
काठमाडौँ- अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहका लागि विमान निर्माता कम्पनी बोइंग, गुगललगायतले आर्थिक सहयोग गरेको छ।
आगामी २० जनवरीका दिन हुन लागेको ट्रम्पको शपथग्रहण समारोहका लागि यी दिग्गज कम्पनीहरूले आर्थिक सहयोग गरेको हो।
उनको शपथग्रहणका लागि बोइंगले एक मिलियन अमेरिकी डलर सहयोग गरेको बीबीसीले जनाएको छ।
त्यस्तै गुगल र माइक्रोसफ्टले पनि १–१ मिलियन अमेरिकी डलर सहयोग गरेको जनाएको छ। ट्रम्पको शपथग्रहणका लागि यीबाहेक अरू कम्पनीहरूले पनि आर्थिक सहयोग गरेका छन्।
तेल उत्पादन गर्ने कम्पनी शेवरौन र प्रविधि क्षेत्रको दिग्गज कम्पनी मेटा, अमेजन र उबरले पनि आर्थिक सहयोग गरेको जनाइएको छ।
द्विदलीय परम्परालाई कायम राख्दै अमेरिकी राष्ट्रपति शपथग्रहण समारोहका लागि समर्थन गर्न पाएकोमा खुसी लागेको बोइंगले बताएको छ। पछिल्लो तीन राष्ट्रपतिको शपथग्रहण समारोहका लागि समान आर्थिक सहयोग गरेको उसको भनाइ छ।
कार कम्पनी फोर्ड, जनरल मोटर्स र टोयटाले पनि शपथग्रहण समारोहका लागि एक–एक मिलियन डलर सहयोग गरेको बताइएको छ।
ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति पदको शपथ लिने तयारीमा छन्।