कविता

म त्यही गाउँ हुँ तिम्रो

सागर रावल २२ मंसिर २०८१ ८:००
46
SHARES
म त्यही गाउँ हुँ तिम्रो

न्याउली बासिरहने डाँडैनेर
वारिपारि जंगलले घेरिएको
म गाउँ हुँ तिम्रो!

बालवय र युवा उमेर काट्यौ तिमीले
आधा उमेरमै एक्लो छाडेर गयौ तिमीले
अझै पनि अँधेरो हुँदा डर लाग्छ मलाई
तिमी आउँदैनौ फर्केर त्यही गाउँ हुँ तिम्रो।

जहाँ जन्म्यौँ जहाँ रम्यौँ र खेल्यौँ
भन्थानको डाँडो देउलेडीको लेख केतुकानको
काखमा बसिरहेको म अहिले पनि जीवित छु।
खाली उल्लास छैन त्यही गाउँ हुँ तिम्रो!

वनमारा, बन्सो र सिउरीले मलाई निलिसके
अब त कोही फर्केलान्
र मलाई सम्हालान् भन्ने लाग्न छाडिसक्यो
मेरो रनवन, खोलानाला मैले दिएको ओतमा हराइसके म त्यही घर हुँ तिम्रो!

यसरी किन बिर्सेको?
म झुपडी नै सही
म कच्चा नै सही
म एकान्त र विकट नै भए पनि
घर हुँ तिम्रो।
तिम्रो हातखुट्टा कमजोर हुँदा
मैले नै आँगन दिएँ
र बामे सर्यौ
तोते बोल्थ्यौ जब तिमी
मैले नै आवाज दिएँ।
तिमीलाइ घुँडा टेकाउने आड दिएँ
त्यही घर हुँ तिम्रो।

आज म बाँझो छु
म एक्लो छु
भत्किएर छियाछिया भएको छु।
त्यही छोडेर हिँड्यौ कहिले झरी परेर दुःख दिन्छ
कहिले आँगन वरिपरि बगाउन खोज्छ
त्यही घर हुँ तिम्रो।

कहाँ हरायौ तिमी
कुन मोहमा भुल्यौ
वा सांसारिक व्याकुलतामा फस्यौ?
सम्झन्छौ कि बिर्स्यौ तिमीलाई आधार दिएको त्यही गाउँ हुँ तिम्रो।

म अतीत हुँ
म सुरुआत हुँ
म तिम्रो जीवनको प्रारम्भ हुँ
म अस्थिपन्जरमा बाँचिरहेको उही तिम्रो घर हुँ।

प्रकाशित: २२ मंसिर २०८१ ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast