
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बस दुर्घटना र विद्यार्थीलाई अमानवीय यातना दिइएका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
काठमाडौँको दक्षिणकालीमा माघ २७ गते श्री जुनकिरी ईंग्लिस बोर्डिङ स्कुलको विद्यार्थी बोकेर फर्कंदै गरेको विद्यालय बस र काठमाडौँकै शङ्खरापुरमा माघ ३० गतेका दिन पिकनिकबाट विद्यार्थी बोकेर फर्कंदै गरेको बस दुर्घटना भई विद्यार्थी घाइते तथा मृत्यु भएकोमा मन्त्रालयले ध्यानाकर्षण गराएको हो।
मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति जारी गर्दै सरकारद्वारा जारी गरिएको स्कुल बस निर्देशिका, २०७४ बमोजिम विद्यार्थी ओसारपसार गर्ने सवारीसाधन पहिचानको मापदण्ड तथा भौतिक मापदण्ड पालना गर्न आग्रह गरेका छन्।
सोही निर्देशिकामा चालक तथा परिचालकका दायित्व, विद्यालयको दायित्व, अभिभावकको दायित्व र विद्यार्थीको दायित्व समेत उल्लेख गरिएको बताउँदै प्रवक्ता सापकोटाले विद्यालय बस सञ्चालनका लागि तोकिएका मादण्ड पालना गर्ने गराउने, अनुगमन गर्ने र दुर्घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाई दोषी उपर हदैसम्मको कारवाहीका लागि सम्बन्धित सबै मन्त्रालय, ट्राफिक प्रहरी र स्थानीय प्रशासनसमक्ष अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
साथै तनहुँको भिमादस्थित श्री प्रभात एकेडेमी बोर्डिङ स्कुलमा कार्यरत लेखापालले विद्यार्थीको गालामा तातो पन्युले डामेको तथा नवलपरासी पश्चिमस्थित एच पाठशालाका शिक्षकको यातनाका कारण एक विद्यार्थीको देब्रे आँखा फुटेको जस्ता दर्दनाक घटना र देशका विभिन्न स्थानका विद्यालयमा शिक्षकले नै विद्यार्थीको अङ्गभङ्गसमेत हुने गरी अत्यन्तै अमानवीय सजाय दिएको घटनाप्रति पनि मन्त्रालयको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
सिकाइको थलो विद्यालयमा दिइने कुनै पनि किसिमको सजाय कानुनद्वारा वर्जित र त्यस्तो कार्य बालअधिकारको समेत गम्भीर उल्लङ्घन भएको मन्त्रालयको भनाइ छ।