काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन निष्पक्ष, धाँधलीरहीत र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन्।
आइतबार साँझ वक्तव्य जारी गरेर उनले उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिताले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको बताएका हुन्।
‘देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले अत्यन्त उत्साह र धैर्यतासाथ आफ्नो अमूल्य मत दिनुभएको छ। आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ। यो विश्वास कायम राख्ने ढंगले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको छ,’ उनले भनेका छन्।
सभापति देउवाले शान्तिपूर्ण एवं भयरहीत वातावरणमा निष्पक्ष, धाँधलीरहीत र उत्साहपूर्ण रूपमा उपनिर्वाचन सम्पन्न गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्।
त्यस्तै मतदान कार्यमा अहोरात्र खटिएका कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायतलाई पनि उनले धन्यवाद दिएका छन्।