
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ग्लोबल कलेज अफ साइन्सका विद्यार्थी र शिक्षकहरूसँग विशेष अन्तरसंवाद गरेका छन्।
कार्यक्रममा डा.भट्टराईले नेपालमा नै सुन्दर भविष्य निर्माण गर्न सकिने उल्लेख गर्दै जेहेन्दार विद्यार्थीहरूलाई यहीँ अवसर खोज्न आग्रह गरे। उनले नेपालमा उच्च शिक्षा, रोजगारी र विकासका सम्भावनाहरूको चर्चा गर्दै विदेश जाने सोचभन्दा आफ्नै देशमा केही गर्ने भावना विकास गर्नुपर्ने बताए।
विद्यार्थीहरूसँगको कुराकानीका क्रममा उनले करिब ५२-५४ वर्ष अघि आफू अमृत साइन्स कलेज (अस्कल) मा अध्ययन गर्दाको समय स्मरण गरे। त्यतिबेलाको शिक्षण प्रणाली, देशको आर्थिक-राजनीतिक अवस्था र त्यसयताका परिवर्तनबारे उनले अनुभव सुनाए।
विद्यार्थीहरूले नेपालको वर्तमान शिक्षा प्रणाली, रोजगारीका अवसर, देशको आर्थिक अवस्था तथा उनीहरूको भविष्यबारे जिज्ञासा राखेका थिए। डा.भट्टराईले नेपालमा अबको आवश्यकता नवीन सोच, उद्यमशीलता र विज्ञान-प्रविधिमा आधारित शिक्षालाई बढावा दिनु रहेको बताए।
कार्यक्रममा कलेजका शिक्षकहरूले पनि शिक्षाका गुणस्तर, अनुसन्धानको अवसर र विद्यार्थीहरूका समस्याबारे आफ्ना विचार राखेका थिए।