
पोखरा- पोखरामा सडक महोत्सव आयोजना गर्नुअघि अंग्रेजी नयाँ वर्ष मनाउन धेरै नेपाली नागरिक पनि विदेश जाने चलन थियो। नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे। तर, २५ वर्षयता पोखरामै सडक महोत्सव हुन थालेपछि नेपालीलाई मात्र नभएर विदेशीलाई पनि नयाँ वर्ष पोखरामा मनाउने वातावरण सिर्जना गराएको छ।
महोत्सवका कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको आयोजक रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान), पोखराको दाबी छ। रेवानले यस वर्ष पनि आगामी १३–१७ पुससम्म फेवाताल किनार लेकसाइडमा २६ औं पोखरा सडक महोत्सव तयारी गरेको छ। अंग्रेजी नयाँ वर्ष–२०२५ अवसरमा ५ दिनसम्म चल्ने महोत्सवमा करिब ५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको सोमबार पत्रकार सम्मेलनमा आयोजकले जनायो।
‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ नाराका साथ व्यवसायीले सडकमै रेष्टुरेन्ट उतारेर ग्राहकलाई सेवा दिनेछन्। महोत्सव संयोजक विकास भट्टराईका अनुसार महोत्सवको आकर्षणमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, कन्सर्ट, खेलकुद खेलकुदतर्फ बोट रेस, वेटर रेस, टंग अफ बार, मःम, ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौती विषयमा टक सो, पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था रहेका छन्। यस्तै पोखराका विभिन्न साहसिक खेलकुदको डकुमेन्टी प्रदर्शनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धनलगायत कार्यक्रम हुनेछन्।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले महोत्सवले नेपालमा कला, संस्कृति, तथा पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने राम्रो अवसर प्रदान गरेको बताए। उनका अनुसार समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको छ।