उनले भने,‘आजको अत्याधुनिक प्रविधि, ए.आइ. र अनुसन्धानका आधारमा, कुनै पनि तर्कले प्रमाणित गर्दैन कि वंशानुगत राजतन्त्र लोकतान्त्रिक गणतन्त्रभन्दा राम्रो हुन्छ।’
उनले विशेष गरी अन्तिम राजा ज्ञानेन्द्रको भूमिकालाई नजिकबाट विश्लेषण गर्दै भने,‘ज्ञानेन्द्र शाहको क्षमतामा कुनै शंका छैन,उनले देशको समस्याको समाधान गर्न सकेनन्, बरु ती समस्याहरूलाई झन् जटिल र गम्भीर बनाएका थिए।’
डा.भट्टराईले राजतन्त्रको पुनर्स्थापना हुने स्थिति सिर्जना भएमा त्यसले नेपाललाई गम्भीर संकटमा पुर्याउने चेतावनी दिए। ‘राजतन्त्रको पुनर्स्थापना भएमा नेपालले संविधानको हत्या देख्नेछ, जनताको सार्वभौमसत्ता गुम्नेछ, संघीयता समाप्त हुनेछ र देश जातीय द्वन्द्वमा फस्नेछ’ उनले भने,‘अन्तर्राष्ट्रियस्तरमा छिमेकी शक्तिहरू र बाह्य शक्तिकेन्द्रहरूले हाम्रो सशस्त्र द्वन्द्वमा हस्तक्षेप गर्नेछन् र नेपाल खतरनाक स्थिति मा पुग्नेछ।’
उनले राजतन्त्रको स्थानमा उन्नत लोकतन्त्रको आधारमा सुधारको दिशा देखाउनुपर्ने कुरा जोड दिए। उनले संविधानका चार स्तम्भ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको रक्षा गर्नुपर्ने आह्वान गरे। ‘हाम्रो संविधानको कुनै एक स्तम्भ पनि खारेज भए, त्यसले पूरै संविधानलाई ढाल्न सक्छ।’ उनले भने।
उनले लोकतन्त्रको सन्देशलाई स्पष्ट पार्दै भने, ‘राजतन्त्रको विकल्प होइन, लोकतन्त्रको उन्नतिको मार्ग नै सही हो। राजा बन्ने सपना देख्नेहरू संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाने संघर्ष गरून्।’
डा. भट्टराईले नेपाली जनतालाई चेतना दिलाउँदै भने, ‘समय आएको छ, जहाँ देशको भविष्यका लागि हामी सबैले हातमा हात मिलाएर लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्छ। भोक लाग्यो भनेर विष नखाऔं, हाम्रो संघर्षको मूल्यलाई बुझौं र राष्ट्रिय एकता र स्थिरताका लागि काम गरौं।’