हर्ष सुब्बाका अनुभव र अनुभूति

जिन्दगी बित्यो प्रेस स्वतन्त्रताको माग गर्दागर्दै…

विवेक विवश रेग्मी १२ माघ २०८१ १६:५५
372
SHARES
जिन्दगी बित्यो प्रेस स्वतन्त्रताको माग गर्दागर्दै…

होचो कद। कालो चस्मा, हँसिलो अनुहार। कुनै सभामा होस् वा कुनै बैठकमा। वा भनौँ कुनै निर्णायक भूमिकामा होस् वा मानिसहरू (खासगरी पत्रकारहरू) अप्ठ्यारो परेको अवस्थामा। यी व्यक्ति पुगिहाल्छन्। वयोवृद्धसँग होस् वा वयस्कसँग। वा भनौँ किशोर पुस्ताकै युवकयुवतीसँग पनि उनी झुम्मिन्छन्। मानिसलाई बाँच्नका निम्ति प्रेरित गरिरहन्छन्। बाँच्नु भनेको सास फेर्नु मात्रै होइन, आफ्नो कर्ममा निरन्तर साधना गरिरहनु पनि हो। यही साधना गर्न हरेक मानिसलाई प्रोत्साहन गर्दै आएका व्यक्ति हुन् हर्ष सुब्बा।

२०१२ साल पुस ४ गते धरानमा जन्मिएका सुब्बा उमेरअनुसार यतिबेला ‘रिटायर्ड  लाइफ’ बाँच्नुपर्ने हो। तर उनी चलायमान जीवन बाँचिरहेका छन्। त्यसैले त भन्छन्, ‘जीवन त बाँच्दै जाने हो रहेछ। जति बाँच्यो, उति बाँच्न मन लाग्नेरहेछ।’

हर्षले आफ्ना जम्मै ऊर्जाशील उमेर पत्रकारितामा बिताए। पचास वर्षदेखि पत्रकारिता गरिरहेका उनी अहिले पनि पत्रकारितामै सक्रिय छन्। धरानका कुनै कार्यक्रम हर्षको उपस्थिति बिना अपूर्णजस्तै हुन्छ।

पत्रकारिता इमानदार र मर्यादित पेसा हुनुपर्ने उनको बुझाइ छ तर नैतिकताविपरीतका कतिपय घटनाले भने आजित बनाउने गरेको उनी सुनाउँछन्।

‘एउटा व्यवसायीले जसरी व्यवसाय गर्छ, त्यसरी नै पत्रकारितामा पनि आफ्नो पेसामै रहेर इमानदार भएर सेवामूलक काम गर्नुपर्छ,’ उनले भने, ‘पत्रकारितामा इमानदारीपूर्वक र निष्पक्ष भएर सेवा गर्‍यो भने त्यो नै सेवा हो।’

पत्रकारिता आचारसंहितामा सम्बन्धित रहनुपर्ने उनी बताउँछन्। समाचारसँग सम्बन्धित व्यक्ति वा विषयसँग चियासमेत नखानु भन्ने ‘इथिक्स’ रहे पनि त्यो भनाइमा मात्र सीमित भएको उनले नियालिरहेका छन्।

‘यो किसिमको आचारसंहिता कहाँ छ अहिले? बार्गेनिङ गरी यो समाचार लेख्ने कि नलेख्ने, छाप्ने कि नछाप्ने, पैसा लिएर समाचार नलेख्ने, समाचार हलुका बनाइदिने ‘इथिक्स’ विपरीतका काम धेरै हुने गरेका कुरा त देख्दै, सुन्दै आएका छौँ,’ उनले भने।

२०५० सालतिर हुनुपर्छ। दसैँले छोपिसकेको थियो। मधुरो घाम लागिरहेको समयमा एक बिहान हर्ष घरमै बसिरहेका थिए। त्यत्तिकैमा केही प्रहरीहरू सिभिल पोसाकमा आए। एउटा झोलाभित्र रेड लेबल रक्सी र सुटको कपडा थियो। उनी छक्कै परे। त्यो क्षण सम्झँदै उनी भन्छन्, ‘कुनै समाचारसँग लेनदेन त थिएन, तर यो घटनाले भने प्रहरीले दसैँमा राम्ररी नै पैसा उठाउँदारहेछन् भन्ने पुष्टि भयो। अहिले पनि कतिपय पत्रकारले प्रहरीसँग रक्सी माग्ने, पेट्रोल माग्ने गरेको सुनिन्छ। यो गलत हो।’

साहित्यिक माहोल भएपछि लेख्न सकिन्छ भन्ने भएकाले राजनीतिमा गएको र पञ्चायतविरुद्व लेख्नुपर्छ भन्ने दिमागमा छाप बसेकाले कविता लेखनमा सक्रिय भएको उनी बताउँछन्।

धरानमा त्यसबेला उनको गिरिराज आचार्यहरूसँग संगत भयो। नेविसंघका विद्यार्थीसँग संगत भयो। ‘साँझको समयमा कविता सुन्ने, सुनाउने क्रम चल्यो। चारजना भेट हुनेबित्तिकै साहित्यिक माहोल बनिहाल्थ्यो,’ उनी भन्छन्, ‘म इनोसेन्ट देखिन्थेँ। त्यसो हुँदा राजनीति गर्नेजस्तो देखिन्थिनँ। जसले गर्दा प्रहरी, प्रशासनबाट लुक्नुपरेन। तर हाम्रो भेट हुँदा राजनीतिका कुरा हुन्थे। देशमा के भइरहेको छ भन्नेबारे चर्चा हुन्थ्यो।’

पत्रकारिताका सुरुआती दिनमा प्रतिबन्धित नेपाली कांग्रेस भनेर समाचार लेख्नुपरेको क्षण उनको सम्झनामा छ। ‘यो देशमा दल थिएन। दललाई प्रतिबन्ध लेख्न नपर्ने भएपछि पुरानो कांग्रेस भनेर लेखिन्थ्यो। कतिपय समाचारमा पुनेका भनेर लेखियो,’ हर्ष भन्छन्, ‘त्यतिबेलादेखि लेख्न, बोल्न पाउनुपर्छ भन्ने थियो। अहिले पनि लेख्न, बोल्न पाउनुपर्छ भन्ने नै माग राख्नुपरेको छ।’

पहिला राजनीतिक कारणले बोल्न, लेख्न पाउनुपर्ने माग राखिएको र अहिले पनि सत्ता नजिक पुग्नेहरूले प्रेस स्वतन्त्रतालाई दबाउन खोजेको उनी सुनाउँछन्।
‘त्यतिबेला तानाशाही अवस्थामा थियो। पछि भने लोकतन्त्र र गणतन्त्रपछि राज्य र सत्ता नजिक जो पुगे उनीहरूले व्यापार मात्रै होइन, भ्रष्टाचार गरे,’ सुब्बाले भने, ‘समाजले मन्त्री र प्रधानमन्त्रीलाई भ्रष्ट भने। उनीहरूलाई भ्रष्ट बनाउने पार्टीका व्यापारी र ठेकेदार, हुन्। उनीहरूको स्वार्थअनुकूल कानुन पनि संशोधन हुन्छ। त्यो भएपछि अझै पनि प्रेसलाई खतरा छ।’

संघीयता आएपछि स्थानीयस्तरमै राजनीतिक दलबाट ‘अपराधीहरू संरक्षण’ भइराखेकोमा उनले असन्तुष्टि व्यक्त गरे।

‘मन्त्री वा सांसद अथवा राजनीतिक दलका मानिसहरूले भ्रष्टाचार गर्‍यो भनेर लेखिरहेका छौँ। मन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आयो भने दलका व्यापारीहरूलाई खतरा पर्‍यो,’ उनले भने, ‘पत्रकारले स्वतन्त्र रूपमा लेख्यो भने तिनीहरूको चौपट हुने भयो। त्यसबाट प्रेसलाई खतरा आयो। कानुन, प्रहरी, प्रशासन लगाएर प्रेसलाई दबाउन खोज्ने देखिन्छ।’

प्रेसलाई स्वतन्त्र खतरा आफ्नो ठाउँमा भए पनि सरकारबाट पोषित र निकटका कारोबार गर्नेहरूबाट रहेको उनी सुनाउँछन्। ‘मिडिया फ्रि भयो भने उनीहरू (राजनीतिक दल निकट)को व्यापार जुन हो त्यसलाई कहीँ न कहीँ असर पर्छ,’ उनले भने, ‘मिडिया कहीँ पनि प्रभावमा नपरी लेख्ने हो भने इस्यु छन् तर मिडिया पनि राजनीतिक दलको प्रभावमा छन्।’

उनका अनुसार पत्रकारजन्य संगठनहरू पार्टी निकट रहेको र वरिष्ठ पत्रकारदेखि नयाँ पुस्ताहरू पनि पार्टीको एउटा न एउटा लाइनमा आबद्ध छन्। पत्रकारहरू एक व्यक्तिको गुटमा विभाजित भइरहेकोमा उनको असन्तुष्टि छ।

साहित्यिक गतिविधिले पत्रकार बनेका सुब्बा

कुरा २०३० सालतिरको हो। धरानमा साहित्यिक माहोल बन्न थाल्यो। बिस्तारै गोष्ठी हुन थाले। पञ्चायतकालमा राजाको विरोध गर्न पाइँदैनथ्यो। कहिले मोती जयन्ती बनाउने त कहिले कविता वाचनलगायतका साहित्यिक कार्यक्रम हुन्थे। ती गोष्ठीको समाचार आउँथेन। माहोलअनुसार समाचारको खाँचो पर्‍यो। कसले समाचार लेख्छ भनेर खोजी भयो। त्यतिकैमा हर्षले नै म समाचार लेख्छु भने। त्यसपछि उनले साहित्यिक गतिविधिका समाचारबाट पत्रकारिता सुरु गरे।

पत्रकारै बन्ने सोच राखेर समाचार नलेखेको भए पनि जीवनमा यही पेसामै निरन्तरता दिएको हर्ष बताउँछन्। उनले पत्रकार बन्ने भन्दा पनि प्रहरी बन्ने सपना देखेका थिए। सोहीअनुसार उनी बेलाबेला दौड गरिरहन्थे। व्यायाम गरिरहन्थे। सानै उमेरमा फुटबल खेल्दा खुट्टा भाँचिनु र निमोनिया भएर घाँटीको शल्यक्रिया गर्नुपरेपछि उनको प्रहरी बन्ने सपना तुहियो।

‘म जासुसी उपन्यास पढ्थेँ। त्यस्ता उपन्यासमा पुलिसको भूमिका हुन्थ्यो। अनि पुलिस बन्नुपर्छ भन्ने लागेको थियो,’ उनले विगत स्मरण गरे, ‘बच्चा बेलामै निमोनिया भएर घाँटीको अप्रेसन गर्नुपरेको र खुट्टा पनि भाँचिएकाले फुटबल खेल्न घरबाट प्रतिबन्ध लगाइयो। सानैदेखि रोगी भइयो। त्यसैले पुलिस बन्न सकिएन।’

हर्षले सुरुआती दिनमा काठमाडौँका साप्ताहिक पत्रिकामा साहित्यिक समाचार लेखे। त्यसबेला साहित्यका गतिविधि धेरै हुन्थे। जसले पञ्चायतविरूद्व आवाज उठायो। युवा साहित्यिक जमात भन्ने छुट्टै फोरम थियो। युवा साहित्य जमात भनेर निकै गतिविधि गरेको र साहित्यकै कारण समाचार लेखनको अभ्यास भएको उनी सुनाउँछन्।

त्यसबेला बद्रीप्रसाद गुप्ताले काठमाडौँबाट चेतना साप्ताहिक पत्रिका प्रकाशन गर्थे। उनले समाचार लेखेर पठाउँथे। पछि नयाँ चेतना भन्ने पत्रिका धरानबाटै निस्कयो। भोजपुरमा दर्ता भएर ज्ञानेन्द्रबहादुर कार्कीले धरानमा पत्रिका प्रकाशन सुरु गरे। उक्त पत्रिकामा पनि हर्षले उर्जाशील समय खर्चिए। धरान पत्रकारिताको केन्द्रविन्दु नै हो।
‘त्यसबेला मिसन पत्रकारिता भनिन्थ्यो। पञ्चायतविरोधीहरूको कुरा बढी छापिन्थ्यो। राजाको अनिवार्य छाप्नैपर्थ्यो,’ उनले भने, ‘प्रेस स्वतन्त्रताकै कुरा आउँथ्यो। बोल्न, लेख्न पाउनुपर्छ भन्ने आन्दोलन भयो।’

२०३३ सालमा बीपी कोइराला नेपाल फर्कनुअघिको कुरा हो। काठमाडौँबाट देवेन्द्र गौतमको सम्पादनमा प्रकाशित हुने ‘नेपाल पोस्ट’ साप्ताहिकका ‘बीपी कोइरालाले डायरी लेख्दै हुनुहुन्छ’ भन्ने समाचार प्रकाशित भयो।

त्यो समाचारलाई लिएर हर्षलाई सीडीओ कार्यालय इनरुवामा बोलाइयो। ‘धरान बसेर कसरी थाहा पाइस्?’ भनेर घण्टौँ बयान लिइयो। तारेखमा ६ महिना सीडीओ कार्यालय धाएर पछि जान छाडेको उनी बताउँछन्।

२०४० सालतिर हर्षले देशान्तर साप्ताहिकबाट पत्रकारितामा फड्को मारे। त्यतिबेला किशोर नेपाल देशान्तर साप्ताहिकको सम्पादक थिए। ‘किशोर दाइ सम्पादक हुनुहुन्थ्यो, एकचोटि काठमाडौँ गएका बेला एकमुष्ट दस हजार रुपैयाँ पारिश्रमिक पाइयो,’ उनी भन्छन्, ‘विज्ञापन उठाएर चल्नुपर्ने बाध्यता हुँदा उक्त रकम ठूलो थियो। तर कति काम गरियो, कति समाचार लेखियो भन्ने गिन्ती नै हुन्थेन।’

२०४८ सालमा भने कान्तिपुर दैनिकबाट उनलाई ‘अफर’ आयो। पहिलो अंककै ‘डमी’ पत्रिका पनि हर्षलाई दिएर ‘स्ट्रिंगर ’मा काम गर्ने अवसर प्राप्त भयो। ‘स्ट्रिंगर’ भनेको समाचार लेखेबापतको पैसा हो। ठूलो पत्रिका हो काम गर्नुपर्छ भन्ने बोध भएकाले कान्तिपुरमा आफू जोडिएको उनले स्मरण गरे।

‘त्यतिबेलासम्म फ्याक्स आइसकेको थियो। फ्याक्सबाट समाचार पठाउनुपर्थ्यो। त्यसभन्दा अघि भने हुलाकबाटै समाचार पठाउनुपर्ने बाध्यता थियो,’ हर्षले सुनाए, ‘कान्तिपुरमा म जोडिएपछि बुढासुब्बा गोल्डकपको समाचार पहिलोपटक कान्तिपुरले कभर गरेको थियो। त्यसबेला गोल्डकपका लागि बंगलादेशको टिम आएको थियो। बंगलादेशीसँग अन्तर्वार्ता पनि गरियो।’

स्थानीय स्तरका समाचार मुलुकको ‘इस्यु’ हो भन्ने धारणा राख्ने उनले स्थानीय समाचारहरूलाई नै प्राथमिकतामा राखे। उनले त्यसैबेला संघीयताको सपना बुनेका थिए।
कान्तिपुरमा गइसकेपछि पूर्वाञ्चल संस्करण निकाल्नुपर्ने उनले सुझाव दिए। त्यसपछि किशोर नेपाल सम्पादक भएको बेला विराटनगर क्षेत्रीय कार्यालयमा उनलाई पूर्वाञ्चल संयोजकको जिम्मेवारी दिए। पछि नारायण वाग्ले सम्पादक भएर आएपछि पूर्वाञ्चल संस्करण पनि प्रकाशन भयो। त्यसबेला हर्ष विराटनगरमा बसेर काम गर्थे। पूर्वाञ्चल संस्करण प्रकाशनमा आएपछि स्थानीय समाचारहरूले राम्ररी स्थान पाए।

‘स्थानीय समस्या राष्ट्रको समस्या हो। यी कुरा अगाडि ल्याउनुपर्छ भन्ने मेरो धारणा हिजो पनि थियो, आज पनि छ,’ उनी भन्छन्, ‘एकपटक मैले विराटनगरबाटै कान्तिपुरमा सम्पादकीय लेखेँ, त्यो अभ्यास नारायण वाग्लेबाटै सुरु भएको थियो।’

केन्द्रीकृत मानसिकताभन्दा फरक सोच्नु र त्यसबेला संघीयताको अभ्यास नहुँदै पूर्वाञ्चल विकास क्षेत्रमा आफ्नै संस्करणको माग राख्नुले उनको विचारमा संघीयता थियो। संघीयता आवश्यक छ भन्ने सपना त्यसबेलै बुनेका उनी अहिले संघीयताको अभ्यासप्रति सन्तुष्ट छैनन्।

२०४५ सालको भूकम्पले पूर्वमा ठूलो क्षति भयो। कान्तिपुरमा गइसकेपछि भूकम्प दिवसको अवसर पारेर सम्पादकीय लेखेको उनले सुनाए। पूर्वबाट पहिलो पृष्ठमा छापिने समाचार र पश्चिमबाट छापिने समाचार फरक एंगलको हुने र पूर्वको संस्करण निकाल्न वाग्लेले साथ दिएकोमा उनी अझै धन्यवाद व्यक्त गर्छन्। त्यति मात्रै होइन, काठमाडौँबाहिरबाट सम्पादकीय लेख्न पाउनु उनी एउटा प्राप्ति ठान्छन्।

तपाईँले पत्रकारितामा के गर्नुभयो भन्ने जिज्ञासामा हर्ष भन्छन्, ‘स्थानीय समाचार मुलुकको चासोको विषय हो भन्ने मेरो धारणा भएकाले मैले त्यो लागू गर्न सकेँ भन्ने लाग्छ। समाचारको सम्भावना र मार्केट पनि थियो। पत्रकारितामा मैले त्यो चैँ गर्न सकेँजस्तो लाग्छ।’

हर्षबाट समाजले के पायो? यो उनी आफैँ मूल्यांकन गर्दैनन्। तर पञ्चायत व्यवस्थाविरुद्ध कलम चलाएकै कारण लोकतन्त्र स्थापना हुनुमा हर्ष सुब्बाहरूको कहीँकहीँँ योगदान भएको कुरा लुकाएर लुक्दैन। सूचनाको अधिकार स्थापना र वाक् स्वतन्त्रताका लागि पत्रकारितामा उनको योगदान देखिन्छ।

संघीयताले आपराधिक मनोवृत्तिका मानिसको संरक्षण भयो

विगतमा पञ्चायती व्यवस्थामा जुन बन्धन थियो, ती कुरा अहिले स्वतन्त्रता भए पनि दलहरूबाट जुन अपेक्षा थियो, त्यो पूरा नभएको उनको गुनासो छ।

संघीयता आएपछि आर्थिक क्षेत्रमा केही सकारात्मक गति चले पनि अपेक्षित काम नभएको उनी बताउँछन्। ‘गाउँ पञ्चायतमा एक पैसा हुन्थेन। त्यतिबेला सिंगिया पञ्चायतमा उपप्रधानपञ्चले ५० रुपैयाँको विज्ञापन छापेका थिए,’ उनले भने, ‘बिल भुक्तानीका लागि गएको थिएँ, पैसा नभएपछि उपप्रधानपञ्चले गाउँमा खोजखाज पारेर १५ रुपैयाँ दिएर पठाए। अब अहिले हेरौँ त, एउटा गाउँपालिकामा कति बजेट छ? त्यो बजेटको सही सदुपयोग भएको छ?’

संघीयता आइसकेपछि केही हदसम्म साधनस्रोतको विकास भए पनि आर्थिक स्रोतको परिचालन राम्रोसँग नभएको उनी बताउँछन्।

‘आपराधिक मनोवृत्तिकाहरू आफ्नो संरक्षणका निम्ति दलमा लागे। अहिले त व्यवसायी पनि दलमुखी भए। सरकारको नीतिमा प्रभाव पार्‍यो। जसले सरकारले जनमुखी काम गर्न सकेन। यो कुरा सर्वसाधारणले बिस्तारै थाहा पाउँदै गए,’ उनले भने, ‘अब कुनै पनि कुरा लुकेर लुक्दैन। कुनै बेला मूलधारका मिडियालाई मात्र मिडिया भन्थ्यौँ। अहिले मिडिया सबैको हात हातमा छ।’

‘काठमाडौँवाद’ को विरोध

हर्षलाई काठमाडौँमै बसेर काम गर्ने थुप्रै अवसर आए। तर स्थानीय ठाउँकै समाचारलाई उनले प्राथमिकता दिए। काठमाडौँबाहिर २०४४ सालमा पहिलोपटक विकास पत्रकारिता तालिम लिएका उनले काठमाडौँवादको विरोध गरे। के हो काठमाडौँवाद? हर्षहरूले धरानमा साहित्यिक गतिविधि गर्ने र कविता लेख्ने गरे पनि काठमाडौँले पत्याएन। किनभने काठमाडौँ केन्द्रीकृत थियो, अझै पनि छ।

‘हामीले काठमाडौँबाहिरको साहित्यिक कार्यक्रम गर्दा काठमाडौँवादको विरोध गरेका थियौँ,’ उनी भन्छन्, ‘त्यहाँका मिडियाले काठमाडौँ बस्ने कविहरूको रचना मात्रै छाप्ने, उनीहरूको मात्रै समालोचना र चर्चा हुने गरेकाले काठमाडौँवादको विरोध गर्‍यौँ। ’

एउटा गाउँको समाचार, एउटा गाउँको कथा, एउटा गाउँको कविता पनि मूलधारका मिडियामा आउनुपर्छ भन्ने विचार व्यक्त गर्थे, उनी। ‘के हो काठमाडौँवाद भनेको? भनेर साहित्यिक आन्दोलन चलाएका थियौँ। काठमाडौँबाहिर बसेर काम गर्नुपर्छ भन्ने मेरो कन्सेप्ट थियो। एउटा गाउँको कुरा मिडियामा आउनुपर्छ भन्ने मेरो धारणा हो,’ उनले भने।

जीवनभर नबिर्सिने त्यो गल्ती…

हर्षको जीवनमा कहिल्यै नबिर्सिने गल्ती हो, अनुजा बानियाँ प्रकरण। ७ वैशाख २०६८ सालमा कान्तिपुर दैनिकमा ‘धन्य अनुजा! जसले भेट्टाएको ९१ लाख रुपैयाँ फिर्ता दिइन्’ शीर्षकमा एंकर समाचार प्रकाशित भयो।

समाचारअनुसार ‘काठमाडौँ सीतापाइलाका ६५ वर्षीय पुरुषोत्तम पौडेलले आईएमईबाट इटहरी पैसा पठाए। भोलिपल्ट आएर उनैले बुझे र जेठी छोरी सुधा पोखरेललाई घर किन्न पुर्‍याइदिन धरान जाने बस चढे। हतारमा बसबाट उत्रने क्रममा झोला सिटमै छुटेको पत्तै पाएनन्। भोजपुर, भुल्के घर भई धरान बस्दै आएकी २२ वर्षीया अनुजा बानियाँले कालो झोला देखिन्। कसको? भन्दै कराइन्। कसैले मेरो भनेनन्। अनि लिएर गइन्। घरमा खोलेर हेर्दा आत्तिइन्। झोलामा त ९१ लाख रुपैयाँ नगद र हीराको हार पो रहेछ! घटना चैत २६ गतेको हो। मामा माइजूसाथ बस्दै आएकी अनुजाले त्यो झोला फिर्ता गर्ने निर्णय गरिन्। झोलामा भएमा कागजपत्रमा बल्लतल्ल फोन नम्बर भेट्टाएर २८ गते खबर गरिदिइन्।’

प्रमाण खोज्दै जाँदा पैसा बुझाएको झुटो रहेको प्रमाणित भएको थियो। उक्त घटना अहिले पनि कतिपय ठाउँमा भइरहेका पत्रकारिताका प्रशिक्षणमा उदाहरण बन्छ। त्यो समाचारले सधैँ पश्चात्ताप लागेको उनी बताउँछन्।

‘अहिले त डिजिटल मिडियाका कारण बे्रकिङको चलन बढ्दो छ। ब्रेकिङ र स्कुप न्युज प्रकाशित गर्ने क्रममा हतारिनु हुँदैन,’ उनले भने, ‘समाचारको भेरिफाई गर्न नसक्दा अनुजा बानियाँजस्तै घटना दोहोरिन सक्छ। पटकपटक सूचनाको स्रोतको भेरिफाई गर्नुपर्छ।’

जिन्दगी बित्यो प्रेस स्वतन्त्रताको माग गर्दागर्दै…

एक महिनाअघि हर्षले सामाजिक सञ्जालमा एक स्ट्याटस लेखे। ‘जिन्दगी बित्यो, प्रेस स्वतन्त्रताको माग गर्दागर्दै।’ उनी सधैँ सडकमा आए। कहिले प्रेस स्वतन्त्रताको माग गर्दै। कहिले आन्दोलन गर्दै। कहिले कविता भन्दै त कहिले शान्तिपूर्ण विरोधमा। समाचार लेखेकै आधारमा हर्षलाई कुनै ठूलो धम्की त आएनन्। उनी धरानका स्थानीय र सबैले मानेका व्यक्तिका रूपमा चिनिन्थे। त्यसैले पनि कसैले थ्रेट दिने हिम्मत गरेनन्।

‘म कसैको थ्रेटको वास्ता गर्दिनथेँ। सबैले धरानको पुरानो र लोकल मान्छे भएको भन्थे। मलाई अट्याक्ट गरिहाल्ने आँट गर्दैनथे,’ उनी भन्छन्, ‘हिजोका दिनमा हरेक आन्दोलनमा सडकमा आएँ, अहिले पनि आइरहेको छु।’

हर्षको स्ट्याटसले गम्भीर मात्रै होइन, भावुक पनि बनाउँछ। किनभने उनको भनाइजस्तै रह्यो, जीवन। सधैँ प्रेस स्वतन्त्रताकै माग गरे।

नयाँ पुस्ताले भत्काउने होइन, कसरी बनाउने भन्ने सोच्नुपर्छ

नयाँ पुस्ता डिजिटल मिडियामा आकर्षित छन् त्यो गलत होइन। पारिश्रमिक पाइन भनेर आन्दोलन गर्ने भन्दा पनि स्वरोजगारको अवसर प्राप्त हुँदै गएको उनले नियालिरहेका छन्। तर मिडियाका रूपमा र जनताले विश्वास गर्ने आधार बनाउनुपर्नेमा काम गर्न आवश्यक रहेको उनको तर्क छ।

‘अब नयाँ पुस्ताले सबै कुरा भत्काउने होइन, कसरी बनाउने भन्नेबारे सोच्नुपर्छ,’ पत्रकारिताका नयाँ पुस्तालाई उनको सुझाव छ, ‘कुनै पनि मान्छेसँग समस्या हुन्छ। अब समस्या देखाउने मात्रै होइन, समाधान पनि देखाउनुपर्छ।’

डिजिटल माध्यमलाई सरकारले एउटा नीति बनाएर नियमन गर्न आवश्यक रहेको समेत उनले बताए।

‘मिडिया भनेको के हो भन्ने कुरा आउँछ। त्यसलाई एउटा मर्यादित बनाउनुपर्छ। सरकारले नीति बनाएर, नियमन गर्ने साधन चाहिन्छ। डिजिटल मिडिया आए पनि प्राविधिक क्षमता विकास भएको छैन,’ सुब्बा भन्छन्, ‘अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने हामीले अझै आवाज उठाइरहेका छौँ, तर मर्यादित हुनुपर्छ भन्ने पनि कुरा छ।’

पत्रकार महासंघ र पत्रकारजन्य संगठनले प्रेस स्वतन्त्रताको कुरामा वकालत गर्नुपर्ने उनी बताउँछन्। ‘पत्रकारजन्य संगठनले जति प्रेस स्वतन्त्रताको कुरा उठाएका छन्, त्यो पर्याप्त छैन, यो केवल फम्र्यालिटीमा मात्रै सीमित छ,’ उनले भने, ‘कुनै दिवसको रूपमा र्‍याली गरिन्छ, त्यसबाहेक अरू काम चैँ मैले देखेको छैन।’

हर्षलाई राजनीतिक दलबाट पटकपटक अफर आयो। ०४९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट धरानमा उपप्रुमख लड्न प्रस्ताव आयो। तर उनले अनिच्छा व्यक्त गरे। ‘म राजनीतिमा लागिनँ तर राजनीतिमा लागेको भए केही ठाउँमा पुगिन्थ्यो होला। वा भनौँ अरू पेसा गरेको भए पैसा कमाइन्थ्यो कि भन्ने लाग्ने मात्रै रहेछ,’ उनले भने, ‘विगत सम्झिँदा पछाडि परेँ, दुःख पाएँ भन्ने लाग्दैन। धेरै सालअघि बैँकका अफिसरले सहकारी खोलौँ भनेका थिए। अहिले लाग्छ धन्न गरिनछु। मेरा लागि पत्रकारिता नै जीवन रहेछ।’

लेख्नका लागि लेखिदिएका समाचारले सन्तुष्टि दिँदैनन्

कतिपय अवस्थामा थाहा पाई–पाईकन पनि कुनै समाचारको महत्त्व छैन भन्ने जान्दाजान्दै समाचार लेख्नुपर्छ। ती समाचारले भने सन्तुष्टि नदिने उनी बताउँछन्। ‘यो समाचारको महत्त्व छैन भन्दाभन्दै पनि लेख्नुपर्छ। त्यो दोहोर्‍याएर पढिँदैन पनि। लेख्नका लागि लेखिदिएका समाचारले सन्तुष्टि दिँदैनन्,’ उनको अनुभव छ, ‘अरूलाई खुसी बनाउन लेखिदिएका समाचार र आफ्नो इच्छाले नै लेखेका समाचार, फिचरमा धेरै अन्तर छ।’

कुनै व्यावसायिक कम्पनीलाई खुसी बनाउन लेखिएका सामग्रीले सन्तुष्टि नदिने उनले सुनाए।

प्रेसमा जाँदा जब एक युवतीसँग नजर जुध्यो

२०३६ सालमा हर्ष धरानकै एक छापाखानमा पत्रिका छाप्न गइरहन्थे। एक दिन खाजा खाने ठाउँमा एक युवतीसँग नजर जुध्यो। सर्लक्कको शरीर, गोरो अनुहार। झट्ट देख्नेबित्तिकै मनपर्‍यो। त्यसपछि ती युवतीसँग उनको कुराकानी हुन थाल्यो, छोटो समयमै प्रेम बस्यो। उनी प्रेमको गहिराइमा डुब्न थाले। साहित्यिक मान्छे, भावनात्मक पनि थिए। कोमल पनि थिए, नरम पनि थिए। कहिलेकाहीँ कडा पनि बन्थे। तर उनको कडापन समाचारमा मात्र देखिन्थ्यो।

ती युवती खोटाङ घर भएर धरान बस्थिन्। युवतीका दाजु बम्बा राईको कपडा उद्योग थियो। सोही उद्योगमा काम गर्थिन्, उनी। केही समयको प्रेमपछि हर्षले प्रेम विवाह गरे। उनी हुन्, संगीता राई (सुब्बा)। अहिले उनै संगीतासँग ४५ वर्षयता सँगसँगै जीवन बाँचिरहेका छन् हर्ष।

‘बुढिया कपडा फ्याक्ट्रीमा काम गर्थिन्। प्रेस नजिकै फ्याक्ट्री थियो। चिया, खाजा खाने बेलामा भेटघाट भयो,’ त्यसबेलाको क्षण सम्झदाँ रोमाञ्चित बनेका उनी भन्छन्, ‘दाजु कांग्रेसका नेता थिए। लुकीलुकी भेटघाट बोलचाल भएपछि मैले लभ म्यारिज गरेँ। भगाएर विराटनगरमा दिदीको घरमा राखेँ।’

धर्मका कारण समाज विभाजित भयो

अहिलेको समाज कस्तो छ? बाहिरबाट हेर्दा समाजमा ठूलो परिवर्तन आएको देखिन्छ। मानिसले खाने तरिका परिवर्तन भइसक्यो तर मेन्टालिटी उही छ। सामाजिक व्यवहार, छुवाछुतविरुद्व आवाज उठाइरहे पनि अझै विभेद विद्यमान रहेको उनी सुनाउँछन्। यसको कारण भनेको धर्म नै हो। कहीँ न कहीँ धर्मले प्रभाव पारेको छ।

‘धर्मले नैतिक शिक्षा त दिन्छ। धर्म मान्ने भनेको चैँ नैतिक शिक्षालाई ग्रहण गर्ने हो। त्यो भन्दा बढी ठूलो धार्मिक मान्छे भनेर देखाउने हो भने आडम्बरहरू र छुनै नहुने भन्ने कुरा पनि छ,’ उनले भने, ‘त्यसो हुँदा आफू महान् धार्मिक मान्छे हुँ जस्तो लाग्छ। तर धर्मका कारण समाज विभाजित भयो।’

धर्मबाट सही शिक्षाको सही सदुपयोग नगरेका कारण समाज जुन गतिमा अगाडि बढ्नुपर्ने हो, त्यो गतिमा अगाडि नबढेको उनको भनाइ छ।

मानिसको सफलता के हो? सफलता भनेको कुरा आफूले अनुभूत गर्नुपर्ने उनी सुनाउँछन्। म यो काममा सफल छु भन्ने लाग्छ र सन्तुष्ट भइयो भने त्यही सफलता हो, उनको अनुभव छ, तर म सफल भइसकेँ भन्ने अनुभूत भयो भने अहम् बढ्छ। मैले यो भन्दा अरू धेरै गर्नुपर्छ भन्ने लाग्छ र निरन्तरता दिइयो भने लामो समयसम्म एउटै क्षेत्रमा टिक्न सकिन्छ।

मानिस जुनसुकै पेसा, व्यवसायमा रहेपनि निरन्तरता दिएका र लामो सयमसम्म एउटै क्षेत्रमा रहेमा सफल हुने उनको विश्वास छ। ‘पैसाको हिसाबकिताबले आम्दानी राम्रै भए पनि महत्त्वाकांक्षाले भने आफू असफल भएँ भनेर मानिसले पेसा परिवर्तन गर्छ। कतिपय मानिसले पेसा परिवर्तन गर्दा उसले कमाउन त सक्ला। तर कसरी कमायो भन्ने कुरा पनि आउँछ,’ हर्षले गम्भीर भएर भने, ‘निरन्तरता दिएर सफल हुनु र पेसा परिवर्तन गरेर सफल हुनुमा फरक छ। पत्रकारितामै निरन्तर गरियो भने सफल भइन्छजस्तो लाग्छ। मान्छेको सोचाइ चाहिँ छिट्टै आम्दानी गरिहालौँ भन्ने भयो।’

जीवनमा मानिस सफल भए पनि कुन क्षेत्रबाट सफल भएको भन्ने महत्त्वपूर्ण हुने उनी सुनाउँछन्। सफल हुनु भनेको आफूले अनुभूत गर्ने कुरा रहेको उनी सुनाउँछन्।

जीवन त बाँच्दै जाने रहेछ…

मानिस जीवनको परिभाषा थाहा नपाएरै जीवन बाँचिरहेछन्। कतिपयले जीवनको परिभाषा बुझ्दा बुझ्दै जीवनको समाधि लिन्छन्। कतिपयले जीवन संघर्ष हो पनि भन्छन्। हर्ष भने जीवन बाँच्दै जाने बताउँछन्। ‘जीवन त बाँच्दै जाने हो। संसारमा केही न केही काम त गरिरहनुपर्छ,’ उनी भन्छन्, ‘मलाई गाडी चढ्ने, ठूलो घरमा बस्ने, ऐसआराम गर्ने रहर भएन, छैन पनि। खासमा जीवन जम्माजम्मी बाँच्ने त हो।’

पत्रकारिता, आन्दोलन र संस्थागत संलग्नता एवम् भ्रमण

यो पनि

‘एउटा सीमारेखाभित्र बन्धक हुनुपर्ने कस्तो जीवन हो यो?’ [भिडियोसहित]

मौलिक भाकाले मन जितेका वरदान

…त्यसपछि हिमालयबाट एकैपटक रेगिस्तान पुगेजस्तो भयो जिन्दगी

८० वर्षीय कवि जसराजले देखेको समाज


प्रतिक्रिया

One thought on “जिन्दगी बित्यो प्रेस स्वतन्त्रताको माग गर्दागर्दै…

  1. हर्ष सुब्बाज्यून्बारे हिमालप्रेस्.कमको आख्यान पढन पाउँदा धेरै खुसी लाग्यो। धन्यवाद हिमालप्रेस।
    हर्षज्यूसङ्ग नेपाल पोष्ट मार्फत हामी जोडिएका थियौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast