
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा आफूले नेपाली कांग्रेसबाट पूरा साथ पाएको बताएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्।
उनले पूर्वसहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ भएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालले पूराका पूरा साथ दिने बताए।
ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा वर्तमान सरकार बनेको प्रस्ट पारे। वर्तमान सरकार विकास र स्थिरताको बलियो आधार भएको उल्लेख गरे।
उनले राजतन्त्रको पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्ले भएको बताए।
‘अब नेपालमा विकासको क्रम अगाडि बढेको छ। जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन। राम्रो प्रणाली नभइकन विकास हुँदैन। काम गर्ने खालको पार्टी सरकारमा नभए विकास हुँदैन। देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूलो दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नेछ। सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै अर्थ छैन। कांग्रेस र एमालेले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन्। यसमा ढुक्क भए हुन्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने जनाउँदै सहमति भए चाँडै संशोधन हुने र सहमति नभए केही समय लाग्ने स्पष्ट गरे।
उनले आफूलाई रूघाखोकी लागेको समयमा अस्पतालको आईसीयूमा रहेका बेलाको तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएको बताए। उनले भने,‘मलाई रूघाखोकी लागेको हो। एन्टिबायोटिकले अलि कमजोर बनाएको छ। तर आच्छिउँ गरेको देख्यो भने आईसीयूकक्षमा बसेको फोटो आइहाल्छ। खोक्न पाएको छैन, आईसीयूमा बसेको देखाउँछन्।’
प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरूको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरूलाई भ्रमबाट मुक्त हुन आग्रह गरे।