
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार र बिचौलियाको साँठगाँठले मलको कृत्रिम अभाव सिर्जना गरिएको दाबी गरेका छन्।
सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-८ को तोपमा आज आयोजित भेटघाट कार्यक्रममा उनले बिचौलियाले सरकारसँग साँठगाँठ गरी नाफा कमाउने उद्देश्य राख्दा मलको कृत्रिम अभाव सिर्जना गरिएको दाबी गरे।
‘अहिले कांग्रेस-एमालेको सरकार बनिसकेपछि मलको समस्या ठूलो समस्याको रुपमा खासगरी तराई मधेशभरि र अन्यत्र पनि देखिएको छ,’ उनले भने,‘यो किन त्यस्तो भाछभन्दा सरकार र बिचौलियाहरूले सेटिङ गरेर किसानहरूलाई मर्कामा पार्ने र त्यहाँबाट नाफा लिने उद्देश्य लिएको हुनाले दुःख भएको हो।’
प्रचण्डसँग स्थानीयले मलखाद, बिजुली, सिँचाइ लगायतका समस्या भोगिरहेको भन्दै समाधानको पहल गरिदिन भनेका थिए।